Logo
२ जेष्ठ २०८१, बुधबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लक्ष्यअनुसार काम नभएपछि १३ औँ ‘साग’ प्रतियोगिता अन्योलमा 

काठमाडौँ : देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् ।

भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ । तर, रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ । भूकम्प गएको करिब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माणको काम शुरु नै हुन सकेन । गत जेठदेखि मात्र पुनःनिर्माणले गति लिए पनि तोकिएको समयसीमा आगामी फागुन पहिलो सातासम्म पुनःनिर्माण नसकिने भएको छ ।

आगामी फागुन पहिलो सातासम्म रङ्गशाला निर्माण सम्पन्न गर्ने र फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) सोही रङ्गशालामा उद्घाटन गर्ने तयारी भए पनि लक्ष्यअनुसार काम नभएपछि अहिले समस्या उत्पन्न भएको छ । रङ्गशालालगायत अन्य भौतिक पूर्वाधार नबन्दा गत मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पनि तेस्रो पटक सरिसकेको छ भने १३ औँ दक्षिण एशियाली खेलकूद पनि समयमा नहुने निश्चित भएको छ ।

सन् २०१९ मा नेपालले १३ औँ दक्षिण एसियाली खेलकूद आयोजना गर्ने जिम्मा लिएको छ । तर, दशरथ रङ्गशालाको पुनःनिर्माण हालत सन्तोषजनक छैन । रङ्गशाला निर्माणको काम नसकिदा १३ औँ दक्षिण एशियाली खेलकूदसमेत अन्योलमा परेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले तोकिएको समयमा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न नभएपछि नेपालले आयोजना गर्ने १३ औँ दक्षिण एशियाली खेलकूद ६ महिनाका लागि सार्ने प्रस्ताव गरिएको बताए ।

उनले भने, “असार मसान्तसम्म पुनःनिर्माण सम्पन्न हुन्छ, रङ्गशालामा भव्य कार्यक्रम गरेर खेलकुदको स्वर्ण युग घोषणा गरेरमात्र म राखेपबाट बिदा हुन्छु ।” अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाकोे पुनःनिर्माणको काम नेपालको भौतिक पूर्वाधार तथा अन्य प्राविधिक पक्ष चीन सरकारको सहयोगमा निर्माण हुनेछ । नेपालले निर्माण गर्नुपर्ने काममध्ये ७० प्रतिशत काम पूरा भएको छ ।

त्यसपछि चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, ‘साउन्ड सिस्टम’, ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’को काम शुरु हुनै बाँकी छ । यद्यपि चिनियाँ कम्पनीले स्कोर बोर्ड निर्माणको काम केही साताअघिदेखि शुरु गरेको छ । रङ्गशाला पुनःनिर्माणको मुख्य कामको स्वरूपमा रहेको ‘भिआइपी प्यारापिट’ (अति विशिष्ट व्यक्ति बस्ने स्थान) र साधारण प्यारापिट (दर्शक बस्ने स्थान) को तल्लो चार तहको काम पिएल प्रतिष्ठान किराँतेश्वर जेभीले गरिरहेको छ ।

२०७३ सालमा यो कम्पनीले ठेक्का पारेको थियो । राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इञ्जिनीयर अरुण उपाध्यायले भने, ‘अहिले पनि एक सयदेखि १५० मजदुरले दैनिक काम गरिरहेका छन् । सबै काम सम्पन्न हुन असार मसान्तसम्म त लाग्छ ।” एक महिनाभित्र बाहिरी निर्माणको काम सम्पन्न हुने उल्लेख गर्दै उनले साधारण प्यारापिटको उत्तरतर्फ करिब ३० मिटर प्यारापिटको ढलान र भिआइपी प्यारापिटको ३३ पिलरमध्ये ११ पिलरको रेट्रोफिटको काम बाँकी नै छ ।

भिआइपी प्यारापिटको छानो हाल्ने र प्यारापिटका सबैतिर कुर्सी राख्न टेन्डर प्रक्रिया शुरु भएकै छैन । रङ्गशालाको अहिलेको स्वरूप भने २०५५ सालमा तयार भएको थियो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्