Logo
२४ बैशाख २०८१, सोमबार
(October 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दसैंमा करिव ११ अर्ब ७४ करोडका ४६ करोड ५५ लाख थान नयाँ नोट साटिए, ७९ करोड स्वाहा

काठमाडौं- दसैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दा नेपाल राष्ट्र बैंकलाई ७८ करोड ९० लाख रुपैयाँ अतिरिक्त भार परेको छ।

५ देखि १०० रुपैयाँ दरसम्मका नोटमा मात्रै ६२ करोड २८ लाख रुपैयाँ खर्च परेको छ। नयाँ नोटमा राष्ट्र बैंकको खर्च बर्षेनी बढ्दो छ।

राष्ट्र बैंकका अनुसार, दसैं बिदा सुरु हुनु अघिसम्म ५ रुपैयाँ दरको ९ करोड ४२ लाख ५० हजार थान नोट सटही भएका छन्। ५ को कुल ४७ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको नयाँ नोट सटही भएका छन्।यसमा राष्ट्र बैंकको छपाइ खर्च १२ करोड ५५ लाख ९९ हजार ५२९ रुपैयाँ खर्च भएको छ।

१० रुपैयाँ दरको ९ करोड ७२ लाख थान नोट सटही भएका  छन्। यसको छपाइमा १६ करोड ५६ लाख ६२ हजार १२० रुपैयाँ खर्च भएको छ। २० रुपैयाँ दरका ६९ करोड ६५ लाख थान वितरण भएको छ। यसको छपाइ खर्च ८ करोड ३२ लाख २६ हजार १८४ रुपैयाँ लागेको छ।

यसैगरी ५० रुपैयाँ दरका नोट १० करोड १५ लाख ५० हजार थान वितरण भएको छ। यसमा राष्ट्र बैंकको १५ करोड ७२ लाख ४५ हजार ९९६ रुपैयाँ छपाइ खर्च लागेको छ। १०० रुपैयाँ दरका नोट ३ करोड ८३ लाख थान सटही भएको छ। यसको छपाइ खर्च ९ करोड ११ लाख ३२ हजार ४९३ रुपैयाँ लागेको छ।

दसैंका लागि सटही हुने नयाँ नोट फिर्ता आउँदा अधिकांस सद्धे हुँदैनन्। खर्च बढिरहने तर नयाँ नोटको माग नघट्ने हुँदा राष्ट्र बैंकका अधिकारीहरु नोट ब्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउन थालेका छन्।’नयाँ नोट ब्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ। बढ्दो खर्च र भुक्तानी जोखिमले अझ समस्या थपिने गरेको छ’ राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने। 

दसैंमा जसरी पनि नयाँ नोट साट्नु पर्छ भन्ने आम मनोविज्ञानले गर्दा राज्यको खर्च बढ्दै गएको अधिकारीहरु बताउँछन्। दसैंमा बाहिरिने नयाँ नोटमा रङ अबिर लागेर फर्किने गरेको छ। ‘नयाँ नोट नै चाहिन्छ भन्ने मनोविज्ञान सर्वसाधारणले त्याग्नु पर्छ’ ती अधिकारीले भने, ‘अर्कोतिर नोट सुरक्षित रुपमा चलाउने अभ्यास सर्वसाधारणले गर्नु पर्छ।’

अमेरिकी डलर, युरोजस्ता नोट जतन गरेर चलाइने भए पनि नेपाली नोट ‘वेढङ्ग’ ले चलाइने गरेको छ। आफ्नो देशको नोट डलर/युरोजस्तै गरी सुरक्षित रुपमा चलाउँदा राज्यको खर्च पनि कम हुने र नोटको आयु पनि लम्बिने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।

दसैंमा कुल ११ अर्ब ७४ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको नोट साटिएका छन्। कुल ४६ करोड ५५ लाख थान नयाँ नोट साटिएका छन्। गत बर्षभन्दा रकम कम साटिए पनि थान भने बढि साटिएका छन्। गत बर्ष ४१ करोड ५४ लाख थान नयाँ नोट साटिएका थिए। कुल १२ अर्ब ३७ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरका नोट साटिएका थिए।

गत बर्ष ५०० र १००० दरका नोट पनि मनग्य साटिने गरेकोमा यसपाली त्यसभन्दा साना नोटको माग अत्याधिक थियो। 

प्रकाशित मिति: Oct 22, 2018

प्रतिक्रिया दिनुहोस्