Logo
२४ बैशाख २०८१, सोमबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्रो राष्ट्रिय पत्रकारिता दिवस मनाईंदै, पाँच पत्रकार सम्मानित हुने

काठमाडौं : समृद्धि र सुशासनका लागि आमसञ्चारको अभियान भन्ने नारासहित सोमबार विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय पत्रकारिता दिवस मनाईंदैछ । नेपालको पहिलो पत्रिका गोरखा पत्रको प्रकाशन सुरु भएको दिनलाई नै राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउन सुरु गरिएको हो ।

तीन वर्षअघि सरकारले मान्यता दिएसँगै यो दिवस मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गते गोरखा पत्रको प्रकाशन सुरु भएको थियो । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तेस्रो राष्ट्रिय पत्रकारिता दिवस– २०७५ का अवसरमा सम्पूर्ण प्रेसजगत्, आमसञ्चारकर्मी तथा आमसञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा हार्दिक बधाई तथा शुभकामना व्यक्त व्यक्त गरेका छन् ।

सन्देशमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकारप्राप्तिको आन्दोलनमा प्रेस जगतले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेका छन् । उनले प्रेस जगत्ले सत्य र विश्वसनीय सूचना प्रवाहद्वारा राष्ट्रिय मुद्दामा सकारात्मक जनमत निर्माण गरी मुलुकको आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताउँदै यस अवसरमा जिम्मेवार र मर्यादित पत्रकारितामार्फत मुलुक र जनताको हितमा सरकारलाई सही दिशामा अघि बढ्न निरन्तर सुझाव र सहयोग प्रदान गर्न प्रेस जगत्लाई आह्वान पनि गरेका छन् ।

यसैबिच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राष्ट्रिय पत्रकारिता दिवस–२०७५’ को अवसरमा पाँच पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्दैछ । मन्त्रालयले यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट र डा. राजेश अहिराजलाई प्रदान गर्ने भएको छ ।

त्यसैगरी ‘वरिष्ठ पत्रकार सम्मान’ बाट सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेत, पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई सम्मान गरिने भएको छ । पुरस्कार पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा सोमबार आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने तय भएको छ ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्