Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस दिन नसकेको भन्दै ‘राजीनामा स्टण्ट’ गरेका डाक्टर अधिकारीको पोल खुल्यो !

चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा बुझाएका वीर अस्पताल, न्यूरो सर्जरी युनिटका प्रमुख प्रा. डा. धु्रबराज अधिकारीको राजिनामा रहस्य खुलेको छ । बडो आर्दशवादी र इमान्दारझै राजिनामा पत्र लेखेर सामाजिक संजालमा सार्वजनिक समेत गराएका उनले स्वास्थ्य सेवा ऐन मिचेको तथ्य समेत फेला परेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र सार्वजनिक भएको थियो । तर अधिकारीले राजनीतिक रुपमा ‘राजीनामा स्टण्ट’ मा उत्रेको खुलासा भएको छ ।

पुर्वमन्त्री खगराज अधिकारीका भाई समेत रहेका डाक्टर अधिकारीले राजनीतिक धाक लगाउँदै नियम बिपरित कार्य गर्न उल्टै मन्त्रीलाई दवाब दिएको र उक्त दवाबलाई मन्त्रीले स्वीकार नगरेपछि उनले राजनीतिक पुर्वाग्रहका साथ बद्नाम गर्ने नियतले ‘राजीनामा स्टण्ट’ मा उत्रेको श्रोतको दावी छ ।

साहारा फिजियोथेरापी हस्पिटलका प्रमुख समेत रहेका अधिकारीले सरकारले खटाएको स्थानमा जानु पर्ने भएपछि सरकारी सेवाबाट राजिनामा दिएका हुन् । ‘चाकडी र घुस दिन नसक्दा’ वीर अस्पताल बाहिर पठाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।

वीर अस्पतालका न्यूरो सर्जन डा अधिकारीलाई सरकारले वीर अस्पतालबाट पोखरामा सरुवा गरेको थियो । ८ औं तहमा कार्यरत डा अधिकारी नवौं तहमा बढुवा भएपछि गत चैत १८ गते पोखरामा पदस्थापना गरिएको थियो । स्वास्थ्य सेवा ऐन अनुसार बढुवा भएर पदस्थापना भएको कर्मचारी खटाएको स्थानमा पुगेर हाजिर गर्नुपर्ने हुन्छ ।

डा अधिकारी बढुवा भएको समयमा वीर अस्पतालमा नवौँ तहको दरवन्दी खाली थिएन । दरवन्दी खाली नभएपछि स्वास्थ्य मन्त्रालयले उनलाई पोखराको क्षेत्रिय अस्पतालमा पठाएको थियो । तर, डा अधिकारी वीर अस्पतालमा नै हाजिर गर्ने अडानमा रहँदै आएका थिए ।

गत मंसिरमा आठौं तहबाट नवौं तहमा बढुवा भएका अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा दरबन्दी खालि नभएपछि पदस्थापनका लागि गण्डकी अञ्चल अस्पताल पोखरा खटाएको थियो । तर, डा. अधिकारी सरकारले खटाएको स्थानमा एक दिन पनि हाजिर नभएको रेकर्ड स्वास्थ्य मन्त्रालयसँग छ ।

मन्त्रालयका कर्मचारी प्रशासन शाखाका सह सचिव जनार्दन गुरागाईका अनुसार अधिकारीले पोखरामा एक दिन पनि हाजिर गरेका छ}नन्। वीरमा नवौं तहको दरबन्दी खाली नभएपछि केही समयका लागि अधिकारीलाई पोखरा सरुवा गरिएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले डा अधिकारीले पहिला पोखरामा गएर हाजिर गर्नुपर्ने र त्यसपछि मात्र आवश्यकताका आधारमा अन्य स्थानमा सरकारले ल्याउन सक्ने नियम रहेको बताए ।

‘उहाँले पोखरामा गएर हाजिर मात्र गरेर फेरी यता आउन आवश्यक पहल गरेको भयो ऐन अनुसार काम गर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘तर उहाँले ऐन विपरित दरवन्दी नै नभएको स्थानमा नै बस्छु। पदस्थापन गरिएको स्थानमा जान्न भन्नु भएको रहेछ।’

प्रवक्ता श्रेष्ठले डा अधिकारीले चाकडी र घुसको आरोप लगाएपछि मन्त्रालयले यो विषयमा खण्डन गर्दै प्रेस विज्ञप्ति नै जारी गरिएको बताए ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा पनि ‘पदस्थापन भएको कार्यालयमा १ पटक हाजिर भै आए पश्चात मात्र वीर अस्पतालमा सरुवा गर्न नियमानुसार प्रक्रिया पुग्नेहुँदा सो विषयमा मौखिक जानकारी बारम्बार दिइएकोमा उक्त कुराको अवज्ञा गरि राजीनामा बुझाएको व्यहोरा सर्वसाधरणको जानकारी लागि विज्ञप्ति जारी गरिएको’ उल्लेख छ।

प्रवक्ता श्रेष्ठका अनुसार डा अधिकारीको बढुवा हुँदा दरवन्दी खाली नभए पनि केही समयअघि अस्पतालका अर्का न्यूरो सर्जन डा गोपालरमण शर्माले राजीनामा दिएपछि वीरमा दरवन्दी खाली भएको थियो। वीरमा दरवन्दी खाली भएपछि डा अधिकारीले पुन उक्त पदमा आफूलाई पदपूर्ती गर्न आग्रह गरेका थिए।

‘उहाँले वीरमा पदखाली भएपछि मन्त्रालयमा र मन्त्री समक्ष आग्रह गर्नुभएको थियो,’ उनले भने, ‘उहाँको आग्रहपछि मन्त्रालयका जिम्मेवार कर्मचारी र मन्त्री स्वयंले नियमअनुसार पोखरामा एक पटक हाजिर गरेर आउनुहोला अनि यता मिलाउँछौं भनेर सुझाब दिइएको थियो। तर, उहाँले एकैपटक चाकडी र घुसको कुरा निकाल्नु भएको रहेछ।’

मन्त्री उपेन्द्र यादवका स्वकिय सचिव महेश चौरसियाले डा अधिकारीका लागि ऐन कानुन विपरित काम गर्न नसकिने बताए। ‘वीरमा उहाँको आवश्यकता छ नियमअनुसार मिलाउन सकिन्छ गरेर फर्कनुहोस् नियमअनुसार तपाईको वीरमा नै पोष्टिङ हुन्छ भनिएको थियो।’

एक दिन हाजिर गर्न जा भने मैले मानिन : डा. अधिकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अधिकारीलाई एक दिन हाजिर गरेर आउन भनेको थियो । तर, अधिकारीले अटेर गरेर वीरमै बसेको मन्त्रालयले जनाएको छ । हाजिर हुन पोखरा नगएपछि अधिकारीले एक वर्षको तलव पाएका छैनन् । अहिले वीरमा ९औं तहको दरबन्दी खाली छ ।

‘मन्त्रालयले बढुवा भएपछि पोखरा पदस्थापन गरेको हो, मैले जान मानिन,’ उनले भने, ‘अहिले पनि कानुनी रुपमा एक दिन हाजिर गरेर आउनुस् काज मिलाउँला भनेको छ तर, मैले नमाने कै हो, एक दिन हाजिर गरेर के हुन्छ ?’

 

 

 

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्