Logo
९ आश्विन २०८०, मंगलबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन, माओवादी हारको ८ कारण : वैद्य, विप्लव, र डा. भट्टराईलाई पार्टी एकता गर्न आग्रह

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोहन वैद्य, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकताका लागि आग्रह गरेका छन् । बैठकले पार्टी एकता, मुख्यतः मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र विप्लव समेतलाई एमता प्रक्रियामा आउन आह्वान गर्ने निर्णय गरेको प्रचण्डले बताए । शहीदका सपना र परिवर्तनका मुद्दालाई अघि बढाउन सबैले सोच्नुपर्ने दिन आइसकेको प्रचण्डले बताए ।

माओवादी केन्द्रको सेक्रेटरियट बैठकमा निर्णयहरु सार्वजनिक गर्न पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले सबै माओवादीका घटकहरुलाई एकता प्रक्रियामा आउन आग्रह गरेका हुन् । स्थानीय तहको चुनावले माओवादी केन्द्रलाई नै वैकल्पिक शक्तिको मूल धार बनाएको भन्दै अब आफूले सबै माओवादी घटकलाई एकतावद्ध गराउने दायित्व सिर्जना भएको उनले बताए ।
यसैवीच माओवादी केन्द्रको बैठकले प्रक्ष्यक्ष निर्वाचित कार्यकारी अधिकार सहितको राष्ट्रपतीय प्रणालीमा जोड दिने निर्णय गरेको छ ।

हिलो संविधानसभापछि प्रत्यक्ष कार्यकारी प्रणाली जाने सर्वसम्मत सहमति भएको थियो भन्दै प्रचण्डले दोस्रो संविधानसभापछि कांग्रेस र एमाले पछि हटेकाले पुरानै संसदीय प्रणालीमा जानुपरेको प्रचण्डले बताए । प्रचण्डले भने- ‘२००७ सालदेखि ०७४ सम्म पनि नेपालले कम्तिमा ५ वर्ष चल्ने सरकार पाउन सकेको छैन । १० वर्षमा १० वटा सरकार फेरिने जनताले स्थिर राजनीतिक प्रणालीको अपेक्षा गरेका छन् । कम्तिमा यो स्थितिको अन्त्य गरी ५ वर्ष चल्ने शासन प्रणाली बनोस् ।’ हिजो त प्रचण्डको पार्टी ठूलो छ, उसैले राष्ट्रपति जित्छ भन्ने कांग्रेस एमालेलाई लागेको भए पनि अब त्यस्तो अवस्था नरहेको उनले बताए ।

माओवादी बैठकले निर्वाचन प्रणालीलाई पनि फेर्नुपर्ने प्रस्ताव गरेको छ । माओवादीको प्रस्ताव राष्ट्रपतिको चुनाव प्रत्यक्ष गर्ने र संसदको चुनावचाहिँ पूर्ण समानुपातिक बनाउनुपर्ने भन्ने छ । प्रचण्डले अहिलेको चुनाव प्रणालीको आलोचना गर्दै भने- ‘चुनाव साह्रै खर्चिलो हुन थाल्यो एउटा गाउँपालिकाको निर्वाचनमा ५/७ करोड खरोड खर्च गरेको पाइयो । अब प्रदेशमा डबल होला । केन्द्रमा त्यस्तै । गरीब गुरुवाले त छाडौं, मध्यम वर्गले पनि चुनाव लड्न नसक्ने अवस्था आयो ।’

शहरमा बढी खर्च गर्नुपर्ने भएकाले आफूहरुले नजितको प्रचण्डले निश्कर्ष सुनाए । उनले भने- ‘निर्वाचन प्रणाली पनि हाम्रो देशको हित अनुकुल हुनेगरी बनाउनुपर्छ । राष्ट्रपतिको चुनाव गर्ने हो भने प्रत्यक्ष प्रणाली पनि भयो, समानुपातिकबाट संसद बनाएपछि खर्च गरिराख्नु परेन । आफूहरुले कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणालीको परिमार्जनका लागि आन्दोलन गर्ने नभएर छलफलमात्रै चलाउने प्रचण्डले स्पष्ट पारे । उनले भने- ‘हामीले संघर्ष गर्छौं भनेका छैनौं, छलफल गर्ने भनेका छौं । जनतालाई राष्ट्रपतीय प्रणालीमा आउनोस् भनेका छौं । निर्वाचन प्रणालीमा छलफल गरौं भनेका छौं ।

