Logo
१८ बैशाख २०८१, मंगलबार
(June 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गिरिजाको विरासत गाँसिएको इनरुवामा कांग्रेसलाई टक्कर दिँदै फोरम लोकतान्त्रिक

उमेशराज मेहता

सुनसरी, इनरुवा । दोस्रो चरणको स्थानिय निर्वाचनका लागि सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। इनरुवा नगरपालिकाको नेतृत्व लिनका लागि प्रमुख राजनीतिकदल कांग्रेस, एमाले र नेपाल लोकतान्त्रिक फोरम पार्टी अग्रपक्तिमा देखिएका छन् । सुनसरीको सदरमुकाम भएर पनि नगरपालिकामै सीमित रहेको इनरुवाको चुनावी गणित मतदानको दिन नजिकिँदै जाँदा झन्झन् पेचिलो बन्दैछ । मुख्यतः कांग्रेस र एमालेबीच मत आकर्षणका लागि चलेको प्रतिस्पर्धा तीव्र बनेको छ । तर, उपेन्द्र यादवको गृहजिल्ला भएकाले इनरुवामा फोरमलाई पनि कम आँक्न मिल्दैन ।

इनरुवा सुनसरी जिल्लाको सदरमुकाम भएर पनि विकासका हिसाबले पछी परेको छ। सुनसरीबाट प्रतिनिधित्व गर्ने लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, एमाले सचिव भीम आचार्य र कांग्रेस नेता सिताराम मेहताले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा समेत इनरुवाको विकासले गति लिन सकेन। इनरुवाका मेयरका प्रत्याशीले सडक, खानेपानी, बिजुली र कृर्षि क्षेत्रको विकास गरी नगरलाई सुविधा सम्पन्न बनाउने प्रतिवद्धता जनाएका छन्। कांग्रेसका तर्फबाट इनरुवाको मेयरमा राजन मेहता र उपमेयरमा जमुना पोखरेल उमेद्वारी दिनु भएको छ।

मधेसी र पहाडे जनसंख्या लगभग बराबरी रहेको इनरुवामा एमाले र माओवादीले पहाडेलाई मेयर उम्मेदवार बनाएका छन् भने अरु दलले मधेसीलाई नै मेयर उम्मेदवार उठाएका छन् । राष्ट्रिय जनता पार्टीको खासै उपस्थिति नरहेको इनरुवामा कुनै पनि दलले तालमेल गरेका छैनन् ।  इनरुवा सुनसरी जिल्लाको सदरमुकाम हो । तर, पछिल्लो दिनमा यहाँको बजार सुक्दै गएको छ । यसको साटो इटहरी उपमहानगरपालिकामा स्तरोन्नति भइसकेको छ । तर, जिल्ला सदरमुकाम भएर पनि इनरुवा नगरपालिकामै सीमित छ ।
सुनसरीकै अर्को शहर धरानसमेत उपमहानगरपालिका भइसक्दा पनि इनरुवा लगभग सुनसान जस्तै छ ।

गिरिजाप्रसादको विरासत

इनरुवा नेपाली राजनीतिको उर्वर भूमी हो । ५ पटकसम्म नेपालको प्रधानमन्त्री बनेका नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाले तीनपटक लगातार चुनाव जितेको क्षेत्र हो इनरुवा । कोइरालाले इनरुवा रहेको सुनसरी ४ बाट ०४८, ०५१ र ०५६ सालमा चुनाव जितेका थिए । ०५१ को उपचुनावमा एमालेका जगदीश कुसियतले जितेका थिए । ०६४ मा फोरमका मुगालाल महतोले जितेका थिए भने । ०७० मा पुनः कांग्रेसकै सीताराम मेहताले जिते र उनी मन्त्री बने ।

बहुदलीय व्यवस्थाको स्थापनापछि इनरुवा नगरपालिकामा भएका दुई चुनावमध्ये कांग्रेस र एमालेले एक-एक पटक नेतृत्व गरे । ०४९ मा कांग्रेसका भरत सुवेदी मेयर र सीताराम मेहरा उपमेयर जितेका थिए । ०५४ मा एमालेका खेमराज पोखरेल मेयर र अर्जुन मेहता उपमेयर निर्वाचित भएका थिए ।

