Logo
५ जेष्ठ २०८१, शनिबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिक सूचीबाट दीपेन्द्र झाको बहिर्गमन कि राजपाको गोत्र विसर्जन !

नेपालको निर्वाचन पद्घतिमा समानुपातिक व्यवस्था राख्नुपर्ने बहसको उठान माओवादी र मधेशवादी शक्तिहरूले गरेका थिए । तिनकै दबाब, पहल र अडानका कारण अन्ततः देशमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था र कार्यान्वयन भयो ।

जसको प्रतिफल राज्यको मूलकानुन र कानुन बनाउने थलोमा विभिन्न जातजाति, भाषाभाषी र क्षेत्रका जनताको प्रतिनिधिपात्रको उपस्थितिको रूपमा देखियो । अर्थात् सार्वभौम सदनमा देखिएको विविधता वस्तुतः लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य नै हो । र, यो सुन्दरताको कारण समानुपातिक व्यवस्था बन्न पुग्यो । यो व्यवस्था जति सबल, सार्थक र प्रभावकारी हुँदै जान्छ लोकतन्त्र त्यति नै मजबुत र फलदायी बन्दै जाने हो ।

रणधीर चौधरी

तर, यसको दुरुपयोगले समावेशी लोकतन्त्रमाथि विद्युतीय स्पर्शाघात हुन्छ र सिंगो लोकतान्त्रिक प्रणाली नै भद्दा तथा कुरूप हुने सम्भावना बढेर जान्छ । देशको पछिल्ला राजनीतिक अभ्यास वा घटनाक्रमलाई हेर्ने हो भने समानुपातिक व्यवस्थाको खिल्ली उडाइएको पाइन्छ ।

समानुपातिक व्यवस्थाका प्रवर्तक भएका दाबी गर्ने माओवादी र मधेशवादीले विगतमा समानुपातिक सिट(सभासद् वा सांसद) को बेचबिखनमात्रै गरेका थिएनन् अपितु समानुपातिक निर्वाचन प्रणालीलाई नातावाद, द्रव्यवाद र कृपावादको बन्धकमा पारे ।

केही समययता देशको राजनीति निर्वाचनमय बनेको छ । स्थानीय तह चुनावको समाप्तिपपछि अहिले केन्द्रीय र प्रादेशिक चुनावको तयारी हुँदैछ । यी चुनावका विभिन्न पाटा छन् । एउटा पक्ष हो, प्रतिनिधिसभालाई संविधानतः दिइएको ११० समानुपातिक सिट । जसलाई मधेशवादी दलले कसरी व्यवस्थापन गरिरहेको छ भन्ने पनि हो ।

दीपेन्द्र झा मधेशका उनै सपुत हुन् जसले कालो बादल मडारिएको मधेश मुद्दाको आकाशलाई आफ्नो रणनीतिक सुझबुझ र अकाट्य तर्कको बर्खाबाट निखारेका छन् । उनको बौद्धिक चातुर्य र वकालत गर्ने इलमबाट मधेशी दलहरू सदैव लाभान्वित भए तर मधेशवादप्रतिको चट्टानी अडानबाट विचलित नहुने उनको कदलाई बर्दाश्त गर्न सकेनन् र एउटा उत्तेजक जालझेलको प्रभावमा समानुपातिक सूचीबाट उनको नाउँ हटाइयो ।

झट्ट हेर्दा समानुपातिकतर्फ भइरहेको चलखेलले प्रत्यक्षतर्फ मधेशवादीले क–कसलाई टिकट दिँदैछन् भन्ने चर्चा छाँयामा परेको छ । यो स्वाभाविक पनि हो । विगतका गलत र कुरूप अभ्यासबाट त्रसित मधेशी मतदाता समानुपातिक सूचीमा अटाउने नामावलीलाई लिएर चनाखो भएका छन् । राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकतर्फ ढकाल र भण्डारीजस्ता थर भएकाको नाम समावेश गरेपछि यस्तो चासोमा थप वृद्धि भएको पाइन्छ ।

अधिकार प्राप्तिको लडाइमा होमिएका मुक्तिकामी मधेशी जनताको रगतले लतपतिएको संविधानमा शासकका रूपमा परिभाषित शासक वर्ग अर्थात् खस आर्यलाई मधेशवादीहरूले मानभाउ दिएर टाउकैमा बसाल्न खोजेका हुन् भन्ने यो अभ्यास अनौठो होइन । तर, समानुपातिकका लागि मधेशी लालहरूको कमी भएर यसो गरिएको हो भने यो दुःखदायी छ । मधेशको गर्भगृहबाट थुप्रा होनहार सपुत जन्मिएका छन् ।

