Logo
२४ बैशाख २०८१, सोमबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वृद्धवृद्धालाई घरमै सामाजिक सुरक्षाभत्ता

पर्वत : पर्वतको कुस्मा नगरपालिका– ७ ले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता वडामा नै वितरण गरेको छ ।

बैंकमा पुगेर रकम झिक्न वृद्धहरुलाई असहज भएपछि बैंकका कर्मचारीलाई गाउँमै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

कुस्मा नगरपालिका–७ ले शुक्रबार तीन सय ७६ वृद्धवृद्धा, एकल महिलालाई वडा कार्यालयमा नै रु २० लाख भन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सदरमुकाम कुस्मामा रहेको बैंकमा पुगेर रकम लिन बुढाबुढीलाई कठिन हुने भएकाले गाउँमा नै बोलाएर रकम वितरण गरिएको वडा अध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए।

कुस्मामा रहेको गण्डकी विकास बैंकको शाखा कार्यालयमा वृद्धवृद्धा र एकल महिलाको बैंक खाता खोलिएको छ । सबैको रकम बैंकमा जम्मा भएपछि गाउँमा चेक संकलन गरेर भुक्तानी दिइँदै आएको छ, भने कुस्मा र पोखरालगायतका शहरमा बस्नेले भने बैंकबाट नै रकम लिँदै आएका छन् ।

जनप्रतिनिधि आएपछि गाउँमा नै सेवा दिने उद्देश्यले अनुरोध गरेपछि गाउँमै पुगेर भत्ता वितरण गरिएको बैंकका शाखा प्रबन्धक केशव आचार्यले बताउनुभयो । कुस्मा नगरपालिका–७ मा मात्रै चार सय ५० जना भन्दा बढी बैंक खातामा जम्मा भएको सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम झर्नुपर्ने भएपछि पर्वतमा जनप्रतिनिधिले घरघरमै वितरण गर्न थालेका छन् ।
सामाजिक सुरक्षाभत्ता लिन वृद्ध सदरमुमकाम झर्नुपर्ने बाध्यता हटाउन र जनप्रतिनिधि आएपछि जन उत्तरदायी बन्न पनि बैंकलाई गाउँमै बोलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अभियान नै चल्न थालेको छ । कुस्मा नगरपालिकाका–ं १४ ले पनि यसअघि सामाजिक सुरक्षाभत्ता गाउँमै वितरण गरेको थियो, भने पर्वतको फलेवास नगरपालिका, महाशिला गाउँपालिकाका सबै वडामा नै घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण हुँदैआएको छ ।

यसैबीच कुस्मा नगरपालिका–३ ले ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई सम्मान गरेको छ । वडा कार्यालयले ८० वर्ष काटेका ८० जना वृद्धवद्धालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सो कार्यक्रममा गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेकामा गण्डकी विकास बैंकका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । (रासस)

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्