Logo
१७ बैशाख २०८१, सोमबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावमा मतभेद : अधिकांश केन्द्रीय सदस्य चुनावको विपक्षमा

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख नेताहरूबीच स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जाने वा नजाने भन्नेबारेमा मतभेद देखिएको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपा नेपालको मंगलबारको केन्द्रीय समिति बैठक असोज २ मा हुने दुई नम्बर प्रदेशको निर्वाचनमा सहभागी हुने कि नहुने विषयमा छलफल केन्द्रित छ।

राजपाको अध्यक्ष मण्डलका सदस्यहरू नै चुनावलाई लिएर विभाजित देखिएका हुन् ।  तर, अध्यक्ष मण्डलका सदस्यहरूबीच नै निर्वाचनमा सहभागी हुने कि नहुने भन्नेबारे एक मत कायम हुन सकेको छैन।

केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरूले चुनावमा सहभागी हुने विषयमा फरकफरक धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी निर्वाचनमा नहुने बताएका छन्। केहीले चुनावमा भाग लिनुपर्ने बताएका छन् । राजपा नेपालका महासचिव केशव झाले आइतबारदेखि जारी केन्द्रीय समिति चुनावमा सहभागी हुने विषयमा नेताहरूले फरक–फरक धारणा राखेको बताए। उनले कसैले चुनावमा जान हुँदैन र कसैले जानु पर्छ भन्ने कुरा राखेको बताए ।

बैठकमा अधिकांशले संविधान संशोधन नभएसम्म निर्वाचनमा जान नहुने धारणा राखेको नेता सुरेश मण्डलले जानकारी दिए । उनका अनुसार यथास्थितिमै निर्वाचनमा जान नहुनेमा अधिकांश केन्द्रीय सदस्यको जोड छ। ‘संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा निर्वाचनमा जानु हुँदैन भन्ने धेरैले भनेका छन्,’ उनले भने । केन्द्रीय समिति बैठकमा समूहगत छलफलका लागि ३० वटा समूह बनाइएको छ । सोमबार १३ वटा समुहका टोली नेताले बैठकमा रिपोर्टिङ गरेका थिए भने मंगलबार बाँकी समूहका टोली नेताले छलफलको रिपोर्टिङ गरेका छन् ।

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी हुन नहुने धारणा राखेका छन् । उनले निर्वाचनअघि संविधान संशोधन भएमात्रै चुनावमा जानु पर्ने विचार बैठकमा राखेका हुन् । अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव निर्वाचन बहिष्कारको पक्षमा उभिएका छन् भने शरतसिंह भण्डारी र महिन्द्र राय यादवले चुनावमा भाग लिनु पर्ने पक्षमा वकालत गरेका छन् ।

अध्यक्ष मण्डलका सदस्यहरू भण्डारी र रायले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गर्दा पनि पार्टीका नेताहरू स्वतन्त्ररूपमा निर्वाचन लडेको र केही ठाउँमा जित पनि हासिल गरेकाले अब चुनावबाट पछि हट्न नहुनेमा जोड दिएका हुन् । अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले संविधान संशोधन पास नभए पनि दुई असोजमा हुने स्थानीय तह निर्वाचनमा जसरी पनि पार्टी सहभागी हुनु पर्ने मत बैठकमा राखेको एक नेताले बताए ।

उनका अनुसार नेता भण्डारीले चुनाव बहिष्कार गर्दा पार्टीका कार्यकर्ता विचलित हुने र स्वतन्त्र रूपमा चुनाव लड्ने भएकाले पार्टी चुनावमा जानुपर्ने धारणा पेश गरेका थिए । अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झाले भने निर्वाचन बहिष्कार गर्नुको अर्को विकल्प नभएको बताएका छन् ।

उनीहरूले संविधान संशोधन गर्न सरकार तयार नभएकाले निर्वाचनमा जानुको कुनै तुक नभएको बताएका छन्। ‘हाम्रा माग सम्बोधन नभएर चुनावमा जानु हुँदैन। संविधान संशोधन नभए कसरी चुनावमा जाने के एजेन्डा लिएर जाने? त्यसैले तेस्रो चरणको निर्वाचनमा पनि बहिष्कार गर्नुपर्छ,’ उनीहरूले बैठकमा भनेका छन् ।

 

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्