Logo
६ जेष्ठ २०८१, आईतबार
(May 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा उर्जादशक घोषणा : उर्जामा ८३ अर्ब लगानी, हुलाक बचत बैंक खारेज

काठमाडौं, १५ जेठ : सरकारले २०७५ सालदेखि २०८५ को १० वर्षलाई ऊर्जादशक घोषणा गर्दै ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा ऊर्जादशक घोषणा गर्दै सो क्षेत्रमा रु ८३ अर्ब बजेट विनियोजन गरेका छन् ।

यस्तै, नयाँ बुटवल गोरखपुर ४०० केभी प्रसारणलाइनको निर्माण गर्ने र उत्तर–दक्षिण नदी करिडोरमा उच्च क्षमताका प्रसारणलाइन निर्माण गर्ने लक्ष्य बजेटमा राखिएको छ । निजी क्षेत्रलाईसमेत सहभागी गराइ प्रसारणलाइन निर्माण गर्ने नीति बजेटमा राखिएको छ । यसैगरी, ग्रामीण क्षेत्रको विद्युतीकरणलाई प्रमुख प्राथमकितामा राख्दै सरकारले त्यसका लागि रु पाँच अर्बको बजेट व्यवस्था गरिएको छ ।

सरकारले सहरी क्षेत्रमा स्माट मिटर प्रणाली लागू गर्ने लक्ष्यसमेत राखेको छ । सरकारले तीन वर्षमा मुलुकको सबै स्थानमा विद्युत् सेवा उपलब्ध गराउने र पाँच वर्षमा मागेजति विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस्तै, सरकारले आगामी तीन वर्षभित्र आमनागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य बजेटमा राखेको छ । मेलम्ची खानेपानी आयोजनाका लागि प्रर्याप्त बजेट व्यवस्था गरिएको छ । यसैगरी, सरकारले ठूला नदीमा नमुना खानेपानी योजना सन्चालन गर्ने, राष्ट्रिय सरसफाइ अभियान अगाडि बढाउने लक्ष्य राखिएको छ । बृहत् दाङ खानेपानी आयोजना कार्यक्रम अगाडि बढाउने लक्ष्य बजेटमा राखिएको छ ।

हुलाक बचत बैंक खारेज
सरकारले हुलाक बचत बैंक खारेज गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो बैंक खारेज गरी सो बैंकमा रहेको बचत राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरिने भएको छ । यस्तै, सरकारले राजस्व, खर्च र भुक्तानी विद्युतीय प्रणालीमार्फत् गर्ने व्यवस्था गरेको छ ।

रु एक अर्ब बढी लगानी भएका उद्योग तथा प्रतिष्ठानले साधारण सेयर जारी गर्नैपर्ने व्यवस्था पनि बजेटमा गरिएको छ  । सरकारी कोषमा रहेको निस्क्रिय रकमलाई पुँजी निर्माणमा लगानी गर्ने व्यवस्था गरिएको छ । बजेटमा एकल बिन्दुबाटै सबै सेवा उपलब्ध गराइने प्रबन्ध गरिएको छ । विकास सहायता नीति परिमार्जन गरिनेछ ।

प्रकाशित मिति: May 29, 2018

प्रतिक्रिया दिनुहोस्