Logo
६ जेष्ठ २०८१, आईतबार
(October 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलिवुडबाट सुरु भएको #MeToo अभियान बलिवुडसँगै भारतीय सञ्चार जगतमा पनि भित्रियो

महिलामाथि हुँदै आएको यौन उत्पीडन तथा यौन हिंसा विरुद्ध हलिवुडबाट सुरु भएको ह्यासट्याग अभियान #MeToo बलिवुड तथा भारतीय सञ्चार जगतमा पनि प्रवेश गरेको छ । सन् २०१७ को अक्टोबरमा ह्यासट्याग मि टू का साथ विभिन्न व्यक्तिले आफूमाथि भएको यौन हिंसाका बारेमा बोल्न थालेका थिए । लगत्तै यसले ठूलो अभियानको रुप लियो र सबैभन्दा बढी प्रभाव हलिवुडमा परेको देखियो । यहि अभियानका कारण हलिवुडका चलचित्र महारथी हार्बी वाइन्स्टिनसहितका धेरै अदालतको कठघरामा पुगे । हलिवुडसँगै अरु क्षेत्रका महिलाले पनि मि टू अभियानको प्रभाव पर्दै गयो र खेलसहित सञ्चार तथा अरु क्षेत्रमा पनि यसको पकड देखियो ।

द गार्डियनका अनुसार टेराना बर्क नाम गरेकी अमेरिकी सामाजिक कार्यकर्ताले सन् २००६ मा मि टू शब्दावलीको प्रयोग गरेकी थिइन् । तर सन् २०१७ मा अमेरिकी अभिनेत्री अलिसा मिलानोले ट्वीटरमा यसलाई प्रयोग गरेपछि बढी चर्चामा आयो । अब विश्वको ठूलो चलचित्र उद्योग मध्ये एक बलिवुड तथा भारतीय सञ्चार क्षेत्रमा पनि मि टू अभियानले तीव्रता पाएको छ । हप्ता दिनअघि मि टू अभियान औपचारिक रुपमा बलिवुड प्रवेश गरेको हो ।

अभिनेत्री तनुश्री दत्ताले बलिवुडका सम्मानित अभिनेता नाना पाटेकर, निर्देशक विवेक अग्निहोत्री तथा कोरियोग्राफर गणेश आचार्यसहितले आफूमाथि यौन दुर्व्यहार गरेको बताएकी थिइन् । १० वर्षअघि सन् २००८ मा चलचित्रको छायाँकनको क्रममा आफूमाथि यौन हिंसा भएको तनुश्रीले बताएपछि बलिवुडमा विभाजित प्रतिक्रिया आयो । तनुश्री बोलेपछि अरु महिलाले पनि आफूमाथि भएका यौन हिंसा र दुर्व्यवहारका बारेमा बोल्न थालेका छन् ।

यहि क्रममा भारतीय सञ्चार जगतका महिलाहरुले आफूमाथि भएका यौन हिंसाका बारेमा बोल्न थालेका छन् । यसरी बोल्नेमा भारतका प्रतिष्ठित मिडिया हाउसमा काम गर्ने महिलाहरु रहेका छन् । यसलाई भारतमा ह्यासट्याग मि टू अभियानको सुरुवातको रुपमा हेरिएको छ । महिलाहरुले आफूमाथि कार्यस्थलमा भएको यौन दुर्व्यवहारका बारेमा बोल्न थालेका छन् र त्यसका लागि सामाजिक सञ्जालको प्रयोग गरेका छन् ।

उनीहरुले आफूमाथि भएको दुर्व्यवहार र त्यसमा संलग्न व्यक्तिको नाम पनि सार्वजनिक गर्न थालेका छन् । उनीहरुले दुर्व्यहार गर्ने व्यक्तिसँगको च्याटको स्क्रिन सट पनि सेयर गरिरहेका छन् । एक महिलाले बिहीबार ट्वीट गरेर कमेडियन उत्सव चक्रवर्तीमाथि यौन दुर्व्यहारको आरोप लगाइन् । त्यसपछि अरु महिलाले पनि आफ्नो अनुभव सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् ।

