Logo
५ जेष्ठ २०८१, शनिबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चमेलिया जलविद्युत् आयोजना प्रधानमन्त्रीबाट उद्घाटन हुने 

दार्चुला : सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्नेछ । शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन शुरु गरेको थियो ।

सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ ।

आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना सम्पन्न गर्न करिब रु १५ अर्ब खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । आयोजना निर्माणमा ढिलाइ हुँदा सरकारले करिब रु १६ अर्ब गुमाउन पुगेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको चमेलिया जलविद्युत् आयोजनाको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार आयोजनास्थल बलाच आउनु हुने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । प्रधानमन्त्री देउवाले उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्ने उनले बताए ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्