Logo
२४ बैशाख २०८१, सोमबार
(June 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरेबगरमा आयोजित एक कार्यक्रममा किसानलाई औजार हस्तान्तरण

बेनी : अन्नपूर्ण गाउँपालिका पशु सेवा शाखाले कालीगण्डकी भेडापालन स्रोत विकास केन्द्रमा आबद्ध किसानलाई अतिआवश्यकीय सामग्री वितरण गरेको छ ।

मंगलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले किसानलाई त्रिपाल, जुकाको औषधि र विभिन्न किसिमका मेशिन उपलब्ध गराएका हुन् ।

गाउँपालिका पशु सेवा शाखाका संयोजक सतेन्द्रकुमार रायले पाँच थान खसी पार्ने मेशिन, २५ बाह्य परजीवी नियन्त्रण इन्जेक्सन, ५० थान सिरिन्ज, २४ थान चर्मिन महमल, १० थान ड्रेन्चिङ गल, २५ थान सोलार टुकी, ३० थान त्रिपाल र २० ग्यालिन जुकाको औषधि वितरण गरिएको जानकारी दिए । कालीगण्डकी क्षेत्रको नारच्याङ, हिस्तान, भुरुङतातोपानी, शिख तथा घार क्षेत्रका किसान व्यावसायिकरुपमा भेडाबाख्रा पालन पेशामा आबद्ध छन् ।

गाउँपालिका अध्यक्ष क्याप्टेन पुनले किसानलाई औजार वितरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । कालीगण्डकी क्षेत्रका किसान भेडाबाख्राका साथै चौँरीपालन व्यवसायमा पनि आबद्ध हुँदै गएका छन् । आलु, सुन्तला, सिमी उत्पादनको समेत पकेट क्षेत्र मानिने अन्नपूर्णको हिस्तान, राम्चेलगायतका गाउँलाई आलु खेतीको पकेट क्षेत्र घोषणाको तयारी समेत भइरहेको कृषि सेवा शाखा प्रमुख गोपाल भट्टराईले जानकारी दिए ।

वर्षा सिजनलाई लक्षित गरी प्राप्त औषधि र सामग्रीले किसानलाई राहत पुग्ने कालीगण्डकी भेडापालन स्रोत विकास केन्द्रका अध्यक्ष मेखबहादुर गर्बुजाले जानकारी दिए ।

प्रकाशित मिति: Jun 20, 2018

प्रतिक्रिया दिनुहोस्