Logo
५ जेष्ठ २०८१, शनिबार
(July 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लण्डनबाट प्रशन : को हुन् ‘एकपटकको नेपाली, सधैंको नेपाली’ ?

सेन्टर लण्डन जाने दुईतले रातो बसमा चढ्दै गरेको बखत, माथिल्लो तलाको पछाडिको सिटमा बस्ने दुई अधवैंशे नेपालीमध्ये एक, फोनमा कसैसँग बोल्दै गरेको स्पष्टै सुनिन्थ्यो–….त्यो पाल्पाली ढाकाको टाई र स्टकोट मेरो लागि, …. अँ..अँ.. तेरो साइजको र तेरो भाउज्यूको लागि ढाकाको पछ्यौरा पठाइदे, …ए झण्डै भुल्या….त्यो अस्ति नै भन्याथेँ नि ?….खुकुरी, …..हो, तर चाँदीले बेरेर माछापुछ«े हिमालको चिन्ह जडेकोचाहिँ पठाउनु, कर्द पनि भा’को है ? जति परे नि म व्यओर्छु ।…..हुन्छ, हुन्छ ।….
ढाकाको टोपी नै लगाएर लण्डन कुद्ने बसमा यात्रा गर्दै, पोखरामा आफ्नो काकाको छोरोसँग बोल्दै गरेको, रमाइलो देखिने विनोद गुरुङ थिए । फोन राखेपछि भन्दै थिए …नेपाली देखिएर बेलायताँ बस्ने मज्जा नै बेग्लै खाले हुँदो र’छ गोराका अगाडि ।…. ‘अनि यहाँको नागरिकता लिइसकेर यहाँकै रैथाने भइसकेको अवस्थामा देशअनुसारको भेष गर्नुपर्ने होइन र हामीले ?’ भन्ने प्रश्नमा उनी केही गम्भीर भएका थिए….,.‘हेर्नुस्, याँ केही हाम्रा मान्छेहरूमा त्यो भरम छ । हाम्लाई बेलायतले गोरा बनाउनका लागि हाम्लाई पखालेर, टल्कार अनि रंग्यार याँको नागरिकता दिया होइनन्, कानूनले हाम्लाई हाम्रो संस्कृति अनि परम्परासितै राख्या हुन् र आफ्नो परम्परा अनि संस्कृति मान्छेको आफ्नो अस्तित्व हो । यो काम गर्ने थलो हो, याँको कानून र व्यवस्थाहरूमा रम्दै हाम्लाई आफ्नो अस्तित्वको सम्मान गर्न पाउने अधिकार हुन्छ, बुझ्या हो ?’.

-प्रकाश केसी, लण्डन

नेपालबाट विदेशमा निर्यात हुने बस्तुहरूमा, मुख्यतः हस्तकलाका सामान रहेका छन् । तर खासगरी यो दशकमा आएर हस्तकलाका साथै नेपाली संस्कृति अनि रैथानेपन दर्शाउने बस्तुहरू, जातजातिका पारम्परिक भेषभुषाहरू, पारम्परिक जातीय परिचायक समेटेका साँस्कृतिक समानहरू आदि ज्यादा निर्यात भएका छन् र निःसन्देह ती सामानहरूका क्रेताहरूका ठूलो संख्या भनेका, विदेशमा बस्ने नेपाली अर्थात् गैरआवासीय नेपालीहरू हुन् । संसारको कुनै पनि देशमा बस्ने कुनै पनि नेपालीका घरमा गएर हेर्ने हो भने नेपाली झण्डा, नेपाली ढाका टोपी, पछ्यौरा आदि पक्कै नै देख्न सकिने छ । एक तथ्यांकअनुसार, अमेरिकामा नेपाली झण्डाको खपत अन्य हस्तकला तथा गार्मेन्ट भन्दा ज्यादा भएको थियो केहीअघि । यस्तैमा, नेपाली साँस्कृतिकताको प्रवर्धनहेतु अहिले विस्तारै गैरआवासीय योजनाअनुसार हरेक देशमा एउटा नेपाल हाउस खोलिँदै छ, जहाँ सम्पूर्ण रुपमा नेपाल अटाइने छ, तथापि विभिन्न देशहरूमा नेपाली जातजातिका आआफ्ना कम्युनिटिहलहरू पनि थुप्रिँदै छन् । त्यसैले त्यस्ता सामानहरूको खपत निर्यातमा बढोत्तरी पक्कै नै हुनेछ ।
यही अक्टोबरमा, काठमाडौंमा हरेक दुई वर्षमा एकपटक हुने गैरआवासीय नेपालीहरूको भेला हुन गइरहेको छ र त्यसैको पूर्वाद्धमा, विभिन्न संसारका ७५ देशहरूमा राष्ट्रिय समन्वय परिषदको चुनाव हुँदै छ । एकातिर कन्द्रीय कार्य समितिको चुनावको चुनावी चहलपहल बढ्दैछ भने त्यसैको हाराहारीकै चहलपहल, राष्ट्रिय स्तरमा ती ७५ देशहरूमा चल्दै छ । वर्मा गए पनि कर्मसँगै भनेजस्तै गैरराजनीति, गैरजातीय, वर्गीय अनि क्षेत्रीय स्वरुपको संगठन मानिने गैरआवासीय नेपाली संघ अहिले सर्वत्र त्यही अवस्थाले रङ्गिएको चाहिँ छ र त्यही क्रमले राष्ट्रिय स्तरमा आआफ्नो गुट वा प्यानलहरू तयार पार्ने क्रमहरू केन्द्रीय तहबाटै चल्दैछन् र त्यहीअनुरुप राष्ट्रिय स्तरमा चुनावी गति लिइरहेको छन् ।

