Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डसँग भारतीय विदेश मन्त्रीले के कुरा गरिन ?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय विदेश मन्त्री सुष्मा स्वराजले भेटवार्ता गरिरहेकी छन् । सोल्टी होटलमा भएको भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल भएको बताइएको छ ।

भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने ‘चुनावपछिको राजनीतिक परिस्थिति र नयाँ सरकार गठनका बारेमा सकारात्मक र रचनात्मक कुराकानी भए ।’

नेपाल र भारतबिच लामो समयदेखि राम्रो सम्बन्ध रहँदै आएको र अब बन्ने नयाँ सरकारसँग पनि भारत सहकार्य गर्दै अघि बढ्न चाहेको स्वराजले भेटको क्रममा बताएको प्रचण्डको भनाई छ ।

स्वराजको भनाई उद्धृत गर्दै प्रचण्डले भने ‘भारत सधैँ नेपालमा स्थायित्व र विकासको पक्षमा रहँदै आएको छ । यसका लागि साथ र सहयोग गर्दै सहकार्यका साथ अघि बढ्न तयार छौँ ।’

वाम गठबन्धनका बारेमा भारतको धारणा कस्तो रहेछ ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने ‘चुनावमा वाम गठबन्धनले बहुमत ल्याएको र त्यसपछि फेरिएको राजनीतिक वातावरणप्रति भारत सकारात्मक रहेको उहाँको भनाई रह्यो । वाम गठबन्धनप्रति भारतको पहिले पनि सद्भाव रहेको र अहिले पनि त्यो कायमै रहेको उहाँले बताउनुभयो ।’

स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् । स्रोतका अनुसार, मधेस केन्द्रित दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । उनी आजै स्वोदेश फर्कर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्