Logo
१८ बैशाख २०८१, मंगलबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

DJ को ध्वनि प्रदुषण विरुद्ध बोल्ने बेला आएन र !

ध्रुबकुमार झा

एक साता पनि भएको छैन । काम विशेषले महोत्तरी जिल्लाको साबिकको बथनाहा गाविस १ हाल मनरा शिस्वा नगरपालिका वडा नम्बर ९ स्थित गाउँ पुगेको थिएँ । साँझ पर्ने बित्तिक्कै प्रायः शान्त वातावरणमा मग्न हुने मेरो गाउँमा दिक्क लाग्ने खाले कोलाहल थियो । आपसमा कुरा समेत गर्न नसकिने गरि ध्वनि प्रदुषणको शिकार जो बनेको थियो मेरो गाउँ ।

लगन गाँठोको बेला गाउँ घरमा रमाईलो गर्नु स्वभाविक भएपनि सम्पुर्ण गाउँ नै हल्लिने गरि डीजे साउण्डको प्रयोग गर्नु पक्कै पनि अनुचित हो । डीजेको आतंक गाउँ गाउँमा मात्र नभई राजधानी जनकपुरधाममा पनि बढ्दै गएको छ । चाहे सरस्वती पुजाको बिर्सजन होस या दुर्गा पुजा या अन्य उत्सव महोत्सवहरु । गाउँ जानु पुर्वको जनकपुरधामको दुई दिने बसाईको क्रममा लाउडस्पिकर र डीजेको चर्को स्वर नबजेको कुनै क्षण छैन ।

एउटै टोलमा लगातार रुपमा चर्को आवाजमा घन्किरहेको डीजेको साउण्डले राति शान्तिपुर्वक सुतियो भन्नु झुठो होला । यो मेरो समस्या मात्र नभई सम्पुर्ण टोलवासीकै थियो तर कसैले केही बोल्दैनन भने म त दुई दिनको निम्ति यहाँ आएको छुँ मलाई के मतलब ? भन्दै आप्mनो मुख बन्द राख्नुको कुनै उत्तम विकल्प भेटिन । भोली पल्ट अचानक मित्र राष्ट्र भारतको उत्तर प्रदेशको प्रख्यात धार्मिक नगरी बनारस पुग्ने अवसर जुटेको थियो ।

सयौं दर्शनार्थीहरुको भीडले भरिभराउ रहने काशिविश्वनाथको नगरी बनारसमा अनावश्यक कोलाहल देखिएन । लाउडस्पिकरहरुको प्रयोगमा पुर्ण प्रतिबन्ध लागेको अनुभूति गरियो । केही दिन पुर्व मात्रै युपीका मुख्यमन्त्री योगी आदित्यनाथको अगुवाईमा चलाईएको ध्वनि प्रदुषण अभियानले सफलता पाएको अनुभुति हुनु स्वभाविक थियो । एक दिने बनारस बसाईको क्रममा जनकपुरधाम र ध्वनि प्रदुषण ग्रसित नगरीको स्मरण आईरह्यो । मन दुखित बनिरहयो ।

सामान्यतया मानव शरिरको निम्ति ६० डिसिवल सम्मको ध्वनि सहजै पच्य हुन्छ भने सो ७० डिसिवल भन्दा बढी ध्वनि घातक हुने गरेको चिक्त्सिकहरुको भनाई छ । भारत लगायतका कतिपय मुलुकमा उद्योग धन्दा कलकारखानाको ध्वनि प्रदुषणलाइ ७५ डिसिवल सम्म मात्र राख्न पाउने कानुन समेत बनाएको छ । सतही रुपमा देख्दा ध्वनिले के नै गर्छ होला भन्ने आमधारणा रहेपनि ध्वनि प्रदुषणले गर्दा मानवमा तनाव ,अनिन्द्रा ,अनावश्यक थकाई ,टाउको दुख्ने जस्ता रोगहरु लाग्ने गर्छ ।

के अझै पनि हामीले सोँच्ने बेला आएन र ! डीजे आतंकको अन्त्य गर्न पहल थाल्ने बेला आएन ? कुनै पनि प्रकारको ध्वनि प्रदुषण रोक्ने बेला आएन जस्ता थुप्रै यक्षप्रश्नहरु छन हामी सामू ।  छिमेकीले ठुलो स्वरमा साउण्ड बजाउँदा त विरोध हुने र कतिपय राष्ट्रमा कानुनन कारवाही समेत भएको सयौ उदाहरणहरु छन ।

जुन सुकै काम यदि त्यो सामाजको निम्ति घातक हुन्छ भने त्यसलाई जडो देखि नै उखालेर फाल्नु पर्छ भन्ने मेरो धारणा हो । त्यसैले डीजेमाथि पुर्ण प्रतिबन्ध लगाउनु पर्छ । जसको निम्ति समाजका अगुवाहरु ,विभिन्न दलका प्रतिनिधीहरु , स्थानीय सरकारका स्थायी प्रतिनिधीहरु लगायतका सबै पक्ष अगाडी बढनु पर्ने आजको घनिभूत आवश्यकता रहेको मेरो ठम्याई छ ।

तस्वीरः सौजन्य ,एमपीडील डटकम

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्