सन् २००३ को अगस्ट महिनामा, लण्डनमा एक सानो भेलाले पारित गरेर त्यही सालको अक्टोबरमा गैरआवासीय नेपाली संघको पहिलो अधिवेशन काठमाडौमा भएको थियो । ‘एकपटकको नेपाली, सँधैको नेपाली’ भन्ने नाराका साथ शुरु भएको गैरआवासीय नेपाली संघमा अहिले ७५ मुलुकहरूमा बस्ने झण्डै ६० लाख नेपालीमूलका वा नेपालीहरू बसोबास गर्दछन् । निश्चय नै यो उल्लेखनीय संख्या हो । दुई वर्षभन्दा ज्यादा अवधि विदेशमा बिताउनेहरू गैरआवासीय नेपालीहरू हुन् भन्ने परिभाषाले गैरआवासीय नेपालीको परिचयको स्पष्टता व्यक्त्याउन सकेको छैन । नेपाली पासपोर्ट र नागरिकता बोक्ने नेपालीहरू सँधै नै वहालवाला नेपाली नागरिकहरू हुन्, तिनलाई दुई वर्ष, विदेशमा बस्दैमा गैरआवासीय नेपाली संघभित्रका नेपाली हुनु जरुरी हुँदैन, मान्य सो अर्थमा हुँदैन । तिनको अस्तित्वको रक्षा वा जिम्मा ती देशमा भएका नेपाली दूतावासले लिएका हुन्छन् वा प्रतिनिधित्व गरेका हुन्छन् । विदेशी नागरिकता लिएकाहरू नै वास्तवमा…एक पटकको नेपाली, सँधैको नेपाली भन्ने नाराभित्र पर्दछन् ।

हुन त, आश्विन १, २०७२ गैरआवासीय नेपालीलाई नयाँ संविधानले नागरिकता दिने व्यवस्था गरेको छ, जसबाट बताइएअनुसार माथि उल्लेख गरिएको झण्डै ६० लाख मध्येबाट करीव ४०,००० विदेशी पासपोर्टबाहकहरू मात्रै लाभान्वित हुनेछन् । संविधानमा उल्लेख गरिएको छ… ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको सार्क बाहेकमा बसोबास गरेको साविकमा वंशजको वा जन्मको आधारमा निज, निजको बाबु, आमा, बाजे, बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ,’ । तर यसलाई कार्यान्वयन गर्ने कानून नबनिसकेकोले यो अहिले कागजमा नै सीमित छ । र अहिले राजनीतिक अधिकार नदिएकोमा बेलायतको लिभरपुलमा एक प्राज्ञहरूको टोलीले असन्तोष व्यक्त गरी त्यसलाई सच्याइनको लागि, बेलायतका लागि नेपाली राजदूतमार्फत् नेपाल सरकारलाई आग्रह गरेका छन् ।

