हाम्रो समाज : श्रावणमा हरियो चुरा र श्रृंगारको निहितार्थ
हाम्रो समाजमा श्रावण महिना शुरु भएपछि हिन्दू नारीहरूको वेशभुषामा अचानक नयाँ परिवर्तन आउँछ । उनीहरू हातमा काँचका हरियो चुरा सजाएर हिँडेका देखिन्छन् । हरियो रङ्गको प्रभाव पहिरनमा पनि देखिन्छ । यसमा विवाहित युवती वा अविवाहित उत्तिकै उत्साहित देखिन्छन् । अझ यसलाई बालिका तथा किशोरीहरूले पनि पछ्याएको पाइन्छ । सारी र कुर्था–सुरुवालमा मात्रै होइन जिन्स र स्कर्ट लगाउनेले पनि हरियो वा हरियोमा रातो, पहेँलो र सुनौलो रङ्ग मिसिएको चुरा लगाएर यस्तो फेसन अपनाएका हुन्छन् । हिन्दू धर्ममा श्रावण महिनालाई पवित्र महिनाको रूपमा लिइन्छ । धर्ममा आस्था राख्नेहरू भगवान शिवको आराधना गरी श्रावणको सोमबार ब्रत बस्ने गर्दछन् । यस्ता ब्रतालु महिलाहरू रातो हरियो लुगामा सिँगारिएर शिव मन्दिर गई पूजा–आराधना गर्छन् र दिनभरि उपवास बस्दछन् । सोमबारको दिन पुरुषहरू पनि गेरुवस्त्र धारण गरेर, जल बोकेर नाङ्गो खुट्टा शिवालयमा बोलबम बोलबम भन्दै भक्ति गरेका देखिन्छन् । बोलबम जमातमा महिलाहरू अझ बढी रमाएर मिसिएका हुन्छन् ।
तर, यो महिनाले विशेषगरि महिलाको ध्यान आकृष्ट गरेको देखिन्छ । यस्तो चलन आएको धेरै भएको छैन । विगत केही वर्षदेखि मात्र चलेको हरियो काँचको चुराको यो सांस्कृतिक फेसनले श्रावण महिनाभरि श्रृंगारका पसलहरूमा भीड बढ्छ र व्यापार पनि बढ्छ । यस्तो फेसन काठमाडौंबाहिरका शहरमा पनि छ । यसैले पहिले पहिले तीजको बेलामा मात्र बढ्ने चुराको ब्यापार अब आषाढदेखि नै फस्टाउन थालेको छ । ब्यापार बढ्नु नराम्रो कुरा होइन । कमाउनेले किन्छन् र उत्पादकले बेच्छन् । अर्थतन्त्रको यो प्रक्रियाले प्रगतिलाई सघाउने हो । तर चुरा उत्पादन गर्ने सामथ्र्य हामीसँग छैन । यसका लागि करोडौँ नेपाली मुद्रा विदेसिन्छ ।
हामी नेपाली निकै नै उपभोक्तावादी छौँ । विश्वव्यापीकरणले सहज बनाइदिएको श्वबजारबाट हामी छिट्टै आकृष्ट हुन्छौँ । झन् सञ्चारको अत्याधुनिक प्रविधिले हाम्रो हत्केलामै उपभोग्य वस्तुको नमुना हेर्न सक्दछौँ र घरमै बसिबसी पनि सामान किन्न सक्छौँ ।
घरमा काम चल्ने सामान छ भने पनि हामीलाई नयाँ चाहिन्छ र किन्छौँ पनि । हाम्रो यस्तो मनोविज्ञान बुझेको अर्को राष्ट्रले हाम्रै उपभोगका लागि भनेर वस्तु उत्पादन गर्दछ । उसले हामीतिर फाल्ने यस्ता पासा हामीमध्ये कतिपयले चालै पाउँदैनौँ र निरन्तर फेसनको पछाडी दगुरी रहेका हुन्छौँ ।
यो आलेखको मुख्य सरोकार अर्थतन्त्रको भन्दा पनि यसको सामाजिकता र समतापूर्ण समाजमा यसले कस्तो असर पारेको होला भन्नेतर्फ रहेको छ । खासमा यो प्रचलनको शास्त्रीय आधार कतै पाइँदैन । हाम्रा आमा–हजुरआमाहरूले पनि यो चलन थाहा नै नभएको बताउनुहुन्छ । वहाँहरूका अनुसार पहिले–पहिले तीजको समयमा मात्र हातभरि चुरा लगाउने चलन थियो । अझ केही वर्षअघिसम्म मेहन्दीको त प्रयोग नै थिएन । तराईका भुभागमा भने श्रावणमा हात खुट्टामा मेहन्दी लगाउने चलन थियो । पहाडमा मेहन्दी नपाउने भएकाले तिउरीको पात पिनेर हात रङ्गाउने चलन थियो ।
