Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-बंगलादेश ऊर्जा कार्यदलको बैठक : विद्युत् व्यापारका लागि भारतीय भूमिका आवश्यक

काठमाडौँ : नेपाल-बंगलादेशबीच बनेको ऊर्जा कार्यदलको काठमाडौंमा बसेको पहिलो बैठकले विद्युत् व्यापारका लागि भारतीय भूमिका आवश्यक ठान्दै भारतसँग आआफ्नो तर्फबाट पहल गर्ने सहमति गरेको छ । सोमबार र मंगलबार बसेको बैठकले अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी त्रिपक्षीय व्यवस्था गर्नका लागि आफ्नो तर्फबाट प्राथमिकताका साथ सो विषय उठान गर्ने सहमति गरेको ऊर्जा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ऊर्जासम्बन्धी मुद्दाको छलफलका लागि यस्तै खालको संयन्त्र नेपाल र भारतबीच पनि छ । भारत र बंगलादेशबीच पनि यस्तै खालको संयन्त्र छ । दुवै देशले भारतसँगको ऊर्जासम्बन्धी आगामी बैठकहरूमा अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी त्रिपक्षीय व्यवस्था गर्न आआफ्ना तर्फबाट प्राथमिकताका साथ विषय उठान गर्नेबारे सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

बंगलादेशले नेपालबाट विद्युत् खरिदका लागि चासो देखाउँदै आएको छ । आफ्नो ऊर्जा संकट निवारणका लागि नेपालबाट विद्युत् लैजान बंगलादेशलाई भारतीय सहकार्य आवश्यक छ । ‘नेपालबाट बंगलादेशसम्म विद्युत् लैजान भारतीय भूमि प्रयोग आवश्यक पर्छ । त्यसैले दुवै देशले यसका लागि पहल गर्ने निर्णय गरिएको हो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘भारतको सहयोगबिना नेपाल-बंगलादेशबीच व्यापार सम्भव छैन ।’ नेपाल-भारत र भारत-बंगलादेशबीच रहेको अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालको विद्युत् बंगलादेश बंगलादेश लान सकिने वा भारतले बंगलादेशसम्म अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आफ्नो भूमिक उपलब्ध गराउनुपर्ने ऊर्जा अधिकारीहरूको विश्लेषण छ ।

साउन २५ गते नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीअनुसार दुवै देशका सचिव र सहचिवस्तरीय ऊर्जा संयन्त्र गठन भएको हो । सोमबार दुवै देशका सहसचिवस्तरीय संयन्त्रले ५ वटा मुद्दामा छलफल गरेको थियो । सहसचिवस्तरीय संयन्त्रमा नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको सम्भावना, नेपालमा लगानी सम्भावना, दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइनको सम्भावना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बंगलादेशले आयात गर्ने ५ सय मेगावाट विद्युत्को विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सहसचिवस्तरीय संयन्त्रले गरेको छलफलका आधारमा मंगलबार बसेको सचिवस्तरीय संयन्त्रले दुवै देशका प्राविधिक सम्मिलित संयुक्त प्राविधिक टोली गठन गर्ने सहमति पनि गरेको छ । नेपालमा लगानीयोग्य सम्भावित जलविद्युत् आयोजनाहरूको पहिचान गर्न दुवै देशबाट तीन–तीन सदस्य रहने गरी संयुक्त प्राविधिक टोली गठन गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपाल र बंगलादेशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भावनाबारे अध्ययन गर्न दुवै देशबाट तीन–तीन सदस्यह रहने संयुक्त प्राविधिक टोली गठन गर्ने सहमति भएको छ । दुवै टोलीमारहने सदस्यहरूको नाम दुवै देशले एक अर्कालाई एक महिनाभित्र उपलब्ध गराउने सहमति भएको छ । मंगलबार भएको सचिवस्तरीय बैठकमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र बंगलादेश विद्युत्, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव अहमद काइकाउसको सहअध्यक्षतामा भएको हो ।

बंगलादेशले भारतीय विद्युत् व्यापार निगमसँग माथिल्लो कर्णालीको विद्युत् खरिद गर्न सैद्धान्तिक सहमति गरिसकेको छ । भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने जिम्मा पाएको ९ सय मेगावाटको यो आयोजनाका लागि उसले अहिलेसम्म लगानी जुटाउन भने सकेको छैन ।  आफ्नो देशमा जारी ऊर्जा संकट कम गर्नका लागि बंगलादेशले भारतबाट विद्युत् आयात गरिरहेको छ । भुटानमा जलविद्युत् आयोजनामा लगानी गर्ने र सोही विद्युत् आफ्नो देशमा भित्र्याउने गरी बंगलादेशले भारत र भुटानसँग त्रिपक्षीय समझदारीको पहल पनि गरिरहेको छ ।

बंगलादेशले सन् २०४० सम्ममा नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने योजना बनाएको छ । सन् २०१६ को अक्टोबरमा ढाकामा भएको दक्षिण एसियाली आर्थिक सम्मेलनको क्रममा नेपाल र बंगलादेशबीच ऊर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई आयोजना निर्माण गर्ने उल्लेख गरिएको थियो ।

बंगलादेशले १ हजार १ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो आयोजना निर्माण गर्न प्रस्ताव गरेको थियो । यी आयोजनामा आफैं लगानी गरी विद्युत् खरिद गर्ने बंगलादेशको प्रस्ताव छ । अहिले पनि बंगलादेशी अधिकारीहरू दुवै आयोजनामा लगानीका लागि इच्छुक देखिएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्