सन् २००५ बाट बेलायतमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदको विधिवत स्थापना भएको थियो । लगभग ३०,००० नेपाली आप्रवासीहरूको जनसंख्या भएको सो बखत नेपालीहरूको ठूलो संस्थाको रुपमा बेलायतमा यती नामक संस्था रहेको थियो । त्यसपछि बेलायतमा नेपालीहरूको स्थायी बसोबास गर्ने क्रम बढ्दै गयो र अहिले अनुमानित रुपमा डेढ लाखभन्दा बढी रहेको बताइएको छ । एक जमानामा सबैको साझाजस्तै बन्दै गएको यती संस्था निक्कै नै साँघुरिएको छ भने जातीय संस्थाहरू एकपछि अर्को बन्दै र विशाल अनि शक्तिशाली हुँदै गएका छन् । तर त्यसैमा सबैको साझा सँस्था बन्न सक्ने अवस्थामा रहेको गैरआवासीय नेपाली संघको बेलायत शाखामा व्यापक रुपमा राजनीति व्याप्त रहेको छ भने पछिल्लो समयमा आएर यसभित्र जातीयताले प्राथमिकता पाएको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ, बेलायतमा विशेषगरी मानिएको अवधि भनेको सन् २००९ देखि २०११ को हो । सूर्य गुरुङ्गको नेतृत्वको त्यो कार्य समितिले उल्लेखनीय काम खासै नगरे तापनि समाजमा सो संस्था प्रतिको गरिमालाई उच्च तथा भरपर्दो भने पारेको थियो । त्यसपछि कूल आचार्यको दुई वर्ष अनि एक एक वर्ष गरी योगेन क्षेत्री र महेन्द्र कँडेलको अवधिले समाजमा संस्थाप्रति निक्कै नै नकारात्मक प्रभाव पारेको थियो ।

जबसम्म आम मनमा एनआरएनएको महत्व तथा परिचयले ल्याउने लाभांशको बारेमा सूचित गर्न सकिँदैन, जबसम्म यस संस्थामा लाग्नु भनेको सामाजिक प्रतिष्ठा मात्रै हो भन्ने भान हुन्छ, अनि जबसम्म पैसावालाहरू मात्र होइन पैसा नहुने तर विद्धता हासिल गर्नेहरूले नेतृत्व दिन खोज्दैनन्, तबसम्म संस्थामा सदस्यहरू स्वस्फूर्त रुपमा बढ्ने क्रम आउला भनेर सोच्न खासगरी बेलायती परिवेशले दिँदैन ।
एनआरएनएलाई पैसावालाहरूको संस्था भनिन्छ । सयौं कार्यक्रमहरूको आयोजना गर्नुका साथै नेपालमा परेको आपतविपतदेखि आआफ्ना देशहरूमा बसोबास गर्ने नेपाली समुदायहरूमा पर्ने आपतविपदहरूमा प्रमुख रुपमा आर्थिक सहयोग गर्ने संस्थामा धेरैजसो रुपमा एनआरएनए नै पर्दछ, केही अपवादवाहेक । हुन पनि, नेपालमा आर्थिक विकासमा लगानी भित्र्याउने भनेर मुख्य रुपले लाग्ने यस संस्थाबाट यसरी आशा गरिनु र यसलाई त्यसरी परिभाषित गर्नु अति होइन, सान्दर्भिक नै हो । र त्यही आशयले यस संस्थामा लाग्नेहरूले संस्थाबाट कमाउने होइन, गुमाउने हुन्छ । आफ्नो समयको साथसाथै प्रशस्तै पैसाहरूको लगानी गर्ने यसै संस्थाको बेलायत शाखामा मुख्य रुपमा आचार्य र उनीपछि एकएक वर्षका लागि नेतृत्व लिने क्षेत्री अनि कँडेललाई बेलायतमा पैसा खाएको, पदको दुरुपयोग गरेको जस्तो आरोपहरू सार्वजनिक हलमा सबैको सामुन्ने लगाइयो ।

