Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैले पाएको जनमत नै प्रमाण हो कि म निर्दोष छु : रेशम चौधरी

कैलालीको टीकापुर हत्याकाण्डमा विवादित रेशम चौधरी कैलाली १ बाट प्रतिनिधिसभामा २१ हजार मतान्तरमा विजयी भएका छन्। निर्वाचित भएपछि चौधरी के गर्लान् भन्ने प्रश्न उठिरहेका बेला उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिल्लीमा २ मिनेट भेटेको, एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न नसकेको र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अढाई वर्षदेखि फोन सम्पर्क गर्ने प्रयसा गरे पनि सफल नभएको बताएर राज्यसँग सम्पर्क स्थापित गर्न खोजेको जनाउ दिएका छन् । अज्ञात स्थलमा रहेका चौधरीसँग जेवी पुन मगरले गरेको कुराकानीको सम्पादित अंश :  

कैलाली १ मा तपाईं ठूलो मतान्तरसहित विजयी बन्दै हुनुहुन्छ, भूमिगत उम्मेदवारलाई कसरी यत्रो मत आयो ?
कैलाली १ मा मैले पाएको भारी जनमत थारुको मात्र होइन । मलाई सबै वर्ग र जातका मतदाताले मतदान गरेका छन् । मैले यत्रो मत पाउनुको पछाडी एउटै मात्र कारण छ, त्यो हो ‘रेशम चौधरी निर्दोष छ, यसलाई फसाइएको छ’ भन्ने स्थानीय जनताको बुझाई ।

म स्थानीय स्तरमा विभिन्न क्रियाकलापहरु गरिरहन्थें। सडक बनाइरहने, राहत बाँडिरहने हुनाले मेरो सामाजिक भावनाको जुन प्रवृत्ति थियो, त्यो स्थानीय जनताले देखेका थिए। सामाजिक सद्भाव कायम गर्न मैले गरिरहेका काम सबैले बुझेका थिए। ‘रेशम नआउँदासम्म सामाजिक सद्भाव कायम हुन सक्दैन’ भनेर मलाई स्थानीय जनताले भारी मतले विजय बनाउँदैछन्।

प्रहरी प्रशासनले खोजिरहँदा कसरी चुनाव प्रचार सम्भव भयो ?
मैले आफ्नो चुनावी प्रचार समेत गर्न जान सकिनँ। घरदैलोमा निस्कन सकिनँ। न मसँग चुनावी पर्चा छाप्ने पैसा नै थियो। स्थानीयले आफ्ना घरघरमा भएका छाता (चुनाव चिन्ह) निकालेर टाङ्न थाले। त्यसले अरु मतदाताको भावना पनि जाग्यो र तिनले नै चन्दा उठाएर स्वफुर्त रुपमा प्रचारप्रसार गरिदिए। मैले मेरा भावना युट्युव मार्फत पोखिदिएँ। त्यसलाई उनीहरुले प्रोजेक्टर मार्फत प्रचार गरिदिए। अहिले आएर मेरो मतको सुरक्षा पनि उनीहरुले नै गरिरहेका छन्। मलाई लाग्छ करिब २५–३० हजारको फरक मतमा उनीहरुले नै मलाई वजयी बनाउँदैछन्।

टीकापुर हत्याकाण्डमा तपाईंको संलग्नता छ भनेर राज्यले मुद्धा नै लगाएको छ नि ?
मलाई झुठा मुद्दा लगाएर फसाइयो। यदि राज्यसँग मेरो संलग्नताबारे प्रमाण छ भने देखाउनु पर्यो। प्रमाणित गर्नुपर्यो। तीन तीन वटा छानवीन समितिको प्रतिवेदनले के भन्यो? त्यो प्रतिवेदनले भाद्र ७ गतेको टीकापुरका पीडितलाई के राहत गर्यो? त्यो पनि हेर्नुपर्यो। राज्यले अढाई वर्षसम्म पुर्पक्षका नाममा मान्छेलाई किन थुनामा राखिरहेको छ? यथोचित कारण देखाउनु पर्यो। राज्यले रिस साँध्न र ‘यी यी मान्छेलाई फसाइयो भने थारु आन्दोलन तुहिन्छ, यीनलाई सधैंभर दबाएर राख्न सकियो भने आफुले सधैंभरी खान पाइन्छ’ भनेर यस्तो गरिएको छ।

हामीमाथि दमन भएको छ। मेडिकल गरेर बसेकालाई जेलमा हालिएको छ। केरा खेती गरेकालाई जेल हालिएको छ। ७ दिनदेखि अस्पतालमा उपचार गराइरहेकाहरुलाई लगेर थुनिएको छ, जसलाई आन्दोलन भएको समेत थाहा थिएन। राज्यको यस्ता कार्यले मान्छेहरुलाई असाध्यै बितृष्णा जगाएको थियो। राज्यद्वारा राजनीतिक संयमता अपनाइएन। दमनमा उत्रिएपछि मान्छेहरु घर छाड्न बाध्य भए। गाउँका बडघर (मुखिया) लाई स्थानीय प्रशासनले बेलाबखत बोलाउँदै दुख दिन थाल्यो। त्यो रिस मतदानमा पोखिएको छ।