यसपटक इनरुवाको नेतृत्व कसले गर्ला ? अनुमान लगाउन कठिन छ । यहाँ कांग्रेस, एमाले र फोरम मुख्य प्रतिस्पर्धी देखिएका छन् । यहाँका सबै उम्मेदवार मुस्लिम मतदाता रिझाउने अभियानमा लागेका छन् । इनरुवाको निर्वाचनमा मुस्लिम मतदाता निणर्ायक बन्दैछन् ।

 

लण्डनबाट फर्केर मेयरमा उम्मेदवारी

फोरम लोकतान्त्रिकबाट मेयरका उम्मेदवार मनोज मेहताको उम्मेदवारीले यतिबेला निकै चर्चाको विषय बनेको छ । लामो समयदेखि लण्डनमै बस्दै आएका त्यहँका स्थापित युवा उद्योमीले आफू सेवा गर्नकै लागि राजनीतिमा आएको बताएपछि इनश्रवामा उनको निकै चर्चा भइरहेको हो । पूर्वकृषि मन्त्री लक्ष्मण मेहताका छोरा उनले अहिले चुनावी अभियानमा विदेशी स्टाइलले गर्ने गरेको प्रचारशैलीले समेत निकै चर्चाको बिषय बन्ने गरेको छ ।

कांग्रेसबाट मेहता र पोखरेल

नेपाली कांग्रेसका तर्फबाट इनरुवा नगरपालिकाका मेयरमा राजन मेहता भिड्दैछन् । उनका काका सीताराम मेहता प्रचण्ड सरकारमा भौतिक योजना राज्यमन्त्री थिए । इनरुवाको राजनीतिमा मेहता समुदाय सबै दलभन्दा अगाडि छन् । सीताराम मेहताले ०४९ मा इनरुवाको उपमेयर जितेका थिए । ०५४ मा एमालेका अर्जुन मेहता उपमेयर जितेका थिए ।

 

एमालेबाट नेपाल र यादव

एमालेले इनरुवाको मेयरमा पोष्टकुमार नेपाललाई दुई महिनाअघिबाटै उम्मेदवार घोषणा गरी चुनावी अभियानमा सामेल गरायो । तर, मनोनयन पत्र दाखिला गर्ने दिनमात्र टुंगो लागेकी उपमेयर उम्मेदवार कवितादेवी यादवलाई एमालेकै अगुवा कार्यकर्ताले नचिन्दा समस्या भएको छ ।

एमालेको पार्टी काममा कहिल्यै नलागेकी उनी विराटनगर महानगरमा संघीय फोरमबाट मेयर उम्मेदवार उमेश यादवकी सहोदर बहिनी हुन् । चुनाव बाहेकका समय बिराटनगरमा बस्ने उनी स्थानीयबीच पनि त्यति परिचित छैनन् । अहिले पनि कांग्रेस, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले मेहता समुदायबाटै मेयरको उम्मेदवार बनाएका छन् ।

फोरममा मेहता र यादव

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पकडक्षेत्र मानेको इनरुवामा फोरमले एसएन मेहतालाई मेयरको उम्मेदवार बनाएको छ । उनी यहाँका स्थापित नेता हुन् । उपमेयरमा भने उम्मेदवारले अन्तिममाा घोका दिएर हिँडेपछि फोरमलाई फसाद परेको थियो ।

फोरमका तर्फबाट कुमारी मीरा अधिकारी उपमेयरकी उम्मेदवार थिइन् । त्यही हैसियतमा र्‍यालीमा सहभागी हुँदै निर्वाचन कार्यालयतर्फ पनि हिँडिन् । तर, निर्वाचन कार्यालय नपुग्दै उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट उम्मेदवार बन्ने निधोमा पुगिन् र जुलुसमै आफ्नो टिकट फिर्ता दिइन् ।

उनको सट्टामा सो पार्टीले सुशीलादेवी यादवलाई उपमेयरको उम्मेदवार बनाएको छ । इनरुवामा माओवादीको उपस्थिति कमजोर छ । माओवादीले मेयरमा सुरेन्द्र कटुवाललाई उम्मेदवार बनाएको छ ।

 

प्रकाशित मिति: Jun 23, 2017

प्रतिक्रिया दिनुहोस्