Logo
२३ बैशाख २०८१, आईतबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुख : मुख्यमन्त्री राई

विराटनगर, १६ जेठ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारद्वारा मंगलबार प्रस्तुत गरिएको बजेट समग्रमा राम्रो रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ द्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय बृहत् कार्यशाला गोष्ठीमा उहाँले समृद्ध नेपाल सुखी नेपाली नारातर्फ बजेट उन्मुख रहेको बताउँदै प्रष्टरूपमा संघीयताको कार्यान्वयनमा अग्रसर रहेको छ भन्नुभयो ।

उहाँले प्रदेश सरकारले विकास र समृद्धि कायमका लागि बजेट निर्माणका लागि आफ्नो लक्ष्य लिएको बताउँदै पहिलो कृषि, दोस्रो पर्यटन, तेस्रो जलस्रोत र उद्योगधन्धामा ध्यान केन्द्रित गर्दै जनतालाई समृद्धि बनाउने अभियानमा लागेको धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले जनताका चाहना र सपना, घोषणापत्र, अल्पमध्य र दीर्घकालीन योजना तर्जुमा गर्न विज्ञको सुझावअनुसार बजेट निर्माण गर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकार स्वदेशी र विदेशी लगानीलाई भित्र्याइ उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी यस क्षेत्रको जनताको आर्थिक जीवनस्तर वृद्धि गर्न कटिबद्ध रहेको छ भन्नुभयो । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश समृद्धि कायम गर्ने पर्यटन, कृषि, उद्योगको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आर्थिक समृद्धिको अघि बढ्न प्रदेश सचिवालयको सहयोग सदैव रहनेछ भन्नुभयो ।

उहाँले बजेट, कानून निर्माण कार्यमा स्थानीय निकाय र प्रदेशसभा सदस्यबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने बताउनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गोष्ठीबाट प्राप्त सुझावले मुलुकको समृृद्धिमा सहयोग पुग्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रदेश अध्यक्ष बवि चाम्लिङ, नेपाल नगरपालिका संघ प्रादेशिक समितिका महेश बस्नेत र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्रबहादुर राउतले प्रदेशको आर्थिक समृद्धि कायम गर्न आवश्यकपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो ।

एकदिने उक्त गोष्ठीमा ‘प्रदेश नं १ को बृहत् वस्तुस्थिति र योजना’ डा पीताम्बर शर्मा, ‘प्रदेश नं १ को तुलनात्मक लाभका क्षेत्र तथा अवसर’ उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अविनाश बोहरा, ‘प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र’ संघीय मामिला तथा सामान्य प्र्रशासन मन्त्रालय सचिव दिनेश थपलिया, ‘प्रदेशको वित्तीय स्रोत परिचालनको स्थिति तथा सम्भावना’ डा खिमलाल देवकोटा र महिलामैत्री बजेट निर्माण सरु जोशीले विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एकदिने कार्यशालामा प्रदेश नं १ का मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रदेशका नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख, उद्योगी र व्यापारीको सहभागिता थियो । (रासस)

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्