Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म धेरै कुरा गर्दिनँ, वाकिङ र योगा गर्छु, मलाई आँउदैन : झलनाथ खनाल

पूर्व प्रधानमन्त्री झलनाथ खनाल सधैँ टिपटप बनेर हिँड्छन् । उनले लगाएका कपडाले धेरैको ध्यान खिचिरहेको हुन्छ । यतिसम्म कि ड्रेसअपकै कारण मिडियामा समेत उनी वेलावेलामा छाइरहन्छन् । उनले लगाउने कपडा ब्रान्डेड मात्र हुँदैनन्, रंग, डिजाइनसमेत आकर्षक हुन्छन् । शारीरिक रूपमा फिट झलनाथ आफूलाई कसरी मेन्टन गर्छन् त ? यसबारे प्रेम गौतमले पूर्वप्रधानमन्त्रीसमेत रहेका उनै खनालसँग जान्ने प्रयास गरेका छन् :

पहिलेदेखि नै चिटिक्क परेर हिँड्नुहुन्थ्यो ?
म सामान्य रूपमा हिँडिरहेको हुन्छु । सामान्य गेटअप गर्छु । तर, मेरो शरीरमा जुन रंगको, जुन ढाँचाको कपडा पनि सुहाउँछ । त्यही कारणले चिटिक्क परेको देखिन्छ । मलाई लप्पनछप्पन गरेर हिँड्न मन लाग्दैन । सामान्य रूपमा अलिकति सफासुग्घर भएर हिँड्नुपर्छ, सफासुग्घर भएर बस्नुपर्छ भन्ने ठान्छु । मैले सुरुदेखि त्यसरी नै सोच्दै आएँ र अहिले पनि त्यही गरिरहेको छु ।

राजनीतिमा आउनुभन्दा पहिला पनि त्यसरी नै हिँडेँ । यद्यपि त्यति वेला मनले चाहेका कपडा लगाउन पाउँदिन थिएँ । त्यो अवस्थामा पनि सकेसम्म सरसफाइ गरेर, चिटिक्क परेर हिँड्ने बानी थियो । त्यो बानी अहिलेसम्म पनि गएको छैन । यसैले मान्छेहरू बढी चिटिक्क पर्छ भन्छन् होला । यो असाधारण कुरा हो जस्तो मलाई लाग्दैन ।

रङ कसरी छान्नुहुन्छ ?
मसँग केही सुट, केही कोट, केही दौरासुरुवाल छन् । तीमध्ये कुन दिन कुन मन लाग्छ, त्यही लगाउँछु । कलर मिलाउने हिसाबकिताब गरेको हुन्नँ । तर पनि लगाएपछि मिलिराखेको हुन्छ । त्यो मिलेको देखेर यसले कलर मिलाई–मिलाई लगाउँछ भन्ठान्छन् होला । त्यो भ्रम हो । सम्भवतः राम्रो देखिन्छ होला, त्यसकारण यस्तो इम्प्रेसन देखिएको हुन सक्छ ।

कपडामा दिनैपिच्छे आइरन लगाउनुहुन्छ ?
आइरन म अक्सर लगाउँदिनँ । मसँग एकपटक आइरन लगाएपछि पुग्ने कपडा हुन्छन् । त्यो कारणले आइरन लगाइराख्नुपर्दैन । टेलिकटन, टेलिउलन आदिमा आइरन लगाउनु आवश्यक नै हुँदैन । कोटहरूमा लगाउने गर्दिनँ । कपडालाई हिफाजत ग-यो, खोलिसकेपछि ठीक ढंगले राख्यो भने त्यो खुम्चँदैन, विग्रदैन । जतिपटक लगाए पनि नबिग्री बसेको हुन्छ । कपडालाई माया गरे कपडाले पनि आफूलाई माया गर्छ ।

ब्रान्ड कत्तिको छान्नुहुन्छ ?
विशेषगरी क्वालिटी हेर्छु । त्यसकारण ब्रान्ड पनि हेरिन्छ । तर, सामान्यतया कपडा आकर्षक हेरिन्छ ।

डिजाइनरले सल्लाह दिन्छन् कि आफैँ डिजाइन दिनुहुन्छ ?
कहिलेकाहीँ म आफैँ छान्छु । कहिलेकाहीँ डिजाइनरले सुझाब दिन्छन् । उपयुक्त लागे सुझाबअनुसार लिन्छु । धेरैले डिजाइन र कलरका कपडा देखाएर हजुरलाई यो सुहाउँछ, यो राम्रो हुन्छ भन्छन् । ती सुझाबलाई विश्लेषण गरेर हेर्दा उपयुक्त लागे लिन्छु ।

कपडा किन्न कुन ठाउँ छान्नुहुन्छ ?
म विदेश गएका वेला पनि कपडा ल्याउँछु । काठमाडौँमा यही भन्ने छैन । कपडा लिन म एक्लै जान्नँ । साथीभाइसँग गएको हुन्छु ।

तपार्इंको टिपटपको विषय मिडियामा आउँदा कस्तो लाग्छ ?
मलाई अचम्म लाग्छ । मान्छेले किन यस्तो ढंगले इम्प्रेसन राख्छन् भन्ने लाग्छ । किनकि म चिटिक्क बन्छु भन्ने विचार बनाएर हिँडेको हुन्नँ । उपलब्ध कपडा सामान्य रूपमा नै लगाएर हिँड्ने गर्छु । तर पनि मान्छेहरूले हेर्दा यो झलनाथ खनाल चिटिक्क परेर हिँड्छ भन्दा रहेछन् ।

म्याडमले कत्तिको सल्लाह दिनुहुन्छ ?
अब त मेरा रुचि मलाई भन्दा बढी म्याडमलाई थाहा छ । कुन वेलामा कस्तो कपडा चाहिन्छ भन्नेबारे उनलाई थाहा हुन्छ । कुनै नयाँ कपडा लिनुपर्ने भयो भने उनले सुझाब दिन्छिन्, आजभोलि । त्यो सुझाबका आधारमा म लिन्छु । कपडा म्यानेज गर्ने कुरामा उनको ठूलो हात छ ।

फिटनेसका लागि चाहिँ के-के गर्नुहुन्छ ?
म धेरै कुरा गर्दिनँ । वाकिङ र योगा गर्छु । बिहान उठेर एक घन्टा योगा गर्छु । त्यसपछि करिब आधा घन्टा अरू एक्सरसाइज गर्छु । ८० मिनेट मर्निङ वाक गर्छु ।

नयाँ पत्रिकाबाट

प्रकाशित मिति: May 26, 2018

प्रतिक्रिया दिनुहोस्