Logo
१८ बैशाख २०८१, मंगलबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सञ्जालमा कैयौं पुरुषको असामाजिक चरित्र

– अजवी पौड्याल

काठमाडौँ : सामाजिक सञ्जालको च्याट बक्समा कैयौं पुरुषले दिक्दार पारेको अनुभव हिजोआज धेरै महिलासँग छ ।सार्वजनिक छवि बनाएका पुरुष पनि फेसबुक, भाइबर वा अरू कुनै सामाजिक सञ्जालको च्याटमा सजिलै छेडखानीमा उत्रिहाल्छन्। पुरुषका अभद्र कुराकानी बेहोर्न धेरै महिला बाध्य छन् र सामाजिक सञ्जालले यस्ता क्रियाकलापका लागि सजिलो पारिदिएको छ।

एउटा निजी अनुभवबाट कुरा सुरु गरौं। छोरी बिरामी थिई। छोरीलाई कुर्दै अनलाइनका समाचारमा भुल्ने कोसिस थियो। एक्कासी एकजना ‘भद्रभलाद्मी’ले फेसबुकमा म्यासेज पठाए, ‘के छ, सेक्सी? यो मध्यरातमा के गर्दैछौ?’ बेला र परिस्थितिको पटक्कै ख्याल नगरी इतरिने ती पुरुष उच्चपदस्थ सरकारी कर्मचारी थिए। केही बेरपछि चिनेजानेका अर्का प्राध्यापकले प्रश्न तेर्साए, ‘श्रीमानको याद आएर हो कि के हो, निद परेन म्याडम?’ सवाल–जवाफमा अल्झिनुभन्दा म्यासेन्जर अफलाइन गर्नु ठिक लाग्यो।

तत्कालै एकजना स्वनामधन्य पत्रकारले सिधै भिडियो कल गरे। म्यासेन्जर अफ नगरी सुख्खै पाइएन।
च्याट बक्समा भेटिने सबै मित्रहरू दैनिक सम्पर्कमा हुँदैनन्। निजी जीवनका समस्या पनि सबैलाई थाहा हुने कुरा भएन। फेसबुक जस्ता सामाजिक सञ्जालले धेरै अन्जान वा टाढैबाट चिनेका मित्रहरूलाई सजिलै सम्पर्कमा ल्याइदिन्छ। यो त स्वाभाविक कुरा भयो र आधुनिक जीवनको एउटा नयाँ वास्तविकता पनि। तर फेसबुके साथीको मुड वा परिस्थिति जस्तो पनि हुनसक्छ भन्ने विवेक प्रयोग गर्नबाट ती पुरुष मित्रहरूलाई केले रोकेको होला? सामाजिक सञ्जालले मान्छेको विवेक नै खलबल्याइदिने गर्छ त? आखिर कुनै परिचित वा अपरिचित महिलाको निजी हालचालबारे कुनै पुरुषले किन चासो राख्नुपरेको होला? कुरा अघि बढाउने रुचि नदेखाउँदा पनि पुरुष किन आक्रामक ढंगले व्यक्तिगत कुरा सोधिरहन्छन्? अनेक अनुमान गरेर नानाथरी प्रश्न तेस्र्याउन के चिजले हौस्याउँछ, पुरुषहरूलाई?

सामाजिक सञ्जालहरू आधुनिक दिनचर्याको अभिन्न अंग बनेका छन्। इन्टरनेट अनिवार्य साधन भइसकेको हुनाले यस्ता सामाजिक सञ्जालले कुराकानीलाई सजिलो र सस्तो पनि बनाइदिएका छन्। संसारभर भएका घटनाको ताजा अपडेटमात्र होइन, टाढा रहेका आफन्तसँग तत्कालै भिडियोमा कुराकानी गर्न सकिन्छ। घरबाटै काम गरेर जीविकोपार्जन गर्न सकिन्छ। सजिलोसँगै अप्ठ्यारा र जीवनमा सरलता ल्याउने इन्टरनेटकै बाटोबाट भित्रिने जटिलता पनि छन्। सामाजिक सञ्जालको दुरुपयोगले अपराधको अलग संसार पनि रचिसकेको छ।

