Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर तिर्नुको अर्थ के ? यो करबाट के किन्छ सरकार ?

म बिहान ७ : ३० मा कलेज पुग्छु । म घरमा सुत्छु । यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमीन हो । म यसको कर तिर्छु । मेरो छिमेकीले कोठा भाडामा लगाएका छन् । उनी त्यसको पनि कर तिर्छन् । मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु । मैले बाँच्न पनि कर तिर्नुपर्छ । म ६ घण्टा पढाउँछु । मेरो दिमाग र श्रमबापत म तलब पाउँछु । तर, त्यसमा पनि कर लाग्छ ।

म गाडी किन्छु । त्यसबापत म कर तिर्छु । गाडी उपयोग गरेबापत प्रत्येक वर्ष कर तिर्छु । म पेट्रोल किन्छु, त्यसमा पनि कर तिर्छु । म सडकमा गाडी कुदाउँछु, त्यसको पनि कर तिर्छु ।

म सन्तानलाई पढाएबापत कर तिर्छु । म बिरामी हुन्छु, डाक्टरलाई जँचाउँदा पनि कर तिर्छु । म औषधि किन्छु । त्यसमा पनि कर तिर्छु । म आँखाका लागि चश्मा किन्छु, त्यसमा पनि कर तिर्छु ।

म जुत्ता किन्छु, त्यसमा पनि कर तिर्छु । म सर्ट किन्छु, त्यसमा पनि कर तिर्छु ।

म अरू लुगा किन्छु, त्यसमा पनि कर तिर्छु । म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु । म पानी पिउँछु, त्यसमा पनि कर तिर्छु ।

म जीवनका प्रत्येक पाइलामा कर तिर्छु । मलाइ हर्ट अट्याक हुन्छ, औषधि गर्छु । मृत्युबाट फर्किंदा पनि कर तिर्छु । दुर्घटना हुन्छ, मेरो खुट्टा काटिन्छ । तर, मसँग कर पनि लिइन्छ । बम पड्किन्छ, म बल्लबल्ल बाँच्छु, मसँग कर उठाइन्छ ।

तर यो करबाट के किन्छ सरकार ?
१.     मन्त्री र हाकीमलाई महँगा गाडी किन्छ ।
२.     मन्त्री र हाकीमले चढ्ने गाडीमा हाल्न तेल किन्छ ।
३.     मन्त्री र हाकीम विदेश यात्रा गर्न भत्ता दिन्छ सरकार । गत साल १ हजार ४ सय हाकीम र मन्त्रीले विदेश डुले, मैले अस्पतालमा उपचार गर्दा तिरेको करले ।
४.     दलका कार्यकर्तालाई खर्च बाँढ्छ ।
५.     बाटोमा एक इञ्चको पीच गरेर ठेकेदारलाई पैसा दिन्छ । हाकीम र मन्त्रीले ३५ प्रतिशत घूस खान्छन् ।
६. देशको व्यापारघाटा सात गुना बढी भएको छ । टोलटोलका फलफूल दोकानमा अष्ट्रेलियाबाट ल्याइएका स्याउ छन् । तर, मेरै देशको जुम्लाका स्याउ भैंसीले खाँदै छन् ।
७.    गरीबले सिटामोल पाउँदैन । सुकुमबासीको घर छैन । थुप्रै महिला शरीर बेच्न बाध्य छन् ।
८.     किन ?

म यो देशको सन्तान हुँ । मेरो जिम्मेवारी छ, यो देश जोगाउने । म नागरिक हुँ यो देशको, मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने । तर, मलाई शासन गर्छन् मेरा देशका नेता । मलाई शोषण गर्छन् मेरा नेता ।

मैले भर्खर एउटा सन्तान जन्माएँ । उसले यो देशलाई जोगाउन ज्यान पनि दिन्छ भविष्यमा । तर, उसलाई लिएर घर फर्किंदा मैले उसलाई जन्माएबापत कर तिरेँ । अब उसको नाम दर्ता गर्दा कर तिर्नुपर्छ । उसलाई स्कूल भर्ना गर्दा कर तिर्नुपर्छ । उसको नागरिकता लिँदा कर तिर्नुपर्छ । उसको विवाह दर्ता गर्दा कर तिर्नुपर्छ । कहिलेसम्म मैले कर तिरिरहने ? अनि मन्त्री र हाकीम मेरो करबाट मस्ती गरिरहने ?

म तपार्इंलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रश्नको जवाफ तपाईंसँग छ ? के चुनाव मेरो श्रममा लगाएको करबाट बाजी खेल्न खेलमात्र हो ? हरेक नागरिक सचेत हुन आवश्यक छ । सोध्नुहोस् प्रश्न । लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस् । निराशा होइन, चेतनाको खेती गरौं ।

डा. सङ्ग्रौलाको फेसबूक पोष्टको सम्पादित अंश ।

प्रकाशित मिति: Dec 5, 2017

प्रतिक्रिया दिनुहोस्