Logo
२४ बैशाख २०८१, सोमबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनालग टेलिभिजन सेवा काठमाडौंमा पूर्ण रुपमा बन्द, असारभित्र देशभर बन्द गरिने

काठमाडौं : सरकारले अब आगामी असारसम्म देशभरका सबै एनालग टेलिभिजन बन्द गर्ने भएको छ । यता, काठमाडौंमा भने पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गरिएको छ ।  टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएको हो ।

सर्वोच्च अदालतले पनि एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन नगर्न भन्दै परेको रिट खारेज गरेर बाटो खोलिदिएपछि सूचना तथा सञ्चार मन्त्रालयले यस्तो योजना बनाएको हो ।

सरकारले गत कात्तिक १५ गतेपछि एनालग प्रविधिमा चलिरहेका नगरहरुका केबल टेलिभिजन बन्द गर्न समयसीमा दिएको थियो । यस्तै अघिल्लो वर्षको वैशाख १५पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा एनागल केबल टेलिभिजन बन्द गर्ने निर्णय भएको थियो ।

आगामी बैशाख १५ सम्म सबै टेलिभिजन सेवा प्रदायकले डिजिटाइजेशनमा जान अनुमति लिइसक्नुपर्ने मन्त्रालयका प्रवक्ता प्रवक्ता रामचन्द्र ढकालले बताए । काठमाडौंमा यसको कडाइका साथ कार्यान्वयन गरिए पनि अन्य नगर र महानगरपालिकामा सरकारले एनालग बन्द गर्न बाध्य पारेको छैन । तर, अब असारसम्म पनि एनालग टेलिभिजन सेवा दिनेहरुको लाइन अफ गर्ने योजना सरकारको छ ।

उनकाअनुसार असारसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रुपान्तरण गर्नैपर्नेछ । अहिले टेलिभिजनको डिजिटाइजेसनको काम धमाधम भइरहेको ढकाल बताउँछन् । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको तर्क सरकारको छ । तर, खर्च बढाएको भन्दै अधिकांश उपभोक्ता नै सन्तुष्ट छैनन् ।

यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि १५ सयदेखि ४५सयसम्म मूल्यका छुट्टै सेट(टप बक्स लगाउनुपर्छ । तर, प्रत्येक सेट–टप बक्सको सेवा शुल्क फरक–फरक रुपमा भुक्तानी गर्नुपर्छ । यो सेट–टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिन्छ ।

यसका लागि केबल टीभी अपरेटरले भने आफ्नो हेड–इन (कन्ट्रोल रुम) मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ ।यो प्रणालीअनुसार ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट–टप बक्स जोड्नुपर्छ । अब हरेक टेलिभिजनमा सेट–टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुटटै शुल्क तिनुपर्छ ।

महंगो परेपनि ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवा भने पाउने भनाइ सरकारको छ । टेलिभिजन डिजिटलाइज्ड गर्न स्याटलाइट प्रविधिमा आधारित डीटीएच पनि प्रयोग गर्न सकिन्छ । अहिले नेपालमा डिसहोम र नेपाल डिजिटल केबलले यो सेवा दिइरहेका छन् ।

यस्तै इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटिभी) का माध्यमबाट पनि डिजिटल टेलिभिजन हेर्न सकिने छ । यो इन्टरनेटमा आधारित टेलिभिजन सेवा हो । ओरियन्ट डिजिटल, एनआईटीभी स्ट्रिम, सुबिसु केबल नेट र ब्रोडलिंक टीभीले यस्तो सेवा दिँदैछन् ।

डिजिटल टेरेस्टोरियल टेलिभिजन (डीटीटी) प्रविधिमा पनि डिजिटल टेलिभिजन हेर्न सकिन्छ । एन्टेना प्रविधिबाट टीभी हेर्ने डिजिटल रुपको यो सेवाका लागि अनुमति लिए पनि नेपालमा सुरुवात हुन भने बाँकी छ ।

इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू)ले निर्धारण गरे बमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको प्रवक्ता ढकाल बताउँछन् । यसले परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउने दावी सरकारको छ ।

राष्ट्रिय प्रसारण नियमावली २०५२ मा संशोधन गरेर तोकिएका क्षेत्रहरुमा एनालग सिग्नल पूर्णरुपमा प्रतिबन्धित र गैरकानुनी हुने ब्यवस्था गरेको छ । पूर्णरुपमा डिजिटाइजेशन सकिएपछि केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउनेछन् । यसैका माध्यमबाट सरकारको राजश्वमा पनि भारी वृद्धि हुने अपेक्षा छ ।

अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ । भारतीय डीटीएचबाट गैरकानुनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको ब्यवस्था प्रभावकारी हुनेछ । अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत ग्राहक ठग्ने र राज्यलाई कुनै राजश्व योगदान नगर्नेहरु नियममा बाध्यकारी रुपमा आउने प्रवक्ता ढकालले बताए ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्