सामाजिक सञ्जालमा देखिने त समाजकै अनुहार हो। समाजमा मानिसहरूबीच जस्तो सम्बन्ध हुन्छ, सामाजिक सञ्जालमा पनि त्यही प्रकट हुन्छ। महिला र पुरुषबीच समाजमा जुन स्तरको विभेद छ, त्यही च्याट बक्समा पनि देखापर्छ। सामाजिक सञ्जालले अनौपचारिक ठाउँ उपलब्ध गराउने हुनाले कैयौं प्रसंगमा पुरुषले महिलालाई गर्ने व्यवहार त्यहाँ झनै आक्रामक र अश्लील हुने गर्छ। दैनिक जीवनका संस्कार, संस्कृति, चालचलन, रीतिरिवाज तथा सामाजिक र राजनीतिक तहमा जुन स्तरको पुरुषको दम्भ चल्छ, सामाजिक सञ्जालमा पनि त्यसैको अर्को रूप देखिन्छ। सामाजिक र पारिवारिक व्यवहारमा महिलालाई होच्याउन पुरुष सफल छ भने सामाजिक सञ्जालमा झन् ऊ ‘साँढे’ हुनु अस्वाभाविक होइन।

फेसबुकको च्याट बक्समा मान्छेले आफ्नो हैसियत बिर्सेका उदाहरण धेरै छन्। अक्सर च्याट बक्सलाई गोप्य ठानेर मान्छे उदांगो बन्न खोज्छन्। तर आखिर जतिसुकै व्यक्तिगत खाता खोल्न सकिने भए पनि हो त सामाजिक सञ्जाल नै। व्यक्तिगत कुण्ठा दुनियाँका अघिल्तिर पोखिरहँदा पनि सामाजिक सञ्जाललाई धेरैले व्यक्तिगत नै ठानिरहन्छन्। व्यक्तिगत भन्दा धेरै यस्ता सञ्चार साधनहरू सामाजिक नै हुन् र जतिसुकै गोप्य ठानिए पनि उदांगै हुन्। सामाजिक सञ्जालको यही संकटमा फँसेर धेरैले दुर्घटना निम्त्याएका पनि छन्। कतिपय कलाकार तथा विभिन्न क्षेत्रमा प्रसिद्धि कमाएकाहरू पनि त्यस्ता दुर्घटनाका सिकार भएका छन्। अनेक यौनकाण्ड वा गोप्य फोटो, भिडियो र च्याट डिटेल सार्वजनिक भएका घटना छन्। कैयौंको व्यक्तिगत र सामाजिक जीवन यस्ता घटनाले ध्वस्त पनि पारेका छन्।

त्यस्ता दुर्घटनाहरू केलाउँदा लगभग शतप्रतिशत पीडित वा आत्महत्याको सिकार हुने महिला नै छन्। फेसबुके प्रेम वा एकाएक सामाजिक सञ्जालबाट बनेको निकट सम्बन्धजस्ता घटनाबाट निस्कने नकारात्मक परिणामको भागिदार पनि महिला नै धेरै छन्। फेसबुक न हो भनेर सजिलै महिलालाई होच्याइहाल्ने वा जिस्केर बोल्ने वा यौनजन्य छेडखानी गर्ने कैयौं पुरुष पनि ‘ब्ल्याकमेलिङ’ वा ठगीमा नपरेका होइनन्। तर मुख्य प्रश्न हो : किन महिला नै सामाजिक सञ्जालबाट जन्मने दुर्घटनाको मुख्य निसानामा परिरहेका छन्?

यसको जवाफ पनि समाजमा महिलाको हैसियत के छ, त्यसैमा खोज्नुपर्छ। हाम्रो समाजमा पुरुष हेप्ने, जिस्क्याउने वा पेल्ने हैसियतमा छ भने महिला त्यो सबै चुपचाप स्वीकार्ने वा सहने हैसियतमा छ। त्यसो हुनासाथ सामाजिक सञ्जालमा पुरुषले महिलालाई सम्मानजनक व्यवहार कसरी गर्न सक्छ? अझ फेसबुक जस्तो मुखामुख देखापर्नु नपर्ने ठाउँमा त्यस्तो प्रवृत्ति पाल्ने पुरुषले आफूलाई खुला साँढेकै रूपमा लिइरहेको हुन्छ। अर्को महत्त्वपूर्ण कुरा सामाजिक सञ्जाल आफैमा कति सामाजिक छ भन्ने कुरा विचारयोग्य नै छ।

