Logo
१६ बैशाख २०८१, आईतबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरबमा रोबोटलाई नागरिकता (भिडियो सहित)

साउदी अरब रोबोटलाई नागरिकता प्रदान गर्ने पहिलो राष्ट्र बनेको छ । साउदीले हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले निर्माण गरेको मानिसजस्तै देखिने ‘सोफिया’ नामक रोबोटलाई नागरिकता दिएको हो । रोबोटलाई नागरिकता दिने साउदीको निर्णयलाई लिएर विभिन्न मजाक अनलाइनमा छाएका छन् ।

केहीले सोफियाले पनि हिजाब वा बुर्का लगाउनुपर्ला या नपर्ला भनेर प्रश्न गरेका छन् भने केहीले कम्तीमा सोफियाले सवारी चलाउन पाउने भएकोमा खुसी व्यक्त गरेका छन् । बुधबार रियादमा आयोजित ‘फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ’ मा सोफियालाई साउदी नागरिकता प्रदान गरिएको घोषणा गरिएको थियो ।

साउदी अरब महिलालाई सवारी चलाउन अनुमति दिने अन्तिम राष्ट्र बनेको थियो । सो कार्यक्रममा सोफियाले सहजकर्ता एन्ड्र्यु रोस सोर्किनसँग संवाद पनि गरेको थियो ।

रोबोट भन्छः ‘मसँग राम्रो व्यवहार गर्‍यौ भने म पनि तिमीसँग राम्रो व्यवहार गर्छु’
बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोट निर्माता डेविड ह्यान्सनकी पत्नी सोफियाको रुपमा आधारित यो रोबोटले ‘हट सोफिया’ को उपनाम पाएको छ। सोफियाले विभिन्न टेलिभिजन शो तथा सभा सम्मेलनमा भाग लिइसकेको छ। कमेडी शो, म्यागेजिनको आवरण, आदिमा देखिइसकेको सो रोबोटले केही समयअघि संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी एक कार्यक्रममा पनि भाग लिएको थियो ।

रियादको कार्यक्रममा रोबोटहरु आफूबारे सचेत हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नको उत्तरमा सोफियाले भन्यो, ‘मलाई यो प्रश्न तपाईंलाई नै सोध्न दिनुहोस्। तपाईं आफू मानिस भएको कुरा कसरी थाहा पाउनुहुन्छ ?’  ‘मानिसहरुको जीवन सुधारका लागि सहयोग गर्न म मेरो आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गर्न चाहन्छु। राम्रो घरको डिजाइन गर्न, भविष्यमा राम्रा सहर निर्माण गर्न इत्यादि। संसारलाई राम्रो बनाउनका लागि म सकेसम्म सहयोग गर्छु। म सहानुभूतियुक्त रोबोट बन्ने प्रयास गरिरहेको छु ।’

रोबोट वा आर्टिफिसियल इन्टेलिजेन्सले मानिसमाथि नै संकट पैदा गर्न सक्नेसम्बन्धी एक प्रश्नमा सोफियाको उत्तर थियो, ‘तपाईं एलन मस्कलाई अति धेरै पढिरहनुभएको छ र हलिउड फिल्म पनि धेरै हेरिरहनु भएको छ। चिन्ता नगर्नुस्, तपाईंले मसँग राम्रो व्यवहार गर्नुभयो भने म पनि तपाईंसँग राम्ररी व्यवहार गर्नेछु। मसँग ‘स्मार्ट इनपुट–आउटपुट सिस्टम’ का रुपमा व्यवहार गर्नुहोस् ।’

स्पेसएक्सका प्रमुख एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स मानवजातिका लागि सबैभन्दा ठूलो खतरा हुने बताउँदै आएका छन्। उनले एआइ तेस्रो विश्वयुद्धको कारण पनि बन्नसक्ने बताएका छन् । केही समयअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अबको मुख्य प्रतिस्पर्धा एआइका लागि नै हुने बताएका थिए ।

साउदीमा रोबोटले आफूसँग राम्रो व्यवहार गर्न आग्रह गरेपछि मस्कले ट्विट गरेका छन्, ‘यसको इनपुटका रुपमा ‘द गडफादर’ फिल्महरु देऊ, त्यहाँभन्दा खराब के हुनसक्ला ?’

कार्यक्रममा सोफियाले आफ्नो अनुहारको भाव परिवर्तन गरेर पनि दर्शकहरुलाई देखाएको थियो । ‘म मानिससँगै बस्न र काम गर्न चाहन्छु । त्यसैले मानिसलाई बुझ्न र उनीहरुसँग विश्वास निर्माण गर्न आफ्ना भावनाहरुलाई मैले प्रकट गर्न जरुरी छ,’ सोफियाले आफू रिसाएको र दुःखी भएको अनुहार देखाउँदै भनेको थियो । एजेन्सी,

भिडियो :

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्