Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युद्ध विराम उल्लंघन : भारत र पाकिस्तानका सेनाबीच सीमा क्षेत्रमा भिडन्त

भारतीय हवाई सेनाले मंगलबार बिहानै सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित क्षेत्रमा बिस्फोटक पदार्थ खसालेपछि तनाव थप बढेको छ ।

नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबिच गोली हानाहान भएको छ । सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि लगाएका छन् ।

मंगलबार बेलुका कोटली सेक्टरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर चारजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

ज्यान गुमाउनेमा तीन महिला र एक बालक रहेका छन् । गोली लागेर अरु केही घाइते भएका छन् । भारतीय सुरक्षाकर्मीले नियन्त्रण रेखाको रवाकोट, भांबर, चाकोत र कोटलीमा मेसिनगन प्रहार गरेको छ । यस्तै मोटार पनि प्रहार गरेको छ ।

भारतीय हवाई सेनाको विमानले मंगलबार बिहानै बालाकोट क्षेत्रमा बिस्फोटक पदार्थ खसालेको थियो । पाकिस्तानी सेनाले अखनूर, नौशेरा र कृष्णा घाटी क्षेत्रमा गोली चलाएको भारतीय आरोप छ ।

पाकिस्तानी सेनाले पनि नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको भारतीय सेनाले आरोप लगाएको छ । पाकिस्तानको तर्फबाट प्रहार भएको गोली लागेर पाँच सुरक्षाकर्मी घाइते भएको भारतीय सेनाले दाबी गरेको छ ।

भारतीय सेनाले पुंछ र राजौरी जिल्लामा नियन्त्रण रेखाबाट पाँच किलोमिटरको दूरीमा रहेका विद्यालयल अर्को आदेश नआएसम्म बन्द गर्न आदेश दिइएको छ ।

भारत प्रशासित जम्मू-कश्मिरको पुलवामा जिल्लामा फेब्रुअरी १४ मा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको ज्यान गएपछि तनाव बढेको हो ।

भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ र पाकिस्तानले ठाडै अस्वीकार गरेको छ । भारतीय हवाई सेनाले बालाकोटमा बिस्फोटक पदार्थ खसालेपछि पाकिस्तानी सेनाले भारतलाई चकित पार्ने गरि जवाफ दिने र त्यसका लागि तयार रहन चेतावनी दिएको छ । यसले भारत र पाकिस्तानबिच युद्धको अवस्था आएको देखिएका छ ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्