Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पलाई भेट्न ४ हजार किमी ट्रेन यात्राबाट भियतनाम पुगे किम जोङ उन

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने चार हजार किलोमिटर ट्रेन यात्रा गरेर उत्तर कोरियाका नेता किम जोङ उन भियतनाम पुगेका छन् । उनले त्यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर वार्ता गर्नेछन् । गत वर्ष सिंगापुरमा भेटेका दुई नेताको वार्ता यो पटक भियतनाममा हुन लागेको हो ।

डोङ डाङ सीमासम्म निलो ट्रेन चढेर आएका उनको स्वागतमा रातो कार्पेट विछ्याइएको थियो । किम आउनु अघि डोङ डाङ स्टेशन सर्वसाधारणका लागि बन्द गरिएको थियो । त्यहाँबाट उनलाई स्कर्टिङसहित राजधानी हानोइ लगिएको छ । अब उनले कारमा १७० किलोमिटर यात्रागर्नेछन् ।

उत्तर कोरियाका नेता किम जोङ-उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो ऐतिहासिक वार्ताका लागि भियतनाम पुगेका हुन् ।उत्तर कोरियाली नेता किम आफ्नो हरियो र पहेँलो रेलबाट भियतनामको डोङ्ग डाङ्ग रेलवे स्टेशनमा ओर्लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

किमले रेलबाट ओर्लिँदै गर्दा आफ्नो स्वागतका लागि आएकाहरुलाई अभिवादन गरेका छन् । किम रेलबाट ओर्लिएर मर्सिडिज बेन्ज कारमा चढे । किमले राजधानी हानोइसम्मको यात्रा कारमा गर्ने छन् । किम ओर्लिएको रेलवे स्टेसनबाट राजधानी हानोइ १०५ माइलको दूरीमा छ ।ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच दोस्रो ऐतिहासिक वार्ता हुँदैछ । भियतनामको राजधानी हानोइमा बुधबार र बिहीबार हुने वार्ताको तयारी पूरा भएको जनाइएको छ ।

दुई नेताबिच गएको वर्षको जुनमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो । त्यो भेटमा उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम बन्द गर्न सहमत भएको थियो । भियतनाममा हुने दोस्रो वार्तामा पहिलो वार्तामा भएका सम्झौता कार्यान्वयनको समीक्षा हुने तथा नयाँ रणनीतिसहितको सम्झौता हुने सम्भावना छन् ।

किमको साथमा उनकी बहिनी किम यो जोङ र उनका प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि रहेका छन् । किमसहितको टोली भियतनामका लागि शनिबार अबेर रेलमा प्रस्थान गरेका थिए । किम चीन हुँदै भियतनाम पुगेका हुन् ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्