Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोको विचार : मधेसविरोधीलाई भगाउँछु, जनकपुरलाई गुण्डाराजको अन्त्य गर्छु

एमालेको मत पनि यो क्षेत्रमा उल्लेख्य रहेछ, निधिले ‘सञ्जय कार्ड’ खेलेपछि तपाईंले ‘एमाले कार्ड’ खेल्न खोजेको हो ?

हेर्नुस, मतदाता कसैको गुलाम हुँदैन । मतदाताले आफ्नो विचार समयको मागअनुसार परिर्वतन गर्छ । अहिले यहाँ मधेसवाद उत्कर्षमा छ । मधेस आन्दोलनको केन्द्रविन्दू जनकपुर हो । मधेस आन्दोलनमा के कांग्रेस, के एमाले, के माओवादी सबै पार्टीका मान्छेहरु सहभागी भएका हुन् । यो निर्वाचनरुपी मधेस आन्दोलनमा पनि एमाले समर्थक मतदाताहरु सहभागी हुनेछन् र मलाई मतदान गर्नेछन् । एमालेको मात्र होइन, मलाई कांग्रेसको पनि मत आउछ ।

तैपनि तपाईले ती मतदातबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ त ?

तपाई हेरिरहनुभएको छ, जनताको प्रतिक्रिया धेरै राम्रो छ । उत्साहका साथ चुनावी प्रचार अभियान चलेको छ । गाउँगाउँबाट मधेसी जनता आन्दोलनकै रुपमा सहभागी भएका छन् । यो त चुनाव प्रचारभन्दा पनि मधेस आन्दोलन हो भनेर यहाँका जनताले बुझेका छन् । मधेस आन्दोलनलाई अघि बढाउन जनता उत्साहका साथ लागेका छन् । यो राजेन्द्र महतो जित्ने कि नजित्ने भन्दा पनि मधेस आन्दोलनले जित्ने कि नजित्ने भन्ने लडाइ भएको छ ।

भनेपछि, तपाई यहाँ मधेस आन्दोलनको सेन्टिमेन्ट क्यास गरेर चुनाव जित्न सकिन्छ भन्ने दाउमा हुनुहुन्छ होइन त ?

यो निर्वाचन पनि एउटा आन्दोलन हो । हामीले आन्दोलनकै रुपमा स्वीकार गरेको हो । सडक आन्दोलन हामीले गरेका हौं, यो अब संसदीय आन्दोलनको तयारी हो । निर्वाचनलाई कडीका रुपमा प्रयोग गरेको हो । त्यसैले मधेस आन्दोलनको भावनात्मक मत त मलाई आउछ नै ।

तर, तपाईलाई ब्याक गरेर विमलेन्द्र निधिलाई समर्थन गराउने हल्ला एकाएक चल्यो नि ? माथि केही न केही त हुँदैछ कि ?

यो मधेस बिरोधी संविधान बनाउनेमा अहम् भमिका निधिजीको छ । मधेस आन्दोलनमाथि गोली चलाउने आदेश उहाँले दिनुभएको हो । मधेसीलाई गोली चलाउने र जनताको अधिकार खोस्ने उहाँ नै हो । वास्तवमा भन्नुहुन्छ भने सबैभन्दा ठूलो मधेस बिरोधी र मधेसीको हत्यारा त बिमलेन्द्र निधि हो भनेर यहाँका जनताले भनिरहेका छन् ।

यस्तो व्यक्तिलाई मधेस आन्दोलनको केन्द्रविन्दू, मधेसको राधजानी जनकपुरबाट अब चुनाव जिताउन मैले ‘ब्याक’ हुने भन्ने त सोच्नै सकिन्न । २५ वर्षदेखि यो क्षेत्रका जनताको मत लिएर न जनताले विकास पाए, न अधिकार पाए । जनता मधेस आन्दोलनको पक्षमा छन् । परिवर्तनको पक्षमा मधेसी जनता छन् । कसले के दुस्प्रचार गर्छ, त्यो उनीहरुलाई थाहा होला । हामी जनताका बीचमा छौं । सायद निधिजी आफैं हार्ने भएर ‘ब्याक’ हुने कुरा सुनेको छु ।

तर, उहाँ यसबीचमा काठमाडौंमा हुँदा शक्तिकेन्द्रका मान्छेहरुले पनि भेट गरे, यसबीचमा सञ्जय कुमार साहले जेलबाटै समर्थन पनि गरे, यसले तपाईलाई दबाव त बढ्यो नि ?

हा हा हा । यो सबै पराजित मानसिकताको द्योतक हो । जुन व्यक्तिलाई बिमलेन्द्र निधिले आफैंले अपराधी घोषित गरेको हो, जसलाई निधि आफैैंले जेल पठाएको हो, त्यही व्यक्तिको सहाजार लिइरहेको छ अहिले । यसबाट के प्रमाणित हुन्छ भने जनकपुरमा अपराधीकरणलाई बढावा दिने व्यक्ति निधि नै हुन् । अपराधीकरण र गुण्डागर्दी कसले चलाएको रहेछ भन्ने पुष्टि भयो ।

होइन, मैले सोध्न खोजेको के हो भने तपाईलाई ‘ब्याक’ गराएर लोकतान्त्रिक गठबन्धन अझै पनि बनाउन सकिन्छ भन्ने कुरा आएको हो कि हैन ?