मधेशका धेरै कलमवाज र वकालतकर्तामा संसदीय लडाइ गर्ने बर्कत छ । जो कुनै पनि बेला सदन हल्लाउन सक्छन् । काठमाडौका पाँचतारे होटलमा बसेर समानुपातिक कोटाको व्यपारीकरण गर्ने मधेशवादका मसिहाहरूले यो सत्यबाट आँखा चिम्लन सक्दैनन् । र, उनीहरूलाई कुनै पनि हालतमा मधेशका मतदाताले यस्तो छुट दिँदैनन् ।

आजभोलि अधिकारकर्मी अधिवक्ता दीपेन्द्र झाको एउटा फेसबुक पोस्टले समानुपातिक संसदीय सिटसम्बन्धी एउटा बहसको सिर्जना गरिदिएको छ । उनले लेखेका छन्, ‘कसले किन, कुन हिसाबले समानुपातिकमा नाम राखे र के हिसाबले झिके, राख्ने र झिक्नेलाई नै यो प्रश्नको उत्तर थाहा होला । कृपया मलाई नसोधिदिनु होला… ।’ हो, उनको नाम राजपाको जिल्ला संगठनबाट सिफारिस भई केन्द आएर छलफलको बिषय बने पनि रातारात सूचीमा झिकिनुले राजपामाथि प्रश्न र शंका तेर्सिन थालेका छन् ।

झा नअटाउने समानुपातिक व्यवस्थामा ढकाल र भण्डारीजस्ता नाम अटाउनुले मधेशवादीहरूको नैतिकता नै प्रश्नको घेरोमा परेको छ । अधिवक्ता झाको नाम समानुपातिकमा समावेश गरिनु र नाटकीय ढंगले हटाइनु मधेश राजनीतिका लागि अशुभ र दुखद संकेत हुन् । दीपेन्द्र झा मधेशका उनै सपुत हुन् जसले कालो बादल मडारिएको मधेश मुद्दाको आकाशलाई आफ्नो रणनीतिक सुझबुझ र अकाट्य तर्कको बर्खाबाट निखारेका छन् ।

उनको बौद्धिक चातुर्य र वकालत गर्ने इलमबाट मधेशी दलहरू सदैव लाभान्वित भए तर मधेशवादप्रतिको चट्टानी अडानबाट विचलित नहुने उनको कदलाई बर्दाश्त गर्न सकेनन् र एउटा उत्तेजक जालझेलको प्रभावमा समानुपातिक सूचीबाट उनको नाउँ हटाइयो । सूचीबाट अधिवक्ता झाको नाम झिकिएको खबरले आम मधेशीमा राजपा नेपालप्रति चर्को आक्रोश देखियो । जसको प्रमाण सामाजिक सञ्जालका भित्तामा पोतिएका रोषपूर्ण टिप्पणीहरू छन् ।

मधेशका लागि कानुनी लडाइ होस् वा ओझेलमा परेका मधेशी सहिद परिवारको कायापलटका विषय, उनको कार्यकुशलता सराहनीय र उल्लेखनीय रहँदै आएको छ । पत्रकार, विश्लेषक, सचेत पेसाकर्मीदेखि लिएर सबै तह र तप्काका युवाले अधिवक्ता झालाई राजपा नेपालले समानुपातिक सूचीमा नराख्दाको पीडा पोखेका छन् । अधिवक्ता झाले समानुपतिक सिटलाई स्विकार्नु भनेको राजपाको कद बढाउनु नै हो ।

उनी राजपाजस्ता पार्टीका लागि एउटा अमूल्य निधि हुन सक्छन् । तर यी कुरालाई बेवास्ता गरिँदैछ, कालान्तरमा यो प्रवृत्ति मधेशका लागि घातक हुन सक्छ ,। झा केवल एउटा पात्र हुन्, उनीजस्ता सयौं योग्य मधेशी सपुत छन् । जसमा सदन हल्लाउने तागत छ । आवश्यक छ, मधेशवादी दलले इमान्दार चश्मा लगाएर तिनको तलास गरुन् ।

प्रकाशित मिति: Oct 25, 2017

प्रतिक्रिया दिनुहोस्