Logo
११ श्रावण २०८१, शुक्रबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘घुसकाण्ड’ ले वैदेशिक रोजगार विभागमा हलचल !

नागरिक टाइम्स, काठमाडौं : १० लाख बिगो दावीसहित वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा चलाएपछि यतिबेला विभागमा हलचल मच्चिएको छ ।

विभागका साना कर्मचारी देखि उच्च अधिकारीहरु घुसपैठमा लाग्ने गरेका खबर बेलाबखत आउने गर्थे । यसैबीचमा महानिर्देशक विरुद्धनै अख्तियार जाइलागेपछि सानादेखि ठूला कर्मचारीसम्म त्रसित छन् ।

कतैबाट आफूहरुले गर्दै आएको धन्दा पनि अख्तियारसम्म पुग्ने हो की ? भनेर उनीहरु त्रसित रहेको बुझिन्छ । विभागका विभागका अधिकारीहरु पैसा विना कामदारका उजुरी लिन नमान्ने गरेतापनि यतिबेला महानिर्देशक माथि अख्तियार जाइलागेपछि उनीहरु काम गर्ने शिलशिलामा नरम भएको सेवाग्राही बताउछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालैमात्र वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खंगबहादुर केसीले एक म्यानपावरको रोक्का फुकुवा सम्बन्धमा रु १० लाख घूस मागेको अभियोगमा आयोगले प्रक्राउ गरेको थियो ।

म्यानपावर कम्पनीको कामकाज तथा बैंक खातासमेत विभागबाट रोक्का राखेको सम्बन्धमा कम्पनीका तर्फबाट सर्वोच्च अदालमा मुद्दा दायर भई रोक्का फुकुवा गरी नियमानुसार काम गर्नुपर्नेमा सेवाग्राहीसँग घूस मागेको आयोगको ठहर छ ।
आयोगको टोलीले शाखा अधिकृत पौडेल र नासु केसीलाई पहिले पक्राउ गरेको थियो भने महानिर्देशक पाण्डेलाई विभाग परिसरबाटै पक्राउ गरेको थियो ।

आयोगले जनही रु १० लाख बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको बुझिन्छ । यसरी विभागका ठूला माछा अख्तियारको फन्दामा परेसँगै अन्य विभागका साना माछा माथि पनि अख्तियारले निगरानी बढाउन आवश्यक रहेको सेवाग्राही बताउछन् ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्