Logo
६ जेष्ठ २०८१, आईतबार
(August 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा सूचना प्रविधिको प्रयोग

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सूचना प्रविधिको प्रयोग शुरु गरिएको छ ।

यसको शुरुवात गाउँपालिकाको अगैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट गरिएको छ । सो विद्यालयमा गाउँपालिकाका अध्यक्ष लाहुराम थारू र इम्पेटस नेपाल प्रालिका अध्यक्ष जीवन गुरागाईले सूचना प्रविधिको ‘स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस (एसपिआरए) एकेडेमिक एनलाइसिस रिसोर्स प्रोग्रामिङ’ (इआरपी) बुधवार शुभारम्भ गरेका छन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सूचना प्रविधिको प्रयोगबाट संघीय सरकार, स्थानीय सरकार, प्रधानाध्यापक, अभिभावक, शिक्षक र विद्यार्थीले विद्यालयको गतिविधि अध्ययन गर्न पाउने छन । प्रविधि अन्तर्गत विद्यार्थीको विद्यालयमा उपस्थिति, पठनपाठनको अनुगमन, अतिरिक्त क्रियाकलापलगायतका बारेमा जानकारी लिन सकिने र त्यसैको आधारमा विद्यालयको शैक्षिक गतिविधिमा सुधार ल्याउन सकिने इम्पेटस नेपालका अध्यक्ष जीवन गुरागाईले जानकारी दिए ।

यो प्रविधिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तल्लोतहबाट सूचना प्रविधिको प्रयोग भई विद्यार्थीको अध्ययन शैली, शिक्षकको अध्यापनमा लगनशिलता र सिकाइ उपलब्धिमूलक हुने विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष थारूले शिक्षकलाई जिम्मेवार बनाउन सूचना प्रविधिलाई स्वीकार गरिएको बताए । “यो वर्ष कम्तीमा २० विद्यालयमा यो प्रविधि जडान गर्न गाउँपालिकाले रु ४० लाख खर्च गर्न सक्ने व्यवस्था मिलाएको छु”, उनको भनाइ छ ।

प्रकाशित मिति: Aug 30, 2018

प्रतिक्रिया दिनुहोस्