Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज रातिबाट नारायणगढ-मुग्लिन सडक दैनिक ६ घण्टा बन्द

चितवन : निर्माणाधीन नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबार रातिदेखि दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ । दिउँसोको समयमा कटिङको काम गर्दा यातायात आवागमन अस्तव्यस्त हुने भएकाले रातिको समयमा आवश्यक वत्तीको प्रवन्ध गरी काम अघि बढाउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । निर्माणको कामलाई गति दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने आयोजनाले जनाएको छ ।

१२ पुसमा जिल्ला प्रशासन कार्यालयमा ठेकेदार र आयोजना प्रमुखसहित बसेको प्रशासनको बैठकले १८ पुसदेखि सडक बन्द गरी कटिङको काम थाल्ने निर्णय गरेको थियो ।  कटिङको काम बाँकी भएका स्थानहरु १६ किलो, २२ किलोमा ठेकेदार आफैंले लाइटको व्यवस्था गरी कटिङको काम आज रातिबाट नै शुरु गर्ने भएका छन् । २९ किलो र ३३ किलोमा विद्युत प्राधिकरणको समन्वयमा आवश्यक लाइटको प्रवन्ध गरीसकिएको सूचना अधिकारी शिव खनालले बताए ।

सडकखण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी नै छ । रातिमा सडक बन्द हुने भएपछि काठमाडौंबाट आउने रात्री बसहरुलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न ट्राफिक प्रहरीले यातायात व्यवसायी राष्ट्रिय महासंघ मार्फत अनुरोध गरिसकेको छ । सो बेलाभन्दा ढिला गरेर आउने बस र साना सवारीलाई मुग्लिन बजारमा र ट्रकहरुलाई लेवाटारमा रोक्ने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

यस्तै तनहुँतर्फबाट आउने सवारी साधनहरुमध्ये बसलाई मुग्लिनमा र अन्यलाई आँबुखैरेनीतर्फ नै रोक्ने गरी समन्वय गरिएको छ । नारायणगढबाट काठमाडौं र पोखरा लगायतका क्षेत्रमा जाने सवारी साधनमध्ये बस र साना सवारीलाई दासढुंगाको मदन आश्रित पार्क नजिक र ट्रकहरुलाई रामनगरको ओरालो नजिकको भतेरी जंगलमा एकतर्फी बनाएर रोकिने ट्राफिक प्रहरी प्रमुख पन्तले जानकारी दिए ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले चैत महिनाभित्र एकसरो पिच निर्माणको काम गरिसक्ने गरी ठेकेदार कम्पनीको म्याद थप गरिने जानकारी दिए । आयोजनाको हालसम्म ६७.६७ प्रतिशत काम सम्पन्न भएको छ । आँपटारीदेखि दासढुंगासम्मको निर्माणको जिम्मा पाएको भारतीय वीएलए तथा नेपाली श्रेष्ठ कम्पनीले ६८ प्रतिशत, दासढुंगादेखि सिमलतालसम्म निर्माणको ठेक्का पाएको उड्हिल लामा जेभीले ७४ प्रतिशत र सिमलतादेखि मुग्लिनसम्मको सडक निर्माण जिम्मा पाएको सुप्रिम रौताहा निर्माण कम्पनीले ६१ प्रतिशत काम सकेका छन् । तीनवटै ठेकेदारहरुको म्याद फेब्रुअरी २० मा सकिँदै छ । म्याद थपको लागि ठेकेदारहरुले आयोजनालाई दबाव दिन थालेका छन् ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्