लक्ष्मण थारु त्यहि अभियोगमा थुनामा छन्, उनले जेलबाटै उम्मेदवारी दिए तर धेरै मत त पाएनन् नि ?
म निर्वासित भएरपनि चुप लागेर बसिनँ। संघर्ष गरिरहें। संघर्षकै अवधिमा मैले ‘चिरफार‘’ किताब लेखें। थारुमाथि भैरहेका दमन र विभेदका कुरा गरिरहें। टीकापुर दुर्घटनापछि यौन उत्पीडन भएका थारु महिलाहरुलाई भेटें, प्रहरीले गोली हानेका घाइतेहरुलाई भेटें। जेलमा भएका ब्यक्तिका परिवारलाई कसरी सहयोग गर्ने भनेर काम गरें। त्यसकारण पनि मैले मत पाएँ।

झुठा मुद्दा लगाएको भए किन लुक्दै हिंडिरहेको त ?
तपाईंलाई गोली ठोक्ने आदेश दिएपछि लुक्नुहुन्न? प्रहरीको संचारसेटमा ‘त्यो मान्छेलाई जहाँ भेट्यो, त्यहिँ गोली ठोक्दे’ भनेर घन्किएपछि प्राण बचाउन भाग्नु परेन? तीन तीन महिना कफ्र्यु लाग्यो राज्यले देख्यो? थारु समुदाय कसरी बस्यो, कसरी बाँच्यो भन्ने राज्यले देख्यो? मान्छे पाँच पाँच महिना भागेर हिंडे। एमालेको तर्फबाट चुनाव लड्नु हुने मेरै बुवा डेढ महिनासम्म घरमा आउनु भएन। थारुको कुनै यस्तो घर थिएन जहाँबाट मान्छे कम्तिमा एक डेढ महिना नभागेका होऊन। त्यतिबेला हामीलाई सुरक्षा दिनुपर्थेनरु राज्यले थारुहरु नागरिक हुन भन्ने सोच्नु पर्थेन?

माओवादीका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष ओली र कांग्रेसको नेतृत्वसँग सम्पर्क भइरहेको छ ?
मान्छेले सजिलो छ भन्छन् तर मैले आफ्नो सफाई दिन दलका नेतृत्वसँग सम्पर्क गर्ने प्रयास गर्दा पनि भेट्न सकिरहेको छैन। मैले प्रचण्ड प्रधानमन्त्री हुँदा दिल्लीमा २ मिनेटको लागि भेट पाएको थिएँ। ओली प्रधानमन्त्रीको हैसियतमा दिल्ली भ्रमणमा आउँदा पनि भेट्ने प्रयास गरेको हुँ, भेट्न सकिनँ। अढाई वर्षदेखि शेरबहादुर देउवालाई फोन सम्पर्क गर्न खोजिरहेको छु, सकेको छैन।

उसोभए तपाईंले कुनै च्यानलबाट राज्यसँग सम्पर्क भइनै रहेको छ है ?
आफ्ना चिनेजानेका साथीभाई, सांसद, कलाकार साथीहरुले बोलिदिनुहुन्छ कि भनेको कसैले बोलिदिएनन्। म आफैं कलाकार हुँ। देशका पुरानादेखि नयाँ सबै नामी कलाकारहरु टीकापुरस्थित मेरो घरमा आएर बसेका छन्। मैले सोचेको थिएँ ती कलाकारहरुले बोलिदेलान्, कोहि बोलिदिएनन्। मेरो तीन तीन वटा रेडियो स्टेशन थियो। ब्रोडकास्ट एसोसियसन अफ नेपालको उपाध्यक्षमा मेरी श्रीमती नै छिन्।

चुनाव जितेपछि प्रमाणपत्र लिन त आउने होला नि ?
संसारमा सबैभन्दा ठूलो जनमत हो। जनमतको अपमान भयो भने त्यसले लोकतन्त्र फुलेको देखिँदैन। मलाई जनताले दिएको जनमतको कदर गर्ने नगर्ने भन्ने अभिभारा अब राज्यको काँधमा आइपुगेको छ। रेशम चौधरी अपराधी हो, होइन भन्ने प्रष्ट प्रमाण जनताले दिएका छन्। यो अत्यन्त गम्भिर कुरा हो। राज्यले यो सोच्छ भन्ने मैले आशा गरेको छु।

रेशम चौधरीसँगको अडियो वार्ता सुन्नुहोस्ः

@नेपालखबरबाट साभार

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्