श्रावणमा मेहन्दी लगाउने संस्कृतिको पछाडि अनेक तर्क सुिनन्छ । तीमध्ये वर्षामा रोपाइँ गर्दा वा खेतबारीको अन्य काम गर्दा पानी र हिलोले औंलाको कापमा घाउ बनाउँछ र त्यस्तो घाउमा मेहन्दीको लेप लगाउँदा सञ्चो हुन्छ भन्ने धारणा जीवनको पक्षमा देखिन्छ । त्यसैगरि हरियो काँचको चुरा बारे पनि यस्तै एउटा लोकप्रिय मत छ । भनिन्छ– काँचको चुराको छन्…छन्….आवाज पर्यावरणमैत्री छ, ध्वनि मैत्री छ र यस्तो ध्वनिले वातावरणका नकारात्मक (नराम्रा शत्रुरुपी) तत्वहरूलाई रोकेर शरिरको रक्षा गर्दछ । यी तर्कहरूबारे वैज्ञानिक परीक्षण वा अनुसन्धान नभएकोले यी विज्ञानसम्मत छन् वा हावादारी, ठहर गर्न असजिलो छ ।
हरियो चुरालाई भारतको महाराष्ट्र र कर्नाटक प्रदेशमा दैवी गुण भएको तथा शान्तिको प्रतीकका रुपमा लिइन्छ । त्यसैगरी भारतकै उत्तर प्रदेशमा रातो चुरालाई शत्रु नाश गर्ने शक्तिका रुपमा लिइन्छ । यसरी भारतमा महिलाले हातमा लगाउने काँचका चुराका बारेमा यसको सकारात्मक पाटोका पक्षमा धारणा बनाइएको पाइन्छ । नेपालमा अधिकांश श्रृंगारका चलनहरू भारतबाट नैै आयातित हुन्छन् । यसर्थ हरियो चुराको संस्कृति पनि भारतबाट नै प्रवेश गरेको हो भन्न सकिन्छ ।
वास्तवमा श्रावण महिना प्राकृतिक हिसाबले रमणीय नै हुन्छ । पर्याप्त पानी पर्नाले वातावरण सफा भएको हुन्छ र रुख बिरुवा पनि हरियो भई जताजतै हरियाली छाएको हुन्छ । यही प्राकृतिक सत्यलाई जोड दिएको छ हरियो चुरा र हरियो लुगाको संस्कृतिले । यो संस्कृति अपनाउने कसैले वातावरण हरियाली भएर हरियो लुगा र चुरा लगाएको भन्ने तर्क दिन्छन् भने कसैले धर्म सँग जोडेर भगवान शिवलाई हरियो मन पर्ने हुनाले लगाएको कुरा गर्छन् । यहाँसम्म त ठीकै छ तर जब यो चलनको पछाडि महिला पुरुष बराबर हुनुपर्ने विषय आएर ठोक्किन्छ र विरोधाभास जन्मन्छ त्यसपछि समाजमा चल्नथालेको यो प्रचलनबारे बह र विमर्श शुरु हुन्छ ।
महिलाले मात्र व्रत बस्नुपर्ने र उनले मात्र आफ्ना पतिको आयु बढाउन शिवको पूजा तथा आराधना गर्नु पर्ने मान्यता समतामुखी समाजलाई बिल्कुलै नसुहाउने चलन हो । हरियो चुराको फेसनमा निहित भित्री मनसायले पनि यही अर्थ दिन्छ । अर्को पक्ष, बोल बम अभियानमा पुरुष वर्गको उल्लेख्य सहभागिता भए पनि त्यसको अधीष्ट आफ्नी पत्नीको आयु र समृद्धिको उत्तरोत्तर बढोत्तरीमा भन्दा अन्य कुरामा जोडिएको हुन्छ । यसैले श्रावण महिनाको हरियो चुरा, मेहन्दी, शिवको व्रत र बोल बमलाई हाम्रो संस्कृतिको अर्को फरक पाटो पनि रहेछ भनेर बुझ्नु अति आवश्यक छ ।
हामी नेपाली निकै नै उपभोक्तावादी छौँ भन्दा विमती नहोला । विश्वव्यापीकरणले सहज बनाइदिएको विश्वबजारबाट हामी छिट्टै आकृष्ट हुन्छौँ । झन् सञ्चारको अत्याधुनिक प्रविधिले हाम्रो हत्केलामै उपभोग्य वस्तुको नमुना हेर्न सक्दछौँ र घरमै बसिबसी पनि सामान किन्न सक्छौँ । घरमा काम चल्ने सामान छ भने पनि हामीलाई नयाँ चाहिन्छ र किन्छौँ पनि । हाम्रो यस्तो मनोविज्ञान बुझेको अर्को राष्ट्रले हाम्रै उपभोगका लागि भनेर वस्तु उत्पादन गर्दछ ।
उसले हामीतिर फाल्ने यस्ता पासा हामीमध्ये कतिपयले चालै पाउँदैनौँ र निरन्तर फेसनको पछाडी दगुरी रहेका हुन्छौँ । अहिले झण्डै सत्तरी प्रतिशत आयातको मारमा परेका हामी नेपाली झन् झन् परनिर्भर हुँदै गएका छौँ । अन्य उपभोग्य वस्तुका साथै हरियो काँचका चुरा पनि यसै वस्तुमा पर्दछ । तर एउटा रमाइलो समाचार पनि छ– महिला समुदायभित्र यो वर्ष एउटा अलग धार पनि जन्मिएको देखिएको छ । त्यो धारले स्पष्ट भनेका छन्– हामीलाई हरियो चुरा लगाउने कुनै सोख छैन ।