Logo
५ जेष्ठ २०८१, शनिबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपयोग गर्न मिल्ने समय बाँकी रहेका औषधि जलाइयो

सप्तरी । जिल्ला जनस्वास्थ्य कार्यालयले उपयोग गर्न मिल्ने समय बाँकी नै रहेका औषधिसमेत जलाउका छन । शुक्रबार दिउँसो जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले म्याद गुज्रिएको भन्दै लाखौंको औषधि जलाइएको हो तर तर, त्यससँगै उपयोग गर्न मिल्ने समय बाँकी रहेका औषधिसमेत जलाइएको खुलेको हो ।

जनस्वास्थ्य कार्यालयको प्रांगणमा औषधि जलाएको देखेपछि सेवाग्राही गएर हेर्दा म्याद बाँकी रहेका बिभिन्न किसिमका औषधि समेत जल्दै गरेको पाए । लगतै उनीहरुले सञ्चारकर्मीलाई बोलाए । त्यहाँ पुगेर हेर्दा प्रत्यक्षदर्शीले भनेजस्तै देखियो ।

औषधिसँगै ओछ्याउने डसनाहरु पनि जलिरहेका थिए । म्याद बाँकी रहेका औषधि समेत आगोमा डढिरहेको हेर्दा कर्मचारीहरुसँग प्रश्न गरियो, ‘किन जलाइएको ? त्यसो त सप्तरीका धेरै स्वास्थ्य संस्थाहरुमा अहिले पनि अत्यावश्यक औषधिको अभाव छ । कुनै औषधि छँदै छैनन् भने कुनै आवश्यकता अनुसार छैन ।

तर, जिल्ला जनस्वास्थ्य कार्यालयले भने सरकारले उपलब्ध गराएको धेरै औषधि स्टोर रुममा थुपारेर म्याद गुजारेको पाइएको छ । साथै ‘एक्सपायर’ भएकासँगै उपभोग गर्ने म्याद भएकै औषधि पनि जलाएको पाइएको छ । औषधिहरु नष्ट गर्ने क्रममा मुचुल्का समेत नउठाएको भेटिएको छ ।

कार्यालय प्रमुख नागेन्द्रप्रसाद चौधरीले पनि अनभिज्ञता प्रकट गरे । उनले अलपत्र अवस्थामा रहेका औषधिका कार्टुनहरुलाई व्यवस्थित गर्न केही कर्मचारीलाई जिम्मेवारी दिएको बताए । औषधि जलाउनु भन्दा पहिला औषधिलाई पुनः चेक गर्नु पर्नेमा त्यसो नभएको भन्दै उनले कर्मचारीहरुको गल्ती देखाए ।

कर्मचारीहरुको भनाइ भने अर्कै छ । लामो समयदेखि रहेको औषधि प्रयोगबिहीन हुनसक्ने भन्दै माथिल्लो निकायले नै जलाउन भनेकाले जलाएको उनीहरुले बताए । अनौठो त के भने म्याद भएका औषधिहरु जलाउने जनस्वास्थ्य कार्यालयका प्रमुख चौधरी आफैं भन्छन् कि सप्तरीका अधिकांश स्वास्थ्य संस्थामा ‘क्यून सी’ नामक चक्कीको चरम अभाव छ ।

उनकै भनाइलाई मान्ने हो भने यो औषधि कम मात्रामा भएका कारण खरीद गर्ने प्रकृया शुरु गरिएको थियो । तर आगो लागेको ठाउँमा यो चक्की अत्यधिक फेला पर्‍यो । यो एन्टिबायोटिक चक्की रुघाखोकी, ज्वरो, निमोनियामा समेत प्रयोग हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । वर्षाको समयमा रुघाखोकी, ज्वरोबाट धेरै जना प्रभावित हुने गरेको समयमा यो औषधिमा आगो लगाउने काम भएको छ ।

अधिकांश रुघाखोकी, ज्वरो, झाडापखाला, घाउ, स्लाइन पानी जलेको छ । जलिरहेको स्थानमा फेला परेका औषधिहरुमा एनएस र डीएस स्लाइन पानी, केडि-फिक्स नाम गरेको क्यानोलाका साथै सिरिन्ज, सिनोजोलिन नामक नाकमा हाल्ने ड्रप्स, क्यून सी चक्की फेला परेका छन् ।

यसैगरी बालबालिकालाई कुपोषण हुनबाट बचाउनका लागि प्रयोग गरिने औषधि कार्टुनका कार्टुन जलाइएको छ । आगो लागेका औषधिहरुको म्याद एक वर्षदेखि दुई वर्षसम्म बाँकी रहेको देखियो ।

प्रकाशित मिति: Jul 21, 2017

प्रतिक्रिया दिनुहोस्