Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

RJP माथि उपेन्द्रको हमला: ‘पूर्वराजाको नातिको ब्रतबन्धमा जानेले पाठ सिकाउने ?’

काठमाडौं, वैशाख २० :  संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनअघि निर्वाचनमा नजाने पूर्वप्रतिबद्धता तोडेको भनी राष्ट्रिय जनता पार्टी (राजपा)ले लगाएको आरोपको खण्डन गरेका छन् । ६ ओटा मधेसी दलबीचको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) प्रति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कडा टिप्पणी गरेका हुन् ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संघीयता, गणतन्त्र लगायत परिवर्तनका उपलब्धि जोगाउन पहिलो चरणको चुनावमा भाग लिन परेको बताए । मंगलबार राजपाले बैठक गर्दै फोरमले आन्दोलन बिसाएको आरोप लगाएको थियो । ‘पूर्वराजा ज्ञानेन्द्रको नातिको ब्रतबन्धमा केही दिनअघि चिप्लो लुगा लगाएर सोल्टी होटल जानेले हामीलाई लोकतन्त्र र संघीयताको पाठ सिकाउने ?’ राजपा नेताहरुप्रति इंगित गर्दै यादवले भने, ‘ हामीलाई चुनावमा गएको भनी आरोप लगाउने साथीहरु (राजपा) नै निर्वाचन आयोगमा चुनाव चिन्ह चाहियो भनेर गएको पनि देखियो ।’

यादवले देशमा घट्ने सम्भावित घटनालाई मध्यनजर गर्दै आफ्नो पार्टी चुनावमा सहभागि भएको बताए । ‘संघीय गणतन्त्रको रक्षाका लागि हाम्रो पार्टीले चुनावमा भाग लिनेको हो’, यादवले भने, ‘ मधेसको माग र एजेण्डाबाट पछि हटेको छैन । मेरो विरुद्धमा भ्रम फैलाउने काम भइरहेको छ ।’ मंगलबार राजपाको बैठकले यादवले चुवानमा गएर धोका दिएको भन्दै अब मधेसी मोर्चाको औचित्य समाप्त भएको बताएको थियो ।

तर यादवले मोर्चाको महत्व आफूले जति अरु मधेसी नेताले नबुझेको भन्दै ‘कसैले मोर्चाको औचित्य समाप्त भएको भन्न छ भने उसकै औचित्य समाप्त भएको बुझ्नुपर्ने’ बताए । राजपालाई हमला गर्दै उनले भने– मोर्चाको औचित्य समाप्त भएको कसैले भन्छ भने उसकै औचित्य अब सकिएको बुझ्नुपर्छ । मोर्चा सकिए मधेस आन्दोलननै समाप्त हुन्छ ।

कसैको नामै नलिइकन राजेन्द्र महतोप्रति लक्षित गर्दै उनले भने– जसले मोर्चाको औचित्य समाप्त भएको भन्छ । उसले सोल्टी होटलमा गएर पूर्वराजको भोज खाएको कुरा सबैलाई थाहैछ । कसैले ठुला कुरा नगरे हन्छ । ’ उनले राजपाले पनि चुनाव चाहेको भन्दै खाली दल दर्ता नभएको र चुनाव चिन्ह नपाएकाले मात्रै बार्गेनिङ गरिरहेको दाबी गरे ।

संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेको र त्यसअनुसार संशोधन विधेयक अगाडि बढेको हुनाले मधेसी मोर्चासँग पूर्वसहमतिअनुसार चुनावमा गएको उनको स्पष्टोक्ति थियो ।  मोर्चा र गठबन्धनको औचित्य सकियो भन्ने राजपा निष्कर्षबारे पत्रकारको जिज्ञासामा यादवले भने, ‘त्यसो भन्ने साथीहरु भर्खरै हाम्रै अफिसमा आएर दोस्रो चरणको चुनावमा सँगै लड्नु पर्छ भनेका छन् ।’ फोरम कार्यालयमा बुधबार राजपाका पशुपति दयाल मिश्र लगायतका नेताहरु पुगेका थिए ।

संविधान संशोधन हुन लाग्दा पछिल्लो साता नाटकीय ढंगले चलखेल भएको र राप्रपाका सांसद गायब पार्ने खेलले परिवर्तन उल्ट्याउने शक्तिहरु हाबी भएको पनि यादवको टिप्पणी थियो । अर्को प्रसंगमा यादवले आईजीपीको बहानामा प्रधानन्यायधीशमाथि लगाएको महाअभियोग गलत भन्दै तुरुन्त महाभियोग फिर्ता लिन पुन: आग्रह गरे ।

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्