Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले भने ‘मत तालमेल अनुसार नै मतदान गरेँ’

चितवन, वैशाख ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् । मतदानपछि प्रतिक्रिया दिँदै उनले भने – “यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।”

दाहालले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन आज सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको बताए । पत्रकारहरुको एक प्रश्नमा प्रचण्डले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको तालमेल अनुसार नै आफूले मतदान गरेको बताए । तालमेलमा नेपाली कांग्रेसले भरतपुर महानगरको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई समर्थन गर्ने र उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाहलाई माओवादी केन्द्रले समर्थन गर्ने उल्लेख छ ।

पत्रकारहरुको एक प्रश्नमा उहाँले नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै आफूले मतदान गरेको बताए।
मतदानका लागि उनी शनिबार परिवारसहित यहाँ आएका हुन्। उनका छोरी रेणु दाहाल र गङ्गा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन् । श्रीमती सीता दाहालको भने शिवनगरस्थित निमावि शान्तिपुरमा केन्द्र परेकाले केहीबेरमा मतदान गर्दै छिन् ।

माओवादी केन्द्रका अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् । यसैगरी महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गर्दै छन् । जिल्लाको अर्को नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मतदान गर्दै हुनुहुन्छ ।

उनले वडा नं ५ को हेल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गर्नेछन्। एमालेकै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले रत्ननगर नगरपालिकाको वडा नं ९ कपरफोरी केन्द्रबाट मतदान गर्दै छन् । यसैगरी जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष साध्यबहादुर भण्डारीले भरतपुर महानगरपालिका वडा नं १ को बालकुमारी कन्या स्कुल केन्द्रबाट मतदान गर्दै छन् ।

जिल्लामा सात प्रमुख पदमा ६९ र उपप्रमुख पदमा ५५ जनाले उम्मेदवारी परेको छ । जिल्लामा कुल मतदाता तीन लाख १३ हजार दुई रहेका छन् । जिल्लाका ५०४ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ । रासस

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्