Logo
२४ बैशाख २०८१, सोमबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुविधा सम्पन्न बन्दै खोटाङका ७ विद्यालय

खोटाङ : ऐँसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ ।

त्रिभुवन मावि (ऐँसेलुखर्क), माक्पा मावि (माक्पा), कालिका बालविकास मावि (राखा), कालिका मावि (बाकाचोल), शान्तोद्धय मावि (ज्यामिरे), सिम्ले मावि (जलेश्वरी) र शिशु मावि (महेश्वरी)मा सोलार प्यानेल जडान गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुरको आर्थिक सहयोगमा प्रत्येक विद्यालयमा २/२ किलोवाट क्षमताको सोलार प्यानेल जडान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । उनले भने, “सोलारले कम्प्युटर कक्षा सञ्चालन, इ-हाजिरी, शिक्षण सिकाइमा सहज र विद्युतीय काममा सहयोग पुगेको छ ।”

गाउँपालिकाको पहलमा एपेक्स सौर्य ऊर्जा कम्पनीले उक्त विद्यालयमा सोलार प्यानेल जडान गरिएको जनाइएको छ । सौर्य प्रणाली जडान गरिएपछि सबै विद्यालयमा कम्प्युटर कक्षा शुरु गरिएको छ । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा ८ वटा मावि रहेको छ ।

८ माविमध्ये जालपा मावि बाकोचोलमा जडान गर्न बाँकी रहेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए । गाउँपालिका प्रमुख निरौलाका अनुसार उक्त विद्यालयमा पनि सर्वेक्षणको काम सकिएकाले चाँडै नै जडान गरिने जनाइएको छ ।

केन्द्रीय प्रशारण लाइनको विद्युत् भरपर्दो नभएपछि उक्त विद्यालयमा सौर्य प्रणाली जडान गरिएको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए । सौर्य ऊर्जाबाट विद्यालयमा जुनसुकै समयमा पनि कम्प्युटर कक्षालगायत विद्युतीय काम गर्न सहज भएको सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताए ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्