जलउत्पन्न प्रकोप नियन्त्रण विज्ञ गुप्तालाई पत्रकार कर्णको खुल्ला पत्र
गुप्ता सर,
तपाईंको अन्तर्वार्ता हेरेँ । अत्यन्त महत्वपूर्ण र सामयिक विषयमा केन्द्रित छ । भूउपयोग नीति अभाव, प्राकृतिक स्रोतको दोहन आदि विषयमा तपाईंको धारणाप्रति असहमत हुने ठाउँ छैन । मूलतः चुरे विनासले नै बाढी निम्तिएको हो भन्ने कुरामा विज्ञको मतैक्य भइसकेको छ । यो बुझाइलाईं तपाईंका भनाइले भरथेग गरेको छ । तर, अन्तर्वार्ता हेर्दै जाँदा प्रश्नकर्ताले अपेक्षा गरेका उत्तर दिन तपाईं निकै सहज हुनुभएको र यसकै परिणामले गलत तथ्य पनि स्थापित हुने देखिएको हुँदा केही कुरा लेख्न मन लाग्यो ।
यद्यपि मेरा भनाइ सत्य हुन् भन्ने बालहठ म गर्र्दिनँ किनकी म प्राविधिक होइन । सरोकारवाला भएकाले यस्ता विषय जान्न उत्सुकचाहिँ रहन्छु । तपाईंले भन्नुभयो कोसी ब्यारेजका सबै ढोका नखोलिँदा उनी (भारतीय) बाँचे, हामी डुब्यौं । यथार्थ के हो भने सप्तरी डुबानका कारण पूर्वबाट बलान, खरक, खाँडो, महुली, सुनरी, जिता र तिलजुंगा आदि खहरे खोलामा आएको बेलगाम बाढीले हो ।
तपाईंले भनिसक्नुभएको छ कि खोला र खेतको सतह समान भएपछि पानी चुहिन्छ नै । अर्को कुरा, नदीको बेड लेभलकै कारण वर्षाको पानी नदी भएर बग्न असम्भव छ । र, यसका लागि संरचना पनि छैनन् । रह्यो कोसीको कुरा, म निरन्तर स्थानीयवासीको सम्पर्कमा छु । कोसीको एक थोपा पानीले कतै डुबान भएको छैन । नहर बन्द गरिएका छन् । बाँधबाहिर जलस्तर बढेपछि स्लुस गेट पनि ठप्प पारिएका छन् । बाँधमास्तिरबाट पानी बगेको खबर छैन । त्यसैले कोसीका ढोका नखोलिँदैमा बाढीको पानी बस्तीमा पस्यो भन्ने तपाईंको धारणा दुराशयपूर्ण, अनाधिकृत र अनुमानमा आधारित छ । जिम्मेवार सरकारी अधिकारीसँग यो अपेक्षा कदापि गर्न सकिँदैन ।
कोसी ब्यारेजबाट बाढी प्रवाह हुने अधिकता क्षमता ९.५ लाख क्युसेक छ । तर, तपाईंकै भनाइअनुसार २ लाख ७३ हजार क्युसेक पानी बग्दा जोखिमपूर्ण भयो । यो अप्राविधिक आकलन हो । यसले जनतालाई त्रसित बनाउँछ । हो, यो कठिन अवस्थाचाहिँ हो नै । जसबाट पार पाउन मृत्यु शैय्यामा रहेका बिरामीको ज्यान जोगाउन शान्त र स्थिर भएर एउटा कुशल चिकित्सकले उपचार गरेझैं ब्यारेज अपरेट गर्ने प्राविधिकहरूले धीरतापूर्वक ढोका खोल्ने वा बन्द गर्ने काम गरे । यो प्रक्रियामा संवेदना र उत्तेजनाले काम गर्दैन, गणितले काम गर्छ भन्ने कुरा तपाईंजस्तो वरिष्ठ विज्ञलाई बुझाइ रहनु परेन ।
पुनरुक्ति हुन्छ तर पनि भनौं । बाढीकै बेला ढोकाअगाडि थुप्रिएको सिल्ट क्लियरेन्स गर्ने हो । नभए यसले पानीको प्रवाहलाई तितरबितर पार्ने र यसले बाँध नै भत्किने खतरा हुन्छ । त्यसैले क्यालकुलेट गरेर कुन ढोका खोल्ने वा नखोल्ने निर्णय हुने हो । हिउँदमा सिल्ट क्लियरेन्स गर्न कठिन हुन्छ भन्ने श्रीमान्लाई मैले भन्न पर्दैन । सबै ढोका एकैपटक खोल्दा बिहार डुब्ने कुरा पनि असत्य हो । यसअघि कुसहामा कोसीकै पूर्वी तटबन्ध भत्किँदा सबै ढोका खोलिएका थिए र यसबाट बाढीको कहरबाट जोगिएकै स्थिति थियो । डुबान भएको होइन ।
अर्को सम्झिनैपर्ने कुरा, कोसी ब्यारेजबारे निर्णय गर्ने उच्चस्तरीय समिति यसको सम्झौतामै छ । जहाँ नेपालको उच्च भूमिकालाई स्वीकार गरिएको छ । तर, नीतिगत निर्णयमा मात्रै नेपालको सहभागिता हुने स्थिति देखिएपछि सन् २००० मा कोसी गण्डक संयुक्त समिति (जेसीडब्लुआर) बनाइएको स्मरण होला । यो समितिको गठन अपरेसनल लेभलसम्म नेपालको पहुँच बढाउन गरिएको हो । तपाईंले भनेझैं कोसीले नै डुबान भएको हो भने अहिले यो समितिमा रहने नेपाली अधिकारी कहाँ छन् ? उनीहरू किन बोल्दैनन् ?
