Logo
२७ बैशाख २०८१, बिहीबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि कर्फ्यु आदेश

झापाको बिर्तामोडमा अनिश्चतकालीन कर्फ्यु लगाइएको छ । शुक्रबार दिउँसो साढे १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । राससले जनाए अनुसार  पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यु जारी गरिएको उनले बताए ।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।

दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए । अहिले पूर्व पश्चिम राजमार्ग बन्द छ । विर्तामोडका सबै पसलहरु बन्द छन् । जिल्ला प्रशासन कार्याललयले अहिले राजनैतिक दल र पीडित परिवार राखेर वार्ता गरिरहेको छ ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्