Logo
२ जेष्ठ २०८१, बुधबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि विकास बैंककाे ठगी प्रकरणमा दीपिका रेग्मी जेल चलान

काठमाडौं : कृषि विकास बैंकमा भएको पाँच करोड घोटाला काण्डकी मुख्य आरोपी सहायक टेलर दीपिका रेग्मी अदालतको आदेशले बुधबार कारागार कार्यालय नख्खु चलान भएकी छन् । बैंकको रामशाहपथस्थित मुख्य कार्यालयबाटै पाँच करोड रुपैयाँ घोटाला गरेको आरोपमा नेपाली सेनाका प्राविधिक सहायक रथी डा.रमेशराज बिष्टसहित ६ जना कर्मचारी र एकजना ब्यापारी मंसिर १६ पछि विभिन्न मितिमा पक्राउ परेका थिए ।

उच्च अदालत पाटनमा बुधबार न्यायाधीशद्वय नीता गौतम दीक्षित र शेखरप्रसाद पौडेलको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि रेग्मीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । उनलाई पूर्पक्षका लागि कारागार कार्यालय नख्खु राखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब मिलान गर्दा रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी रेग्मी र उनकी आमासहित १० जनालाई पक्रेर कारवाही थालेको थियो ।

उच्च अदालतले कर्मचारीहरु प्रेमहरी ढुंगेलसँग १ करोड, गोपाल गिरीसँग ५० लाख , महेश्वर मरहठ्ठा र सलिल रेग्मीसँग जनही २५ लाख, तारानाथ पाण्डेसँग एक लाख र ब्यापारी प्रकाश घतानीसँग पाँच लाख धरौटी मागेको छ । रमेशकुमार थापालाई साधारण तारेखमा रिहा गर्न आदेश गरिएको छ। दीपिकाकी आमा पुष्पा पन्त रेग्मी अदालतमा हाजिर भएकी छैनन् । अदालतले सहायक रथी बिष्टलाई सेनाको आन्तरिक अनुसन्धान सकिएपछि कारवाही हुने आदेश दिएको छ ।

 

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्