Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो समाज : बोक्सी, धामी-झाँक्री र मानसिकताको विनिर्माण

– चेवन राई

हामी पल पलमा आँखा चिम्म गर्छौं र उघागर्छौं पनि । तर धेरै मान्छेहरू आँखा चिम्म गरेपछि उघार्दैनन् । उनीहरूलाई बन्द आँखामा सौन्दर्यको अनुभूत हुँदो हो । जाति सँस्कार र धर्मको नाममा धेरै मानिसहरूले आँखा बन्द गर्दछन् । वास्तवमा आँखा भनेको सोचको, चेतनाको, ज्ञानको परिपूरक मात्रै हो । यदपि, मानव जाति त एउटै हो र उनीहरूको तथाकथित आँखाहरू पनि दुईवटा मात्रै हुन्छन् । तर उनीहरूको दृश्यमा चेतनाको आकृतिहरू अलग अलग बनिन्छन् वा बनाइन्छन् । के धामी झाँक्री र बोक्सी ठीक हो ? विज्ञानको नाममा आँखामा पट्टि कस्नेहरूले के भन्छन् भनेर भनिरहनु परेन ।

तर आउनुहोस् ,नेपालीको समाज हेरौँ । म आफैंबाट सुरु गर्छु । मेरै कथित राई जातिमा धामी झाँक्री हुन्छ नै । क्रियाकर्म गर्दा, बिरामी पर्दा चलाइन्छ नै । बिजुवा पनि भन्छन् कतिले त । लिम्बु नामको कथित् जातिलाई पनि धामी झाँक्री नभई हुँदैन । उनीहरू फेदाङ्बा, साम्बा यस्तै भन्छन् । त्यस्तै तामाङले, गुरुङले, शेर्पाले आफ्नै जातिको लामा चलाउछन् । नेवारले गुभाजु । त्यस्तै, मगरहरूले, सुनुवारले पनि चलाउँछन् । क्षेत्री, बाहुन् जातले पनि आ–आफ्नै पण्डित चलाउँछन् । अन्य थारु, दलित, राउटे, चेपाङले पनि आफ्नै धामी झाँक्री चलाउँछन् । राम, कृष्ण, हरे शिवको नाम बेच्छन् । यहाँ मात्रै होइन इन्डिया, अरब, युरोप, रसिया, चाइना, अमेरिका र अफ्रिकातिरका जातिहरूले पनि धामी झाँक्री चलाउँछन् ।
र बोक्सी… ।

नेपाल र इन्डियाको सन्दर्भमा बोक्सी तिनै धामी झाँक्रीले चलाउने, लगाउने, धपाउने हो । चेतना वा मनोविज्ञान यहाँ यसरी विकसित भएको छ अनि सेवाको नाममा यसको बिक्रीवितरण भनौं कारोबार नै भइरहेछ परम्परागत रूपमा । अण्डा, कुखुरा, खसीबोका, राँगा, मान्छे अथवा लौकाफर्सीको बलि नै पनि चढाइएको हामी जो कोहिले देखे सुनेका छौँ । के बोक्सी हुन्छ त ? हुँदैन । यसो भन्नुभन्दा पहिले आधुनिकताको नाममा, विज्ञानको नाममा, शिक्षित हुन्ुको भ्रममा नबसी हरेकले यहाँनिर आँखा उघारेर चेतना ग्रहणशील बनाउनु जरुरी छ ।

बोक्सी के हो ? बोक्सीको बीज खोतलौँ । हाम्रो सनातन साहित्यमा भनौं या धर्म ग्रन्थमा, भूत, प्रेत, पिसाच, मसान्, डङ्किनी, बोक्सीनी, चौसट्ठि योगिनी र उनीहरूको नेतृ महाकाली अनि वीर मसान, क्षेत्रपाल मसान, करबिर मसानलगायत बेताल, यक्ष, किन्नर, राक्षस, ब्रह्म राक्षस, भैरब, वीरभद्र र उनीहरूको नेता श्वमशानेश्वर शिवजी बताइएको छ । शास्त्रलाई मान्ने हो भने या भगवानलाई मान्ने हो भने यहाँ बोक्सी मात्रै होइन सबै हुन्छ ।
यसलाई यसरी पनि बुझ्न सकिन्छ– भूत नै भगवान् हुन् ।

