Logo
२३ बैशाख २०८१, आईतबार
(July 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच पटकको विश्वविजेता ब्राजिल पराजित, बेल्जियम सेमिफाइनलमा

काठमाडौं:  पाँच पटकको विश्व विजेता ब्राजिल २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। ब्राजिललाई बेल्जियमले २:१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान  पक्का गरेको छ। बेल्जियम ३२ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। 

अब बेल्जियमले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ। 

खेलको सुरुवातमै ब्राजिलले अग्रता लिने अवसर गुमाएको थियो। कर्नर बलमा थियागो सिल्भाको हेडर पोलामा लागेर फर्किएको थियो।

त्यसपछि ब्राजिल दबाबमा आउदा ३१ मिनेट भित्र २ गोल खाएको थियो।

खेलको १३ मिनेटमा बेल्जियमले अग्रता लियो। ब्राजिलका फर्डिनान्डोले आत्माघाती गोल गर्दा बेल्जियमलाई फाइदा पुगेको थियो। केभिन डे ब्रुइनको कर्नरमा कप्तान भिसेन्ट कोम्पनीले हेड गरेको बलमा छेक्ने क्रममा फर्डिनान्डोले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

३१ मिनेटमा बेल्जियमले अग्रता दोब्बर पार्यो। रोमेलु लुकाकुले मिहिनेत गरेर दिएको पासमा मिडफिल्डर केभिड डे ब्रुइनले २५ यार्ड टाढाबाट लोभलाग्दो गोल गरे। 

ब्राजिलले ७६ मिनेटमा गोल फर्काउँदै खेललाई २(१ को स्थितिमा ल्यायो। ब्राजिलका लागि सब्सिच्युट खेलाडी रेनाटो अगुस्टोले हेडमार्फत गोल गरे। काउटिन्होले उपलब्ध गराएको क्रसमा उनले बललाई जाली चुमाएका थिए। 

इन्जुरी टाइमको अन्तिम मिनेटमा नेइमारको उत्कृष्ट प्रहारलाई बेल्जियमका गोलकिपरले बिफल पार्दा ब्राजिलको आसा सकिएको थियो। 

प्रकाशित मिति: Jul 7, 2018

प्रतिक्रिया दिनुहोस्