आफूले आफ्नो पक्षका लागि आफैले सदस्य शुल्क तिरी सदस्यहरू बटुल्ने तिनलाई पैसा खाएको आरोप लगाइनु हास्यास्पद थियो । त्यतिखेर ‘मेरोयूकेडटकम’ले आफ्नो सम्पादकीयमा ‘अब बेलायतमा व्यक्तिले होइन, संस्थाले वा संस्थाको प्रतिनिधिले गैरआवासीय नेपाली संघको बेलायत शाखाको नेतृत्व लिनुपर्दछ, जसको शुरुवात तमूहरूले गर्नुपर्दछ…’ भनी लेखेको थियो । सोही किसिमले नै तदनुरुप सन् २०१५ देखि २०१७ सम्मको लागि तमू धिं यूकेका भूपू अध्यक्ष मूक्षेत्र गुरुङको नेतृत्वमा एक विशाल आकारको गैरआवासीय नेपाली संघ, बेलायतको कार्यकारी समिति तयार भएको थियो, जसले यही सेप्टेम्बर ०९ तारिखदेखि आफ्ना पदाभार सुम्पँदै छ ।
आगामी कार्य समितिको नेतृत्व गर्नका लागि गत दुई कार्यकालदेखि उपाध्यक्ष भइरहेका वर्तमान उपाध्यक्ष हिराधन राई, एक कार्यकाल उपाध्यक्ष भइसकेका वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कृष्ण तिमिल्सिना र अर्का वर्तमान उपाध्यक्ष योगकुमार फगामी तथा आफ्नो फेशबुक वालमा उमेदबारी दिने घोषणा गरेका अर्का उपाध्यक्ष डासुराम पाण्डेबीच नेतृत्वको लागि चुनावी चहलपहल शुरु भइसकेका छन् ।

हिराधन राईलाई योपालि राई तथा लिम्बूहरूको व्यापक सहयोग मिल्ने पक्का छ र उनी किरात राई यायोक्खाका संस्थापक सदस्य हुन् । विगत चार वर्षदेखि लगातार रुपमा गैरआवासीय नेपाली संघ, बेलायतको उपाध्यक्ष बनेका हिराधन राईसँग यस संस्थासँगको व्यापक अनुभव एकातिर छ भने अर्कोतिर एनआरएनए अभियानलगायत रोजिहिरा फाउन्डेशन नामक च्यारिटिमा सक्रिय रुपमा समाज सेवामा लागेका छन् । बेलायतस्थित नेपाली समाजको हितको लागि आफूले वर्तमान कार्यसमितिको लागि सम्झौता गरेको र योपालि पनि गर्न सक्ने तर समाजले उनको योगदानको कदर गर्दै आफूलाई जिताउनेमा आफू विश्वस्त भएको बताउने राईले एक औपचारिक कार्यक्रम गरी अध्यक्ष पदको प्रत्यासीको लागि घोषणा गरिसकेका छन् ।

यस्तै, अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका बेलायती नेपाली समाजमा निकै सहयोगी, तथा समाजसेवी वर्तमान आईसीसी सदस्य कृष्ण प्रसाद तिमिल्सिनाले समाजले आफ्नो काम तथा समाज अनि संस्थाप्रतिको लगनलाई ध्यानमा दिएर गैरआवासीय नेपाली संघ, बेलायतको अर्को कार्यकारी चरणको नेतृत्व गर्ने मौका दिनेमा ढुक्क भएको बताउँछन् । उनले अगस्टमा एक औपचारिक कार्यक्रम गरी आफू सार्वजनिक हुने बताउँछन् । फेसबुकको आफ्नो वालमा अध्यक्षको लागि आफ्नो उमेदबारीलाई सार्वजनिक गर्ने वर्तमान उपाध्यक्ष तथा मोना यूकेका अध्यक्ष योग कुमार फगामीले केहीपछि औपचारिक रुपमा घोषणा गर्ने बताएका छन् । मगर सँघ तथा मोनाबाट प्रशस्तै सहयोग मिल्ने फगामीले तीव्र गतिमा चुनावको प्रचारप्रसार थालिसकेका छन् । अर्का आफ्नो फेशबुक तथा दैनिक नेपालको अनलाइन एडिसनमार्फत् सार्वजनिक भएका उपाध्यक्ष डासुराम पाण्डेको चर्चा बाहिर खासगरी चुनाव प्रचारप्रसारको लागि सुनिएको छैन । उनको फेशबुकमा उनले आफूलाई भोट दिन आग्रह गरेका छन् ।