लोकतान्त्रिक गठबन्धन त अब नारामा मात्रै सीमित भयो । यो निधिजीकै कारण भएको हो । कांग्रेसबाट लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास नै भएन । गठबन्धन बनाउँदा लोकल इलेक्सनको परिणामलाई आधारका रुपमा लिन सकिन्छ भनिएको पनि हो । त्यसो गर्दा मधेसी गठबन्धनले यो मधेसमा सम्मानजनक स्थान पाउनुपर्ने हो । तर, त्यसका लागि कांग्रेस तयार भएन ।

खासगरी धनुषा–३ नम्बर क्षेत्रको कुरा गर्दा राजपा कांग्रेसभन्दा अगाडि छ । जो अगाडि छ, उसले नै गठबन्धनमा सिट पाउने हो । यो धनुषा ३ नम्बर क्षेत्र राजपा र मधेसी गठबन्धनले पाउने हो । तर, उहाँ (निधि) को व्यक्तिगत आकांक्षाका कारण लोकतान्त्रिक गठबन्धन बन्न दिनुभएन । नदिएको पनि ठिकै भयो । त्यस्तो अत्याचारी, मधेस बिरोधी व्यक्ति, जसले हामीलाई धोका दियो भनेर निधिको बारेमा यहाँका जनताले भनिरहेका छन अहिले । मधेसी जनतालाई ठग्ने, मधेसीको टाउकोमा गोली ठोक्न आदेश दिने, मधेसबिरोधी संविधान बनाउने व्यक्तिलाई हराउने उपयुक्त मौका यहाँका जनताले पाएका छन् । यो मौका जनता गुमाउन चाहँदैनन् ।

तपाईको सम्पूर्ण आरोप निधि मधेस बिरोधी हुन् भन्नेमै केन्द्रित देखिन्छ । तर, उहाँले त म मधेस र पहाडको मध्यस्थकर्ता हुँ, मेरो भूमिकालाई न्याय हुनुपर्‍याे भनिरहनुभएको छ नि ?

हो, उहाँको भूमिका त प्रष्टै देखिएको छ । संविधान बनाउनेमा अग्रणी भूमिका निर्वाह गर्नुभयो । मधेसीको अधिकार कुण्ठित गराउन उहाँको भूमिका देखियो । मधेसी जनताको हत्या गराउन त उहाँले आफैं गृहमन्त्री भएकाले बेला आदेश नै दिनुभयो । मलेठमा बिनाकारण गोली हान्न आदेश दिएर ६ जना मधेसी जनताको हत्या गरेको त उहाँले नै हो नि । मधेसी जनताको अधिकार खोस्ने मामिलामा उहाँ मध्यस्थकर्ता बन्नुभएकै हो । र, त्यही उहाँको भूमिकाप्रति यसपटक यहाँका जनताले न्याय गर्नेछन् । जस्तो करनी, उस्तै भरनी भन्छन् नि ।

तपाईकै पार्टीबाट निर्वाचित सांसद सञ्जयकुमार साह, जो जेलमा छन् उनी नै यो क्षेत्रका चुनावमा निर्णायक हुने हल्ला चलिरहेको छ, अर्कोतिर जीवनाथ चौधरी जो सञ्जय साहका विपरीत ग्याङ चलाउँछन् उनी त निधिकै दाहिने हात भइहाले, यसबाट तपाई डराउनुभएको छैन ?

योचाहिँ चिन्ताको विषय हो । मलाई अरु डर त होइन, जनकपुरमा फेरि दुईटा ठूला अपराधिक गिरोह एक ठाउँमा आउने हुन् कि भन्ने चिन्ता छ । यसले गर्दा जनकपुरका शान्ति खल्बलिन सक्छ । मधेसको राजधानीलाई अपराधीकरण गर्ने उद्देश्यबाट यस्तो भएको हुन सक्छ । निधिजी मधेसको राजधानी जनकपुरलाई अपराधीकरण गर्नतर्फ लाग्नुभएको छ । तर, जनताले कुनै हालतमा स्वीकार गर्दैनन् । अहिलेको हाम्रो लडाई अपराधिकरण विरुद्धको लडाइ पनि हो ।

मधेसको राजधानी जनकपुरलाई सांस्कृतिक, पवित्र भूमिको रुपमा जोगाइराख्न पनि यसपटक निधिलाई परास्त गर्नुपर्छ भन्ने जनताको आवाज छ । यहाँ निधिको होइन, विधीको शासन लागु हुनुपर्छ भन्ने जनताले मलाई जिताउने छन् । जनकपुर भनेको विद्धान ऋषिमुनिहरुको तपोभूमि हो, गुण्डा र अपराधीको राज्य स्थापित गर्न खोज्ने र दुईटा गुण्डा मिलाउने निधिजीको प्रयास बेकार हो ।

तर, उनीहरुले तपाईको चुनावी परिणामलाई त हेराफेरि गराउन सक्छन् नि होइन र ?