विगतमा माओवादीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाऔं भन्दा कांग्रेस र एमाले चाहिँ प्रत्यक्षको पक्षमा उभिएर घमासान परेको प्रचण्डले बताए ।

नेकपा एमाले सबैभन्दा ‘कन्जरभेटिभ’ पार्टी भएको माओवादीको ठहर
यसैबीच, नेकपा माओवादी केन्द्रले नेकपा एमाले कांग्रेस भन्दापनि पुरातनवादी (कन्जरभेटिभ) पार्टी भएको ठहर गरेको छ । एमालेले वामपन्थी भोट काटेका कारण आफ्नो पोजिसन कमजोर भएको माओवादीको निश्कर्ष छ । राजधानीमा पाँच दिनसम्म चलेको माओवादी केन्द्रको सचिवालय बैठकले एमाले वामपन्थी शक्ति भन्दापनि कन्जरभेटिभ शक्तिमा रुपान्तरण भएको निश्कर्ष निकालेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई हेर्ने दृष्टिकोणमा प्रष्ट हुनुपर्ने बताएका थिए ।

माओवादी समावेशी, समानुपातिक प्रतिनिधित्वको पक्षधर रहेको तर एमालेले समावेशीकरणको विरोध गरेका कारण एमाले कन्जरभेटिभ रहेको नेता मणि थापा तर्क छ । ‘एमालेलाई वामपन्थी देख्ने दृष्टिकोण गलत भयो, एमाले कांग्रेस भन्दापनि कन्जरभेटिभ फोर्स बन्यो भन्ने हाम्रो निश्कर्ष रह्यो’ माओवादी केन्द्रका नेता थापाले भने, ‘वामपन्थी शक्ति भन्दापनि एमाले अन्तराष्ट्रिय प्रतिक्रियावादी शक्तिहरुको प्रतिनिधत्वको रुपमा आयो ।’ त्यस्तै, माओवादीले चुनावमा गणतन्त्र र परिवर्तन पक्षधर शक्तिसंगमात्र तालमेल गर्ने निर्णय गरेको छ । माओवादीले चुनावलाई उपयोग नभइ रुसमा लेलिनले जस्तै ‘रणनीतिक उपयोग’ मात्र गरेको व्याख्या गरेको छ ।

माओवादी केन्द्रले महाधिवेशन आयोजक समिति भद्दा हुँदा संगठन लथालिंङ्ग भएको ठहरसहित केन्द्रीय समिति दोहोरो अंकमा सीमित गर्ने निर्णय गरेको हो । प्रदेश स्तरमा क्षेत्रीय भेलाको आयोजनागरी केन्द्रीय सदस्य घटाउने प्रस्ताव लगिने नेता थापाले बताए । केन्द्रीय समिति ९९ सदस्सीय, स्थायी समिति ३३ सदस्सीय र स्थायी समिति ११ सदस्सीय बनाउने माओवादीको तयारी छ ।

चुनाव हारको आठ कारण :
यसैबीच, पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा अपेक्षाकृत नजिता नआउनुको कारण माओवादीले खोजि गरेको छ । साउन २ देखि साउन ७ सम्म चलेको केन्द्रीय सचिवालयको विस्तारित वैठकबाट माओवादीले चुनाव हारको कारण खोजेको हो ।
पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा चुनावमा अपेक्षाकृत नजिता नआउनुको कारणसहितको विज्ञप्ती पढिएको थियो । माओवादीले निम्न ८ ओटा कारणले माओवादी चुनाव हारेको ठहर गरेको छ ।

कारणहरु यसप्रकार रहेका छन :
१ वैचारिक राजनैतिक कार्यदिशामा स्पष्टताको कमी
२ पार्टी विभाजनको असर
३ संगठनात्मक अराजकता र कमजोर जनसम्बन्ध
४ बैठक बस्न नै कठिन हुने भारी भरकम कमिटि
५ निर्वाचन परिचालनमा अनुभव र कुशलताको कमी
६ उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको पहिचान र अधिकार स्थापित गर्ने पहल र सक्रियतामा कमी
७ पार्टीभित्र देखिएको गुटबन्दी र घात अन्तरघातको दुष्प्रभाव
८ पार्टी र पार्टी नेतृत्वको सरकारबाट भए गरेका राम्रा कामहरुको व्यवस्थिति प्रचारको कमी

प्रकाशित मिति: Jul 23, 2017

प्रतिक्रिया दिनुहोस्