यसरी आफ्नो विगत सार्वजनिक गर्नेमा पत्रकार सन्ध्या मेनन पनि छन् । उनले ट्वीट गरेर के. आर. श्रीनिवासनमाथि यौन दुर्व्यहारको आरोप लगाएकी छन् । घटना सन् २००८ को रहेको उनले उल्लेख गरेकी छन् । टाइम्स अफ इन्डियाको हैदरावादमा रेजिडेन्ट एडिटर रहेका श्रीनिवासनले यसमा प्रतिक्रिया दिँदै यससम्बन्धमा जाँच सुरु गरेको बताएका छन् ।

भारतीय सर्वोच्च अदालतकी वकिल इन्दिरा जयसिंहले महिला पत्रकारसँगै अरुले आफूमाथि भएको यौन उत्पीडनका बारेमा बोल्न थालेकोमा स्वागत गरेकी छन् । केही समयअघि हफिङ्गटन पोस्टका अनुराग वर्मामाथि केही महिलाले आपत्तिजनक म्यासेज पठाएको आरोप लगाएका थिए । अनुरागले ट्वीट मार्फत माफी माग्दै सबै म्यासेज मजाकका लागि मात्रै रहेको बताए । हफिङ्टन पोस्टले अनुराग र उत्सव चक्रवर्तीमाथि धेरै महिलाले यौन दुर्व्यवहारको आरोप लगाएको र घटनाको आलोचना गर्यो ।

यता, भारतीय दैनिक अखबार हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । नेपाली सञ्चार माध्यममा स्थापित भएर भारतीय पत्रिकारितामा सरेका झामाथि हिन्दुस्तान टाइम्सकै एक पूर्व महिला पत्रकारले यौन दुव्र्यवहारको आरोप लगाएकी हुन् ।

वकीलसमेत रहेकी हिन्दुस्तान टाइम्समा कानुन बिट हेर्ने महिला पत्रकारलाई झाले यौन दुर्व्यवहार गरेको समाचार भारतीय अनलाइन फर्स्ट पोष्टमा समाचार छ । सन् २०१४ मा ती महिला हिन्दुस्तान टाइम्समा आवद्ध भएकी थिइन् । त्यहाँ उनले झालाई भेटिन् । दुवैको डेस्क नजिक थियो । दुवैबीच राम्रो मित्रता भयो । ती महिला पत्रकारलाई झाले कामको आदर गरेको लाग्न थाल्यो ।

एक दिन झाले खाना खान बाहिर जान प्रस्ताव राखे । त्यसलाई उनले सहजै स्वीकारिन् । त्यसपछि झाले प्रेमको प्रस्ताव राखेको ती महिला पत्रकारले आरोप लगाएकी छिन् । ‘तिमी विवाहित हौ, तिमीप्रति मलाई कुनै रुची छैन, आइन्दा यस्ता कुरा नगर’ भनेर इन्कार गरिरहँदा पनि झाले बारम्बार सन्देश पठाइराखेकाले दिक्क भएर सन् २०१६ मा हिन्दुस्तान टाइम्स छाड्नु परेको ती महिला पत्रकारको दावी छ ।

पहिलोपल्ट प्रेमको प्रस्ताव राखेको र आफूले तिमी विवाहित हौ भनेर स्मरण गराएको भोलिपल्ट झाले पठाएको व्यङ्ग्यात्मक सन्देशमा लेखेका थिए, ‘तिम्रो साध्वी सुझावको लागि धन्यवाद ।’

सन् २०१७ को अक्टोबरदेखि अमेरिकाबाट सुरु भएको #MeTooअभियानअन्तरगत विश्वभरका महिलाहरुले आफूहरुमाथि आफ्नै सहकर्मी पुरुषहरुले गरेको यौन दुर्व्यवहारका बारेमा खुलेर बोल्दै आएका छन् । पछिल्लो समय भारतमा पनि यो अभियानका रुपमा बढेको छ । धेरैजना सेलिब्रिटीहरु आफूमाथि भएको दुर्व्यवहारका बारेमा बताउन थालेका छन् ।

पछिल्लो समय बलिउड अभिनेत्री तनुश्री दत्ताले आफूमाथि बलिउड अभिनेता नाना पाटेकरले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि बलिउडमा तरङ्ग नै पैदा भएको छ । त्यस्तै पछिल्लो समय पत्रकार महिलाहरुले पनि आफूमाथि न्यूज रुममै पुरुष सहकर्मीहरुबाट दुर्व्यवहार भएको आरोप लगाउँदै आएका छन् ।

– भारतीय सञ्चार माध्यमको सहयोगमा

प्रकाशित मिति: Oct 6, 2018

प्रतिक्रिया दिनुहोस्