भगवान् नै भूत हुन् । के कथित शास्त्रले भनेको भूत र भगवान्मा विश्वास गर्नु, बोक्सीमा विश्वास गर्नु अन्धविस्वास मात्रै हो त ? माथि उल्लेखित तमाम देशका मानव जातिहरू अन्धविस्वासी मात्रै हुन् त ? यिनै शास्त्रका, आगम र निगमका प्रणेता पनि उनै भूतनाथ शिवजी हुन् । फेरि धामी झाँक्री वा पूजापाठ हामी आफ्नो फाइदाको लागि नै त चलाउँछौ हैन र ? अथवा, भनौं धामी झाँक्रीमा खर्च गर्छौंँ । खरिद गर्छौंँ । ठ्याक्कै जस्तो कि हामी औषधि उपचारमा, हस्पिटलमा, डाक्टरमा खर्च गर्छौंँ ।

मानव शरीरको बनौटभित्र अरू पनि तीन गुण हाबी भएको हुन्छ, जसको सक्रियताले मनलाई अनियन्त्रित गराउँछ । सत्व, रज र तम यी तीन  गुणलाई विज्ञानले छुट्टाछुट्टै गर्नु पनि नसकेकै हो । तर शास्त्रमा सत्व भनेको सरस्वती, रज भनेको लक्ष्मी र तम भन्नाले काली । यी तीन प्रमुख देवी अथवा भूतनी प्रधान गुण मानेको छ । अर्थात् यो तत्व मानव शरीरमै हुन्छ ।

र यहाँनिर यही मनोविज्ञानको फाइदा लुट्न, व्यापार गर्न वा स्वार्थ परिपूर्ति गर्न अनेकन कथित धार्मिक धामी झाँक्री, माता र बाबाजीहरूको जन्म वा अवतार हुन्छ नै । अनि अनेक अधार्मिक क्रियाकलापहरू, अवान्छित क्रियाकलापहरू घटित हुन्छ । यो स्वभाविक नियम हो । यहाँनिर एकथरिको मनोविज्ञानले अर्कोथरिको मनोविज्ञानमा र उनीहरूको चेतनामा कालो दाग देखाउने कार्य मात्रै भएको छ ।

खासमा विज्ञानको नाम लिएर वर्तमानमा विकसित हुँदै गरेको एलोप्याथी चिकित्साले वा यसमा विश्वस्त भएर पूर्णतया आँखा चिम्लिने वर्गहरूले । भलै, उनीहरूले घरमा पूजापाठ , रुद्रि, भक्ति, स्वस्थानी गरिरहन्छन् । विरोध गर्न छाड्दैनन् । परम्परागत चिकित्सा वा आयुर्वेद र यसका पनि हर्ताकर्ताद्वय अस्वीणी कुमारहरूको पनि ईश्वर उही महायोगी शिव नै हो जो भूतहरूको पनि ईश्वर हो भनिएको छ । तिनै आयुर्वेद जस्ता ग्रन्थमा उल्लेखित जडिबुटीबाटै अहिलेको चिकित्सा पद्धतिमा पनि उपचार एउटा सेवामूलक व्यावसाय हो । यसमा पनि व्यावसायको नाममा नक्कली डाक्टरहरू प्रशस्त देखिने सुनिने गरेकै हो । देब्रे घुँडा अप्रेसन गर्नु पर्नेमा दाहिने अप्रेसन गर्ने र त्यो पनि अप्रेसन सफल भयो भनिदिने सक्कली डाक्टर नै पनि देखियो ।

यतिसम्म कि पूराको पूरा स्वीकृति नलिई नक्कली हस्पिटल पनि यही मध्य काठमाडौंमै देखियो जो अपार्टमेन्टको लागि बनेको थियो । तसर्थ, कुनै कैलाली जस्तो दुर्गममा धामी झाँक्री देखिन्छन् । कर्तुत मच्चाउँछन् । त्यो सामान्य हो । मानव हाडछाला मासुले बनेको भए पनि यहाँ यसलाई सञ्चालन गर्ने मन हुन्छ जुन आजको एक्काइसौं शताब्दीको विज्ञानले छैन वा हुँदैन नै भन्छ । के त्यसो भए मन हुँदैन भनेर मान्नु सकिन्छ त ? हुन्छ भने त्यो कहाँ, कसरी र केले बनेको हुन्छ ? प्रश्न अनेक निस्कन्छ । उत्तर कपोकल्पित वा शास्त्रीय मान्यता बाहेकको दिन सकिन्न । र विज्ञानले पनि सकेको छैन । पञ्चतत्वले शरीर वा पूरा ब्रम्हाण्ड बनेको छ यो विज्ञानले मान्छ ।