होइन । बिल्कुल होइन । यस्ता अपराधी र गुण्डाहरु एक ठाउँमा आएका हुन् भने त्यसबाट मलाई फाइदा छ । यसबाट उनीहरुको, विशेष गरी बिमलेन्द्र निधिको अनुहार उदांगो भएको छ । जनकपुरका अपराधीहरुको एकता देखिएको छ । चोर चोर मौसेरा भाइ भन्छन् नि, आखिर गुण्डा र अपराधीहरुको संरक्षक को हो, उनीहरुलाई कसले चलाइरहेको छ भन्ने जनताले छर्लङ्ग बुझ्न पाए । जनकपुर बमकाण्ड कसले गराएको रहेछ ? मिथिला राज्य बन्न नदिने को रहेछ ? यहाँ हत्या आतंका मच्चाउने को रहेछ ? सार्वजनिक र मठ मन्दिरका सम्पत्ति हडप्ने को रहेछ ? सबै कुरा बुझियो नि ।

तर, जेलबाटै १० हजार भोट निधिलाई दिलाउने सञ्जय साहसँग हैसियत छ रे नि ?

१० हजार भोट हाल्छ कि घटाउछ हेर्दै जानुस् । हामीले यस क्षेत्रका गाउँतिर पनि भ्रमण गर्‍यौं, कतिपय मान्छेले तपाई अधिकारको मात्र कुरा गर्नुहुन्छ, तर निधिले विकासको कुरा गर्छन् भन्दा रहेछन् नि ? अधिकारको मात्रै कुरा गरेर जनकपुरको विकास हुन्छ ? खै विकास गरेको त ? दुईपुस्तादेखि निधि परिवारले यहाँका जनताको मत लिएको छ । पटक–पटक जनताको मत लिएर सांसद भयो, मन्त्री भयो । तर, जनकपुरलाई नरक बनाएर राखेको छ । यही हो विकास ? रोडको अवस्था हेरिहाल्नुभयो, खानेपानीको अवस्था देखिहाल्नुभयो । यहाँ विकास होइन, अपराधीकरण बढाइएको छ ।

अधिकार प्राप्तिपछि विकास स्वतः हुन्छ । अधिकार प्राप्त भएन भने केही पनि विकास हुँदैन । २५ वर्षदेखि उहाँहरुले नै जितेको हो, विकास त केही भएको छैन । अहिले आएर विकासको कुरा गर्ने फटाहाले ? हामी विकास पनि दिन्छौं, अधिकार पनि दिलाउँछौं ।

विमलेन्द्र निधिले मधेसकै पक्षका बोल्दा पहाडेबाट गाली खाए, अहिले तपाईहरुको निशाना पनि उनीमाथि नै छ, यो त अन्याय भएन र ?

मधेसीको भोट लिएर मधेसीमाथि गोली हानेको छ । त्यो त कुनै पहाडेले होइन, म मधेसीको छोरो हुँ भनेर हिजो लिएको व्यक्ति बिमलेन्द्र निधिले नै हो । मधेसी जनताले एक–एक हिसाब पाई–पाई लिनेवाला छ । हिजो निधिले बुलेटले मधेसीलाई मारेको हो, अब मंसिर १ गते जनताले ब्यालेटले मार्नेवाला छ । मधेसीको टाउकोमा गोली हानेको त निधिले हो नि, त्यसको हिसाब जनताले स्वस्तिक छापबाट उनको टाउकोमै हानेर लिनेछ । अनि त राम नाम सत्य हो भन्ने अवस्थामा पुग्नेछन् । मधेस र मधेसीको सबैभन्दा ठूलो सत्रु र अत्याचारी नै बिमलेन्द्र निधि हुन् ।

तर, निधिजी पुस्तौंदेखि यही क्षेत्रबाट चुनाव लडेका छन्, तपाई चाहिँ सर्लाहीबाट भागेर यहाँ आएको आरोप रहेछ नि ?

म भाग्नेवाला होइन, भगाउन आएको हुँ । पुस्तौंदेखि जनकपुरको जनतामाथि शासन गर्ने, मधेसविरोधी संविधान बनाउने, मधेसीको टाउकोमा गोली ठोक्ने निधिलाई भगाउन आएको हुँ । जनकपुर मेरो घर हो, म किन भाग्ने ? मधेस आन्दोलन गर्दा कहिले जोगवनी नाकामा पुगेर ज्यानको बाजी थापेँ, कहिले वीरगञ्ज त कहिले सुनौली पुगेँ । म कहाँको हुँ ? म मधेसी धर्तीपुत्र हुँ ।

यो जनकपुर मधेस आन्दोलनको केन्द्र हो, मधेसको राजधानी हो, त्यसैले मधेस आन्दोलनको अनुमोदनका लागि म यहाँबाट उम्मेदवार बनेको हुँ । मेरो लडाई त निधिजीका मालिकसँग हो, जो काठमाडौंमा छन् । निधिको शासन अब सकियो । अब विधिको शासन लागु हुनेछ जनकपुरमा । यो उनको अन्तिम एपिसोड हो । @onlinekhabar

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्