Logo
१८ बैशाख २०८१, मंगलबार
(June 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव र रमजान सँगसँगैः मुस्लिम समूदायमा दोहरो संकट

इनरुवा । सुनसरीका मुस्लिम समुदाय एक महिने कठिन ब्रत रमजान र निर्वाचनलाई सँगसँगै अघि बढाउँदै अहिलेको समयलाई अविस्मरणीय बनाउन लागिपरेको जस्तो आभाष हुन्छ । जेठ असार महिनाको चर्को गर्मीमा दिन भर ब्रत बस्नु पर्ने स्थिति सँगै २० वर्षपछि आएको स्थानीय तहको निर्वाचनमा पाँच वर्षका लागि गाउँ टोलमा आफ्नै समुदायबाट स्थानीय जनप्रतिनिधि मैदानमा रहेकाले मुस्लिम समुदाय यती बेला चर्को गर्मि, भोग र प्यासको समेत प्रवाह नगरी चुनावी माहौलमा होमिएका छन ।

मुस्लिम बाहुल क्षेत्र भोक्राहा, कोशी, हरिनगरा, देवानगञ्ज, इनरुवा र दुहवीमा अन्य धार्मिक समुदाय सँगै उनीहरु चुनावमा होमिएका छन ।
विहानै उठेर नुहाई धुवाई सुर्योदय भन्दा पहिला खाना खाएर ब्रत बसेका मुस्लिम समुदाय दिनभर भोकै प्यासै चुनावमा विभिन्न राजनीति दललाई मत माग्ने उम्मेदवार भएकाहरुले चुनाव प्रचार प्रसार गर्ने काममा व्यस्त हुने गरेका छन । झोक्राहा गाउँपालिकाबाट मोलिम मन्सुरी, हरिनगरा गाँउपालिकाबाट गफार अन्सारी , लस्करी अन्सारी, कोशी गाँउपालिकाबाट ऐयुव अन्सारी अध्यक्ष पदका उमेदवार बनेर चुनाव प्रचारमा जुटेका छन भने वार्ड तहबाट सयौको मुस्लिम समूदायबाट उम्मेदवार भएका छन । अर्को तर्फ मुस्लिमको महान् पर्व रमजान खुशियाली पूर्वक मनाइरहेका छन् ।

दिनभरी रोजा बसेर साँझमा धार्मिकशास्त्रअनुसार रोजा खोल्ने बेलामा दिनभरको चुनावी चर्चा त्यही हुने गरेको नरसिहंका हसवुल मन्सुरी बताउँछन । तर यहीबेला आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई रमजान मनाउनका लागि असहज हुने गरेको मुस्लिम समुदायका स्थानीयवासीले बताएका छन् । रमजानका बेला दिनभरी रोजा बस्ने गरेका कारण कुनै पनि काम गर्न नसक्नु लगायतका कारणले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई रमजान मनाउनका लागि असहज हुने अवस्था उत्पन्न भएको इनरुवाका हजरत हुसेन बताउँछन ।
यस्तै भएको छ सुनसरीको कोशी गाउँपालिका पश्चिम कुशाहाकी कसिदा खातुनलाई ।

महान् पर्व रमजान कसरी मनाउने भन्ने चिन्ताले उनलाई सताएको छ । कारण, घरको आर्थिक अवस्था कमजोर । चाडपर्वका बेला पैसा नै चाहिन्छ् । तर त्यही पैसा आउने आयस्रोत कुनै नभएपछि कसरी पर्व मनाउने भन्ने पीडाले सताइरहन्छ खातुनलाई । कसिदा जस्तै सुनसरी इनरुवा–९ बबियाका रसिदा खातुनको समस्या पनि उस्तै छ । एक त रोजाले गर्दा रोजगारमा जान नसक्ने र अर्को तर्फ चुनावमा पनि जानु पर्ने स्थितिले उनीहरुको आर्थिक अवस्थामा नकारात्मक असर परेको छ । सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेको एक मुस्लिम ट्रष्टले यिनै समस्यालाई मध्यनजर गरेर रमजान खाद्यान्न प्याकेज दिन थालेपछि भने केही राहत भएको रसिदा खातुन बताउँछिन् ।

उनीहरु जस्तै सुनसरी, मोरङ र झापाका गरी जम्मा ६५० परिवारलाई रमजान खाद्यान्न प्याकेज र इद गिफ्ट उपहार प्रदान गरिएको छ । हिदायत एजुकेसनल एन्ड वेलफेयर ट्रस्ट सुनसरीको आयोजना र उम्माह वेलफेर ट्रस्ट युकेको आर्थिक सहयोगमा ६५० परिवारलाई रमदान खाद्यान्न प्याकेज वितरण गरिएको आयोजक संस्थाका उमर फारुक नदवीले बताए । इनरुवाबाट प्रकाशित वर्णमालामा समाचार छ । संस्थाले ६०० परिवारलाई प्रतिपरिवार ६० केजी चामल, पाँच लिटर खाने तेल, पाँच केजी दाल, चार केजी चिनी, पाँच केजी भुजा, ५०० ग्राम खजुर, दुई लिटर सर्वत जुस लगायतका सामग्री वितरण गरेको हो ।

प्रकाशित मिति: Jun 19, 2017

प्रतिक्रिया दिनुहोस्