तर पन्च तत्वको गुण र बनौट जस्तो कि पानीको बनौट ज्द्दय मात्रै भन्छ विज्ञानले । तर अध्यात्ममा पानी नै सृष्टिको कारक, जिवनको कारक, नरको ध्यानबाट उत्पति भएको, पवित्र, भाव ग्रहणशिलता र चित्तमा सुविचार र कुविचार उत्पन्न गराउन सक्ने तत्व लगायत मानिएको छ । मानव शरीरको बनौटभित्र अरू पनि तीन गुण हावी भएको हुन्छ जसको सक्रियताले मनलाई अनियन्त्रित गराउँछ । सत्व, रज र तम यी तीन गुणलाई विज्ञानले छुट्टाछुट्टै गर्नु पनि नसकेकै हो । तर शास्त्रमा सत्व भनेको सरस्वती , रज भनेको लक्ष्मी र तम भन्नाले काली । यी तीन प्रमुख देवी अथवा भूतनी प्रधान गुण मानेको छ ।

अर्थात, यो तत्व मानव शरीरमै हुन्छ । अनि यो त निश्चितरूपमा हो कि जे मानव शरीरमा हुन्छ त्यो यही ब्रम्हाण्डमा व्याप्त हुन्छ । त्यस बाहेक अन्यत्रबाट त आउने ठाँउ छैन । जे जे ब्रम्हाण्डमा छ त्यही त्यही नै मानव शरीरमा छ । अर्थात् ब्रम्हाण्डमा भूत छ भने, बोक्सी छ भने अथवा यसरी भनौँ भगवान छ भने वा देवी देवता छ भने त्यो मानिसको शरीरमा अवश्य छ । कि त कहीँ छैन ।

शरीर नै ब्रम्हाण्ड हो । सनातन साहित्यमा यो पनि भनिएको छ । मन्त्र मार्ग, योग मार्गमा शरीरको विभिन्न भागमा ती कथित देविदेवताको बासस्थान नै देखाइएको छ । शरीरभित्र अवस्थित चन्द्र सूर्य र यिनीहरूको सुषुप्तता बताइएको छ । कुण्डलिनी भनेर नाडी विज्ञान नै बताइएको छ तथा प्रमुख नदीहरूको नाम नै नाडीको नाम बताइएको छ । शास्त्र आफैंमा एउटा आश्चर्यलाग्दो विज्ञान हो यो तथ्यको अवहेलना गरेर आँखालाई केवल दृष्टि प्रदायकमा मात्रै रनभुल्ल पार्नु र त्यसको मात्रै बखान गर्नु कुनै बौद्धिक कार्य होइन ।

समग्रमा यो लेखको उद्देश्य बोक्सी प्रमाणित गर्नु होइन । न भगवान नै प्रमाणित गर्नु हो । तर मानवभित्रको सम्भावनालाई, गुण र दुर्गुणलाई व्याख्या गर्नु हो, नामांकित गर्नु हो । मानवीय स्वार्थमा चलमलाउने भनौं जागृत हुने यी भूत तत्वहरू सबैमा हुन्छन् । मात्रै उनीहरू कुन स्वार्थमा वशिभूत छन् त्यो थाहा होस् भन्ने हो । आँखा खुल्लै राख्नु भन्ने हो, जिज्ञासा जगाइराख्नु भन्नु हो । तर्क गरिराख्नु भन्नु हो । यहाँ एक झिमिक आँखालाई निमेष भनिन्छ । संसारमा निमेषभरमै ठूला ठूला घट्ना घटिरहेको हुन्छ ।

हामी भने धामी झाँँक्री र बोक्सीमै अल्मलिरहेको हुन्छौं । अथवा, फेरि यसलाई यसरी भन्छु हामी पूजापाठ र देवी देवताको भजनमा आँखा बन्द गरिरहेका हुन्छौं । अतः हामीले हाम्रो समाजको , जातजातिको रितिरिवाजको बनौट हेरेर चेतनाको मध्यबिन्दुबाट आँखा खोलेर हिँडी अघि बढे भूतप्रेतको नाममा कुनै धामी झाँक्रीले वा देवी देवता वा स्वर्ग नर्कको नाममा कुनै पण्डितले अवान्छित गतिविधि र मनोमानी गर्न पाउने थिएन । (लेखक तर्कदर्शनका प्रणेता हुनुहुन्छ)

प्रकाशित मिति: May 26, 2018

प्रतिक्रिया दिनुहोस्