पहिलेको जस्तो गरी आफै पैसा हालेर सदस्यता बटुल्ने परिपाटी योपालिदेखि बन्द हुने ठूलो विश्वास राखिएको छ। त्यसको पहिलो कारणचाहिँ सदस्य शुल्क १० पाउण्डबाट बढाएर २५ पाउण्ड बनाइनु हो भने अर्कोचाहिँ अनलाइनपद्धतिबाट सदस्यता वितरण गरिने चलन चलाइनु हो भन्ने मानिएको छ । यद्यपि, गत साल उही १० पाउण्ड शुल्क पनि बढी भयो भनी कार्यसमितिमै सो शुल्क रकम घटाउनका लागि भनिएको थियो तर योपालि, फैशला नबदलिने गरी १० पाउण्डबाट २५ पाउण्ड दर कायम सर्वसहमतिबाट पारित गरिएको बताइएको छ, जसमध्ये १० पाउण्डचाहिँ एनआरएनए भवनको लागि जाने कुरा व्यक्त्याइएको छ । तर पच्चीस पाउण्ड तिरेर बेलायतमा केही देखिएका अनि हामी नै एनआरएनएको अधिकारी हौं भन्नेहरूका लागि खेल खेलिने माध्यम बन्न नचाहनेहरूको समूहहरू तयार हुँदै गरेको पनि जानकारीमा आएका छन् ।

जे र जस्तो कारण तथा योग्यता देखाए पनि योपालि जातीय संस्थाको सहयोगबिना अध्यक्ष पदमा विजय कोही हुन सक्लान् जस्तो देखिएको छैन र यदि जिते पनि तिनलाई अन्यले सजिलै आफ्नो कार्यकारी चरण पार गर्न दिने छैनन् भन्ने घटनाहरूको भुक्तभोगी हुनेहरू सबैले सजिलै अनुमान लगाउन सक्दछन् । डेढ लाख नेपाली रहेको यूकेमा संस्थाको नेतृत्वको लागि भोट हाल्नको लागि निम्नतम संख्याको किटानी हुनु जरुरी छ । वर्तमान कार्यसमिति (जसलाई अर्को सफल कार्यकालको रुपमा लिन थालिएको छ) मा साधारण सदस्य संख्या ४,००० रहेको बताइएको थियो । डेढ लाखबाट जम्मा चार हजारले चुन्ने कार्यसमितिले सबैलाई प्रतिनिधित्व गरेको आफैमा अनौठो लाग्दो हुन्छ ।

एनआरएनको परिचयपत्र बोक्नेहरूले कतिपय पसलहरू, रेष्टुरेन्टहरूमा छुट पाउने क्रमको शुरुवात भइसकेको छ । जबसम्म आम मनमा एनआरएनएको महत्व तथा परिचयले ल्याउने लाभांशको बारेमा सूचित गर्न सकिँदैन, जबसम्म यस संस्थामा लाग्नु भनेको सामाजिक प्रतिष्ठा मात्रै हो भन्ने भान हुन्छ, अनि जबसम्म पैसावालाहरू मात्र होइन पैसा नहुने तर विद्धता हासिल गर्नेहरूले नेतृत्व दिन खोज्दैनन्, तबसम्म संस्थामा सदस्यहरू स्वस्फूर्त रुपमा बढ्ने क्रम आउला भनेर सोच्न खासगरी बेलायती परिवेशले दिँदैन । मान्छेहरूलाई खुशी पार्नकै लागि भनेजस्तै गरी पदहरूको सिर्जना गरिनु, कामको भन्दा प्रचारको ज्यादा भोकाहरू संस्थामा भरिँदै जानुले पनि संस्थाप्रति आम मनमा उदासीनता पलाउनु सान्दर्भिक हुन्छ । तथापि हरेक आप्रवासी नेपालीहरू सदस्यता लिएर गैरआवासीय नेपाली संघको साधारण सदस्य नबने तापनि नेपालको कानूनी आधारमा विधिवत गैरआवासीय नेपाली नागरिक हुन्, र हरेक गैरआवासीय नेपालीहरूका मनमा पोखराका विनोद गुरुङको मनमा जस्तै नेपालीपन, आफ्नोपन, आफ्नो अस्तित्वसरह झाङ्गिँदो छ ।

प्रकाशित मिति: Jul 23, 2017

प्रतिक्रिया दिनुहोस्