फेसबुक जस्ता सञ्जाल वास्तवमा समाज जत्तिको सामाजिक पनि हुँदैन। गालीगलौज, छेडखानी, गलत कुराको खुला प्रचार हेर्दा सामाजिक सञ्जालको असामाजिक चरित्र देख्न सकिन्छ। समाजमा जवाफदेहिता हुन्छ। हैसियत वा सामाजिक छवि भएकाले न्यूनतम अनुशासन वा भद्रता प्रस्तुत गर्नैपर्ने हुन्छ। तर सामाजिक सञ्जालमा त्यस्तो सामान्य शिष्टाचार र सभ्यता पनि देखाउने कष्ट गरिँदैन। च्याट बक्समा गरिने कुराकानीको त झन् तत्कालै जिम्मेवारी पनि लिन नपर्ने हुन्छ। महिलालाई सम्मान नगर्ने पुरुषको चरित्र त समाजले बनाएको छ नै। अझ यो चरित्र सामाजिक सञ्जालमा झनै अभद्र, अशिष्ट र असभ्य तरिकाले प्रकट हुन्छ। त्यसैले सामाजिक सञ्जाल नाममा सामाजिक होला, व्यवहारमा असामाजिक नै छ। समाजमै जब महिला पुरुषवादको विभेद र उत्पीडनमा छन् भने फेसबुक जस्ता असामाजिक ठाउँमा सुरक्षित हुने प्रश्नै उठ्दैन।

महिलासँगको सम्बन्धलाई रमाइलो गर्ने र समय बिताउने माध्यम ठानिन्छ। समाजमा पुरुषले जे गरे पनि कसैले प्रश्न उठाउँदैन। इन्टरनेट चलाउने र सामाजिक सञ्जालमा अनलाइन बस्ने महिलालाई गलत व्याख्या गरेर चरित्रहत्या समेत गर्ने गरिन्छ। सामाजिक सञ्जालमा पुरुषवाद मात्र होइन, समाजमा रहेका सबै विभेदकारी व्यवहारहरू अझ खतरनाक तरिकाले झल्किन्छन्। आखिर समाज बाहिरका मान्छे त त्यहाँ छैनन्। दलित प्रतिको हेपाइ होस् वा मधेसीप्रति उपेक्षा, सामाजिक सञ्जालले समाजकै ऐना देखाउँछ। तर समाजमा जति मान्छे सभ्य र भद्र देखिन बाध्य हुन्छ, सामाजिक सञ्जालमा हुँदैन भन्ने अब प्रस्ट भइसकेको छ।

सामाजिक सञ्जालको असामाजिक चरित्रका सम्बन्धमा धेरै महिलाको अनुभव तिक्ततापूर्ण छ। के त्यसो भए महिलाले सामाजिक सञ्जाल चलाउनै छाड्ने त? त्यो पनि गतिशील विकल्प होइन। सामाजिक सञ्जालबाट लिन सकिने सूचना र ज्ञानको फाइदा पनि पुरुषलाई एकलौटी छाडिदिनु भनेको सिकारीलाई खुला सिकारको अवसर दिनु हो। यसको बदला महिलाले अझै स्मार्ट ढंगले सामाजिक सञ्जालको प्रयोग गर्न सिक्नु जरुरी छ। महिलाका मुद्दालाई संसारभर बहसमा लैजान यस्ता सञ्जाल उपयोगी सिद्ध भएका छन्। नारीवादी अभियन्ताहरूले ट्विटरमा नारीवादका अनेकह्यासट्याग चर्चित गराएर देखाइसकेका छन्। औपचारिक मिडियामा ठाउँ नपाउने सामाजिक कार्यकर्ताको लागि बहसको सहज माध्यम पनि हुनसक्छन्, यस्ता सञ्जाल।

सामाजिक सञ्जाललाई नै नारी आन्दोलनको एक अनौपचारिक फोरम बनाउन पनि सकिन्छ। धेरै महिलाबीच अनुभव र अनुभूति आदान–प्रदान गर्ने ठाउँको रूपमा प्रयोग गर्न सकिन्छ। सामाजिक सञ्जाललाई लत बनाएर होइन, बरु रुटिनमा प्रयोग गरेर पुरुषवादी विचार र व्यवहारको विरुद्ध त्यहीँ पनि प्रतिरोध चलाउन सकिन्छ। उपेक्षित समूह वा समुदायले सामाजिक सञ्जालको प्रयोग गर्दा होश पुर्‍याउनुपर्ने कुरा पनि छन्। पुरुषलाई हावी हुनदिँदा यही माध्यम प्रयोग गरेर उसले मनोवैज्ञानिक शासन वा ‘ब्ल्याकमेल’ गर्न सक्छ। त्यसैले आफ्नो अहम् र आत्मसम्मान सहित पुरुषको च्याट बक्समा होस् वा खुला टाइम लाइनमा मुकाबला गर्न महिला तयार रहनुपर्छ। योजनाबद्ध र रुटिनमा सामाजिक सञ्जाल प्रयोग गर्दा त्यहाँछ्यालब्याल आइरहने खराब विचार र चिन्तनबाट प्रताडित हुनुपर्दैन। सामाजिक सञ्जालका साँढेसँग जुध्न तयार रहनैपर्छ। [email protected]

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्