Logo
२४ बैशाख २०८१, सोमबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि साञ्जेन र रसुवागढीको आइपीओ विक्री खुला

काठमाडौं : सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रो पावर कम्पनीले शुक्रवारदेखि पहिलो चरणको आइपिओ विक्री खुला गर्दैछन् । यी दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने कर्मचारीका लागि मात्र आइपीओ विक्री गर्न लागेका हुन् । यी कर्मचारीका लागि साञ्जेनले ७१ लाख १७ हजार ५ सय कित्ता र रसुवागढीले १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर फागुन ३० गतेसम्म विक्री खुला गर्नेछन् ।

रसुवागढीको आइपीओमा २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ पुस २० गतेसम्म सञ्चयकर्ताको रुपमा रहेका कर्मचारीले न्यूनतम ५० देखि अधिकत ५ सय कित्तासम्म आवेदन दिन पाउने छन् । साञ्जेनको आइपीओमा २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ मङ्सिर २६ गतेसम्म सञ्चयकर्ताको रुपमा थपिएका कर्मचारीहरुले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

रसुवागढीको आइपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ भने सह विक्री प्रबन्धकहरुमा एनआइबीएल क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् । साञ्जेनको आइपीओ विक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानी कोषले पूरा गर्नेछ ।

सान्जेनले ८७ लाख ६० हजार कित्ता र रसुवागढीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर कर्मचारीहरुका लािग विक्री गर्न अनुमति पाएको हो । सोही अनुरुप दोस्रो चरणमा चैत ५ गतेदेखि १३ गतेसम्म कर्मचारी ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीहरुका लागि ३ लाख ६५ हजार कित्ता र संस्थापक शेयर धनि संस्थाका कर्मचारीहरुका लागि १२ लाख ७७ हजार ५ सय कित्ता साधारण शेयर जारी गर्नेछ । यसमा ऋणदाता संस्थाका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै, १ करोड ६४ लाख २१ हजार ४० कित्ता आइपीओ विक्री गर्न अनुुमति पाएको रसुवागढीले चैत ५ देखि १३ गतेसम्मकै लागि ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीहरुलाई ६ लाख ८४ हजार २ सय १० कित्ता र संस्थापक संगठित संस्थाका कर्मचारीहरुलाई २३ लाख ९४ हजार ७ सय ३५ कित्ता आइपीओ जारी गर्नेछ । यस आइपीओमा ऋणदाता संस्थाका कर्मचारीले न्यूनतम ५० देखि अधिकतम २५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

धितोपत्र सार्वजनिक निष्कासनमा शुक्रवारदेखिनै सि—आस्बा प्रणाली अनिवार्य भएसँगै यी दुवै कम्पनीले सि—आस्बा प्रणालीबाटै आवेदन संकलन गर्ने जानकारी दिएका छन् । यो प्रणालीमा अनलाइन मार्फत पनि आवेदन दिन सकिने व्यवस्था भए पनि साञ्जेन र रसुवागढीको आइपीओका लागि भने सि—आस्बा प्रणालीमा आवद्व हुन सीआरएन नम्बर प्राप्त गरेको बैङ्क तथा वित्तीय संस्था मार्फत नै आवेदन दिनुपर्ने व्यवस्था रहेको विक्री प्रबन्धकले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्