Logo
६ जेष्ठ २०८१, आईतबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर २ लाई ‘माछा जोन’को रुपमा विस्तार गरिने : मन्त्री साह

प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषिसहकारी तथा गरीबी निवारण मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नम्बर २ लाई माछा जोनको रुपमा विस्तार गर्ने लक्ष्य प्रदेश सरकारले लिएको बताउनुभएको छ ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नाराका साथ जिल्ला सहकारी संघ सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको ६१औं सहकारी दिवसमा बोल्दै मन्त्री साहले कृषिको प्रचुर सम्भावना बोकेको प्रदेशको ८ वटै जिल्लालाई छुट्टाछुट्टै आठ जोनको रुपमा विकसीत गर्नुको साथै समग्र प्रदेशलाई माछा जोनको रुपमा विकसित गर्ने लक्ष्य सरकारले लिएकोमा जोड दिनुभयो ।

प्रदेश सरकारले सार्वजनिक गरेको एक सय दिने नीति तथा कार्यक्रममा समेत कृषिबाट प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको भन्दै मन्त्री साहले सहकारी खेती र करार खेतीको विकास गर्ने तयारी सरकारले गरीरहेको जानकारी दिनुभयो ।गत वर्ष मात्र प्रदेशमा रु। ३ अर्वको माछा आयात भएको जानकारी दिँदै मन्त्री साहले यत्रो ठूलो पूँजी बाहिर जानदिनुको साटो माछापालनमा जोड दिँदै मन्त्री साहले माछा पालनलाई विशेष प्राथमिकतामा राखि काठमाडौंसहित देशको अन्य भागमा समेत निर्यात गरेर आर्थिक स्रोत जुटाउने गृहकार्य सरकारले गरिरहेको बताउनुभयो ।

प्रदेश नम्बर २ लाई गरिब र पच्छिडएिको प्रदेशको मानसिकताबाट समेत मुक्त पार्न सरकारले कृषिलाई विशेष प्राथमिकता दिएको बताउदै मन्त्री साहले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छिट्टै सरकारले सहकारी मैत्री ऐन बनाईने आश्वासन समेत दिनुभयो ।

विगत ६० वर्षको अवधिमा सहकारी क्षेत्रले समाजको विभिन्न क्षेत्रमा पु¥याएको योगदानको समीक्षा हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।सोही कार्यक्रममा बोल्दै नेकपा एमाले सप्तरीका जिल्ला अध्यक्ष समेत रहनुभएको प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले गाउँमा छरिएर रहेका पैसालाई एकत्रितगरी सहकारी संस्थाहरुले उद्योग र उत्पादनको क्षेत्रमा उक्त पैसाको लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीबाटै आफूले सामाजिक जीवन सुरु गरी राजनीतिमा प्रवेश गरेको भन्दै न्यौपानेले राजनीतिबाट विश्राम लिएपछि पुनः सोही क्षेत्रमा सक्रिय उदघोष गर्नुभयो ।नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य समेत रहनुभएका प्रदेश सभा सदस्य रुवी कर्णले समाजको बिकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै सहकारी क्षेत्रको बिकासका लागी आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । राष्ट्र बिकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको माध्यमबाट समाजबाद स्थापित गर्न सकिनेमा समेत उहाले जोड दिनुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष विनोद दत्तले संघले ५ वर्ष अगाडी राजविराजमा शीतभण्डार स्थापना गर्ने निर्णय गरे पनि आर्थिक वर्ष २०७४र०७५ को वार्षिक बजेटमा शीत भण्डारको निर्माण परेपनि २० प्रतिशत रकम सहकारीबाटै लगानी गर्नुपर्ने भएकाले प्रदेश तथा स्थानीय सरकारलाई उक्त रकम उपलब्ध गराईदिन आग्रह गर्नुभयो ।

विस २०१३ चैत २० गते चितौनको बखानपुर गाउँबाट नेपाली काँग्रेसका तत्कालीन नेता बखान सिंह गुरुङ्गको सक्रियतामा स्थापित सहकारी संस्था देशकै पहिलो सहकारी संस्थाको रुपमा रहेको छ र सोही दिनलाई सहकारी क्षेत्रसँग आवद्ध संघ संस्थाहरुले सहकारी दिवसको रुपमा मनाउँदै आएका छ ।सप्तरीमा १ लाख १० हजार जना सहकारी विभिन्न सहकारी संस्थाहरुको शेयर सदस्यहरु रहेका छन् ।

सो कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, सप्तरी प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, त्रियुगा सहकारी संस्थाका शम्भु खडका लगायतका वक्ताहरुले सहकारीको विकास विना देशको विकास नहुनेमा जोड दिए ।उक्त कार्यक्रममा मन्त्री साहसहित सहकारी आवद्ध प्रदेश सभा सदस्यद्वय न्यौपाने र कर्ण, स्थानीय निकायका प्रमुख उप प्रमुखलाई सम्मान समेत गरीएको थियो ।

सहकारी दिवसमा सहभागी भएका प्रदेश सरकारक कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह समक्ष सहभागीहरुले राखेको माग आफ्नो मन्तव्यको क्रममा सम्बोधन गर्न विर्सेपछि मन्त्री साहले कार्यक्रमको समापन पछि आयोजकसँग माईक मागेर उक्त मागहरुको सम्बोधन गर्न पुगे ।

कार्यक्रमका अधिकांश सहभागी वक्ताहरुले जिल्ला कृषि विकास कार्यालय सप्तरीको सिफारीसमा विउविजन कम्पनी इटहरीबाट ल्याएको गहँुको विउ नउम्रेको गुनासो पोख्दै उचित क्षतिपूर्तिको माग समेत गरेका थिए ।उक्त विउका कारण जिल्लाको पूर्वी र उत्तरी क्षेत्रका साविकको २९ गाविस मारमा परेको उनीहरुले गुनासो पाखे ।

त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर खडकाले भने कहि विउ नै उम्रेन कही विउ उम्रेपनि बोटमा दाना लागेन। कृषि कार्यालयमा उजुरी गर्दा कार्यालयले आएर निरीक्षण गरीयो तर क्षति पूर्ति आफ्नो बलबुताको विष नभएको भनी पन्छीदै आएको आरोप उहाँले लगाए ।महुली आदर्श दुद्य सहकारी संस्थाका प्रदिप भट्टराईले दुग्ध संस्थाहरुका लागि गाई वस्तुको सिमेन र घासको विउमा समेत समस्या रहेको भनी मन्त्रीको ध्यानाकर्षण गराए ।

कार्यक्रमको समापन पछि एक सञ्चारकर्मीले मन्त्री साहलाई उक्त विषयहरुको सम्बोधन आफ्नो मन्तव्यमा किन नगरेको भनी प्रश्न गरेपछि मन्त्री साहले भने मलाई यी कुराहरु याद नै रहेन । पछि आयोजकसँग माईक मागेर मन्त्री साहले गहुँको विउ नउम्रेको पीडितहरुको समस्याको छानविन गरी उचित क्षतिपूर्ति दिलाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्