Logo
३० बैशाख २०८१, आईतबार
(April 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि स्वागत गर्ने देश हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश भएको बताएका छन् ।

आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताए ।

उनले भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’

लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए । सोही सन्दर्भमा हालै सरकारले कानून परिमार्जन गरेको उनले उल्लेख गरे ।

उनले मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो द्विपक्षीय लगानी सम्झौता (बीआईए) मा हस्ताक्षर गर्न समेत आह्वान गरे ।

नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको तीव्र रुपमा विस्तार भएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

विदेशी भाषा बोल्ने युवाको संख्या उल्लेख रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा मन पर्ने स्थानीय दक्ष श्रमशक्ति खोज्न समेत मद्दत पुग्ने उनले बताए ।

नेपालले पर्यटन, कृषि, उत्पादन, सूचना–प्रविधि, गार्मेन्ट, कृषि प्रशोधनन र पूर्वाधार र उच्च मूल्यका बाली उत्पादन लगायत विभिन्न अवसर उपलब्ध गराएको प्रधानमन्त्री प्रचण्डले बताए ।

नेपालमा जलविद्युतको प्रचुर सम्भावना भए पनि अहिले ३२ सय मेगावाट मात्रै उत्पादन भएको भन्दै उनले ५ हजार ५६८ मेगावाटका ठूला परियोजना सार्वजनिक–निजी–साझेदारीमा निर्माणको चरणमा रहेको बताए । यसले नेपालको जलविद्युत् क्षेत्रमा प्रचुर अवसर रहेको देखाउने उनको भनाइ छ ।

नेपालमा वैदेशिक लगानी गरेका कम्पनी नाफामुखी देखिएको भन्दै उनले ती कम्पनीले लाभाशं फिर्ता लगेको अवस्थाले समेत नेपालमा लाभदायक लगानीको वातावरण भएको बताए ।

लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजनाले देश र सम्भावित लगानीकर्ता दुवै पक्षलाई फाइदा पुग्ने उनको भनाइ थियो ।

आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य स्वदेशी र विदेशी दुवै निजी क्षेत्रसँगको सामूहिक साझेदारीमा सम्पन्न हुनेमा आफू आशावादी रहेको समेत उनले बताए ।

प्रकाशित मिति: Apr 28, 2024

प्रतिक्रिया दिनुहोस्