Logo
२ श्रावण २०८१, बुधबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्ध जन्मभूमि भएर पनि नेपालले उठाउन सकेन लाभ

काठमाडौं : नेपालले गौतम बुद्ध जन्मभूमि भएको तथ्यबाट पर्याप्त लाभ उठाउन नसकिरहेको गुनासो धेरैले गरेको पाइन्छ । नेपालले बौद्ध शिक्षा, पर्यटन, बौद्ध सामग्रीलगायतको व्यवसायबाट आफूलाई समृद्घिको बाटोमा अगाडि बढाउन सक्नु पर्ने हो । नेपालले बुद्धलाई मार्केटिङ गर्न नसकेको ओशो तपोवन इण्टरनेशनल कम्युनका संस्थापक स्वामी आनन्द अरुण बताउँछन् । बौद्ध धर्म र दर्शनसँग सम्बन्धित शिक्षा, पर्यटन, व्यापार तथा व्यवस्थापनका माध्यमले देशको आर्थिक मात्र नभएर समग्र समुन्नतिमा निकै उपलब्धी हासिल गर्न सकिन्छ । पर्यटन र बौद्ध धार्मिक सामग्रीको व्यवसाय यसमा सजिलै देखिने उदाहरण हुन् । सामान्य प्रशासन, सुरक्षा व्यवस्था र व्यवसायिक व्यवस्थापनमा बौद्ध सिद्धान्तहरू अनुशरण गर्न सकियो भने त्यसबाट कैयौं गुणा थप लाभ पाउन सकिन्छ ।

बौद्ध सामग्रीको व्यवसाय बढ्यो

केही वर्षदेखि नेपालमा बुद्धसँग जोडिएका वस्तुहरू (थाङ्का, मूर्ति, तिब्बती सिङ्गिङ बाउललगायत)को व्यवसाय बढेको छ । नेपाली मौलिक शैलीका बुद्ध मूर्तिको उत्पादन तथा विक्री बढिरहेको सम्बन्धित व्यवसायी बताउँछन् । घरमा सजाउने प्रयोजनका लागि भने चीनबाट आयातित मूर्ति पनि विक्री हुने गरेको छ । यसले समग्र मूर्ति व्यवसायमा केही असर गरे पनि हातले बनाइएका, नेपाली मौलिक कला भएका मूर्तिको माग तथा निर्यात भने बढिरहेको व्यवसायीको भनाइ छ ।

त्यस्तै, थाङ्का व्यवसायमा अधिकांश बौद्ध धर्मावलम्बीको संलग्नता छ । २ वर्षयता थाङ्काको व्यवसाय ३० प्रतिशत बढेको व्यवसायीहरू बताउँछन् । थाङ्का कलात्मक उत्पादनको व्यवसाय हो । नेपाली थाङ्काका मुख्य ग्राहक विदेशी पर्यटक नै हुने गरेका छन् । हाल स्किल, पेपर, तिब्बती, तेल पेण्टिङलगायत विभिन्न प्रकारका थाङ्का नेपालमा उत्पादन हुने गरेको छ । हातैले बनाइने भएकाले थाङ्काप्रति विदेशीको आकर्षण बढेको हो । थाङ्काको उत्पादन तुलनात्मक रूपमा नेपाल र तिब्बतमा बढी हुन्छ ।

थाङ्कालाई विभिन्न अवसरमा उपहार दिन पनि प्रयोग गरिन्छ । त्यसैले, नेपाल आउने पर्यटकले मात्र नभई विदेश जान लागेका नेपालीले समेत थाङ्का खरीद गर्ने प्रचलन बढ्दै गएको छ । अहिले सबैभन्दा बढी स्पेन, अमेरिका, इटाली, फ्रान्स, नेदरल्याण्ड, सिङ्गापुर, बेलायत, मलेशिया, ताइवान, भारतलगायत मुलुकबाट ठूलो परिमाणमा थाङ्काको माग हुने गरेको छ ।

नेपालमा उत्पादन हुने थाङ्कामा पञ्चबुद्ध, मञ्जुश्री, शाक्यमुनि, हरिततारा, कालचक्र, मण्डला, गणेश, कुमार, शिव–पार्वतीको लगायत चित्र अङ्कित गरिएको हुन्छ । तिब्बती शैली र धार्मिक परम्पराका चित्र पनि नेपाली बजारमा उपलब्ध थाङ्कामा भेट्न सकिन्छ । नेपाली बजारमा विशेषगरी तामाङ, शेर्पा र अन्य बौद्ध धर्मावलम्बी कलाकारले कोरेका थाङ्काको बाहुल्य छ । पछिल्ला वर्षमा घर सजाउनेदेखि धार्मिक कार्यका लागि थाङ्काको प्रयोग बढेको छ ।

बौद्ध शिक्षा

अभियानमा लेखिएको छ, नेपालमा बौद्ध शिक्षा परम्परागत र सामान्य गरी दुई तरीकाबाट सञ्चालनमा छ । परम्परागत प्रणालीअन्तर्गत बौद्ध विहारले दिने शिक्षा पर्दछ । यसमा पनि विद्यालयका रूपमा सञ्चालित औपचारिक शिक्षा एक हो । यस्ता विद्यालयले बौद्ध दर्शनका साथै समयसापेक्ष शिक्षा पनि प्रदान गर्दछन् । त्यस्तै, अर्कोतर्फ विहारहरूले विभिन्न समयमा केही दिन, हप्ता तथा महीनाका विशेष शिक्षाका कार्यक्रम (शिविर)समेत सञ्चालन गर्दछन् । यस्ता शिविरमा देश–विदेशका बौद्ध धर्मावलम्बीका साथै जिज्ञासुहरूको समेत उल्लेख्य सहभागिता रहन्छ ।

त्यसैगरी सामान्य शिक्षाअन्तर्गत विद्यालय, विश्वविद्यालयले दिइरहेका शिक्षा पर्दछ । यस्ता शिक्षामा बौद्ध इतिहास, बुद्ध धर्म तथा दर्शन, बौद्ध कला, साहित्य, वास्तुकला, प्रतिमा विज्ञान, सङ्ग्रहालय विज्ञान, पुरातत्त्व विज्ञान, मण्डला, बौद्ध सम्पदा, बौद्ध परम्पराजस्ता विषय पढाइन्छन् । बौद्ध शिक्षाकै लागि २०६१ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको छ । त्यसभन्दा ३ वर्ष अघिदेखि नै त्रिभुवन विश्वविद्यालयले केन्द्रीय विभागमार्फत बौद्ध शिक्षा दिइरहेको छ । काठमाडौं विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा पनि अलग्गै विभागमार्फत यो विषयको अध्ययन–अध्यापन हुँदै आएको छ ।

यहाँका विश्वविद्यालयमा नेपालका मात्रै नभई अन्य देशका विद्यार्थी समेत पढ्ने गरेको त्रिभुवन विश्वविद्यालय, बौद्ध अध्ययन विभागका वसन्त महर्जनले बताए । ‘बुद्ध र बुद्ध धर्मप्रतिको उत्सुकताका संसारभर नै छ,’ उनले भने, ‘विश्वविद्यालयमै पढ्न आउनेमा भने भुटानका विद्यार्थी बढी छन् ।’

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्