Logo
२० बैशाख २०८१, बिहीबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ जनाको नाम फेरदबदल गर्दै राजपाले अन्तिम नाम बुझाउने

काठमाडाैँ : निर्वाचन आयोगले संशोधन गरेर नमावली पाठाउन गरेको आग्रह अनुसार राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका सांसदको अन्तिम सूची शुक्रबार बुझाउने भएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले शुक्रबार राजपाले प्रदेशसभाका समानुपातिक अन्तिम सूची निर्वाचन आयोगमा पठाउने निश्चित भएको बताए ।

अन्तिम सूचीमा प्रदेशसभा समानुपातिक सांसदको लागि राजपाबाट यसअघि निर्वाचन आयोगमा सिफारिस भएका नाममध्ये केही फेरबदल हुने भएको छ । यसअघि निर्वाचन आयोगमा पठाएको सूचीलाई क्रमसख्याअनुसार नमिलेको भन्दै आयोगले अस्वीकार गरेपछि राजपाले अर्को सूची बुझाउन लागेको हो ।

राजपा निकट स्रोतका अनुसार शुक्रबार बुझाइने नयाँ सूचीमा ४ व्यक्तिको नाम फेरदबदल हुने भएको छ । पुरूषतर्फ एकजना र महिलातर्फ तीनजनाको नाम फेरबदल हुने पार्टी स्रोतको भनाइ छ। निर्वाचन आयोगमा अन्तिम सूची बुझाउनुअघि पार्टी कार्यलय बबरमहलमा राजपाका अध्यक्ष मण्डलको बैठक बस्ने भएकोछ । बैठकले अन्तिम सूची तय गर्ने अध्यक्षमण्डलका सदस्य यादवले बताए ।

स्रोतका अनुसार बिहीबार भएको अनौपचारिक छलफलमा पुरूषतर्फ रामप्रवेश बैठा, महिलातर्फ पुनम यादव, विभा ठाकुर र लैलाा खातुनको नाम हटाइने सम्भावना भएको स्रोतले बतायो । थपिने नाममा नेत्रबिक्रम साह, रिना यादव, अल्का झा र निरा साहको सम्भावना रहको स्रोतको दाबी छ । तर शुक्रबार बिहान बस्ने बैठकमा ती नाममा पनि फेरबदल हुन सक्ने स्रोतको दाबी छ ।

राजपाले यसअघि पठाएको सूचीमा पुरूषतर्फ प्रदेश दुईबाट रामनरेश राय, राम प्रवेश बैठा र जानकीशरण साहको नाम सिफारिश गरिएको थियो । तीमध्ये राय पार्टीका वरिष्ठ नेता हुन् भने बैठा सर्लाही र साह महोत्तरीका हुन् । साहले प्रतिनिधिसभाको चुनावमा अध्यक्ष मण्डलका सदस्य शरतसिहं भण्डारीलाई विजयी गराउन ठूलो भूमिका निभाएका थिए । यसैगरी महिलातर्फ डिम्पल झा, वविताकुमारी चौधरी, मिलनदेवी भुमियार, लैला खातुन, पुनम यादव र अञ्जकुमारीको नाम सिफारिस गरिएको थियो । तीमध्ये डिम्पल झा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी पनि हुन् । यता, राजपा अध्यक्ष मण्डलका सदस्यले फेरबदल हुने सम्भावित नाम बिहीबार रातिसम्म गोप्य राखेका छन् ।

नयाँ सूचीमा केही नाम फेरबदल हुने पनि उनले जानकारी गराए । उनले भने, ‘केही नाम फेरबदल हुन्छ । जो भए पनि पार्टी भित्रकै साथीहरू हुन्,’उनले भने । गत पुस १४ गते राजपाले प्रदेशसभाका समानुपातिका सांसदको सूची निर्वाचन आयोगमा बुझाएको थियो । सो सूचीबारे राजपाभित्रै विवाद उत्पन्न भएको थियो । निर्वाचन आयोगमा पठाएको सूचीको विरोध गर्दै राजपाकै केही कार्यकर्ताले पार्टी कार्यालयसमेत तोडफोड गरेका थिए ।

यस विषयमा छानबिन गर्न पार्टी कार्यलयले तीन सदस्यीय छानविन समितिसमेत गठन गरेको थियो । सो समितिले केही दिनअघि राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिवेदन पनि बुझाइसकेको छ । पार्टी कार्यालय तोडफोड गर्नेहरूलाई कारबाही गर्न समितिले पार्टी नेतृत्वलाई सिफारिस गरेको थियो । समितिले तोडफोडको घटनामा मधेसी निजामती कर्मचारी मञ्चलाई दोषी देखाए पनि मञ्चका पूर्व अध्यक्ष विनोद सिहंलाई भने तोडफोडमा संलग्न नभएको प्रतिवेदनमा जनाएको थियो ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्