अर्को कुरा जलउत्पन्न प्रकोप नियन्त्रणका लागि तपाईं आबद्ध विभाग सर्वेसर्वा होइन । उदाहरण, तपाईंको विभागले तटबन्ध बनाउँछ तर सहायक संरचना(स्परसम्म) अन्य निकायले निर्माण गरिरहेको अवस्था छ । तटबन्धमा बायोइन्जिनियरिंग कसले गर्छ ? अनि नदीमा सिँचाइका संरचना कसले बनाउँछ । अझ पुलपुलेसा त सडक विभाग, जिविस, गाविस(पालिका) आदिले पनि निर्माण गरिरहेको देखिन्छ । ती निकायले के आधारमा संरचना डिजाइन गर्छन् ? यो प्रश्न सोध्ने नेपालमा कुनै नियामक निकाय छैन ।
खोला अव्यवस्थित हुने भनेको बालुवा, ढुंगा र गिट्टीको दोहनमात्रै होइन, अवैध र अनुपयुक्त संरचना निर्माण पनि हो । जानकारीका लागि धनुषाको ढल्केवरमा एउटा नदीको बीचमै एकजना भूस्वामीले तटबन्ध बनाएका छन् । तर, यसको जिम्मेवारी तपाईंकै विभाग मातहतका जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन जनकपुरले लिएन । नदी नियन्त्रणका लागि गुरुयोजना छैन भन्नु गलत हुन्छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका लागि डा.विनोद भट्टको नेतृत्वमा चुरे संरक्षणका लागि बृहत् गुरुयोजना तयार भएको छ । जसमा नदी (खासगरी खहरे खोला) नियन्त्रण का लागि आधारभूत योजना समाविष्ट छन् ।
सरकारले यो गुरुयोजना अनुमोदन गरिसकेको तपाईंको विभागलाई थाहा होला नि ? अझ चुरे समितिद्वारा वित्तपोषित थुप्रा योजना तपाईंकै विभागमार्फत केही नदीमा सञ्चालित छन् । वागमती, कमला र लालबकैयामा भारतीय सहयोगमा तटबन्ध विकास हुँदैछ । लालबकैयामा चुरे समितिको पनि योगदान छ । तपाईंले भन्नुभयो, कोसीको पानी सिरहा हुँदै धनुषासम्म पुर्याउनुपर्यो । म सहमत छु । यस विषयमा तत्कालीन सिँचाइमन्त्रीले मैसँगको कुराकानीमा पूर्वपश्चिम राजमार्ग छेउबाट दुई नम्बर प्रदेशमा कोसीको पानी लाने महत्वाकांक्षी योजना सुनाउनुभएको थियो ।
यसो गर्नु प्राविधिक र आर्थिक रूपमा कति सम्भाव्य छ ? सरहरूले अध्ययन गर्ने विषय हो । तर, सन् १९९५ मा जाइकाले गरेको सम्भाव्यता अध्ययनमा कोसीको अपस्ट्रीमबाट पानी ल्याएर सिँचाइ गर्न सुनकोसी, ताबा र कमला डाइभर्सनको कुरा ल्याएको थियो । मैले बुझेअनुसार अहिलेको सरकारी योजना पनि यो नै छ । तपाईंले धनुषामा पानी ल्याउन मरिन भन्ने शब्दको प्रयोग गर्नुभएको छ । यसलाई म सतर्कहीनता भन्छु । मरिन खोलाको सन्दर्भ सुनकोसी र बागमती डाइभर्सनमा आउने हो । ताबा खोला उदयपुरमा छ र मरिन सिन्धुलीमा । अन्त्यमा, एकजना वरिष्ठ प्राविधिकको टिप्पणीमाथि प्रत्युत्तर लेख्ने दुस्साहस गरेँ । माफी पाउँ । सकारात्मक भएर लिनुहोला ।
तपाईंकै, एक जिज्ञासु
अनिलकुमार कर्ण
पत्रकार