Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हैट’शब्दको चल्ती: यसरी चुलियो ‘हैट’को हाइट !

शिवराज योगी , फेसबुक ‘स्ट्याटस’को पुछारदेखि ‘कमेन्ट’को अन्तिम अक्षरमा ‘हैट’ शब्द चल्तीमा छ । खुसीमा पनि, दुःखमा पनि । हाँसोमा पनि, रोदनमा पनि । साथीभाइको जमघट होस् वा अन्य कुनै प्रसंग ‘हैट’ खुबै प्रयोगमा छ । यो शब्दसँगै युवावयमै गुजमुज्ज परेको एउटा अनुहार जोडिएर आउँछ- बुद्धि तामाङ ।
हैट अर्थात् बुद्धि तामाङ दर्शकलाई अर्को कोसेली पस्कन पोखरामा छन् । ‘मिस्टर झोले’को छायांकनका बीच समय निकालेर उनी गफिन राजी भए । संवादको सिलसिला जोड्दै सोधेँ ‘कस्तो छ ज्यानलाई ? ‘सञ्चो छ नि हौ, बिराम भए त न सुटिङमा हुन्थेँ, न तपार्इंसँग गफगाफमा, हैट ! हाहाहा ।’ उनले सहजता दर्शाए ।’खुट्टामा चप्पल कि, गोल्डस्टार ? ‘

बुद्धिमान तमाङ्ग

‘अब त खान लाउनसम्म जेनतेन पुग्दो पो छ हो’ उनले अवस्था दर्शाए । जुन अवस्थामा आज अभिनेता बुद्धि तामाङ छन्, यो उनैको कल्पना बाहिरको हो । ‘समयले मानिसलाई कहाँबाट कहाँ पुर्‍याउँछ’ भन्ने सत्य ‘हैट’को जीवनमा लागू भएको छ भन्ने कुरामा उनी मञ्जुर छन् ।

काभ्रेको सरमथली ८ तिमालमा २०४० सालमा जन्मिएका अभिनेता तामाङ चारजना दिदीबहिनीका बीचमा एक्लो भाइ हुन् । बुवा दमैसिंह तामाङ र आमा कान्छी तामाङले बनिबुतो गरेर उनलाई स्थानीय कालिकादेवी प्राविमा प्रारम्भिक शिक्षा दिए । श्री भुमे माविबाट एसएलसी गरेपछि भने उनी सहर छिरे ।
आज सहर र गाउँभरि ‘हैट’ले परिचित बुद्धि तामाङको पहिलो सहर पसाइको अनुभव कस्तो थियो होला ? ‘मैले जीवनमा देखेको पहिलो सहर त दोलालघाट पो हो त’, जीवनमा गाई, बाख्रा, भैंसीपछि घरै हिँडेको उनले त्यहीँ देखे ।

‘घर पनि हिँड्दो रै’छजस्तो लाग्यो’, अभिनेता तामाङले त्यसताकाको अनुभव सुनाउँदै भने, ‘ठूलाठूला घर, घरमा पनि सिसा, घरजस्तै गाडी, तीं पनि हुइँकिने देखेपछि त ‘हैट’ के चाहियो र !’ उनी गाडी चढे, दंग परे । गाडी हुइँकिएको देख्दा डराएनन्, अझै कुदाए हुने नि भन्ने लाग्यो । डरले छोएन ? ‘त्यसबेला दिमागले कहाँ सोचिन्थ्यो र खै, उमंगले पो काम गथ्र्यो त’, युवाअवस्थाको ठेट गाउँले ठिटो त्यसअघि जीवनमा पहिलो पटक ‘गोल्डस्टार’ जुत्ता लगाएको दिन दुई फन्को नाचेर चार बित्ता उफ्रिएको थियो । उनको पालाका कसैले जुत्ता लगाउँदैनथिए । चुँडालिने रबरको तुनादार चप्पलमा जिन्दगी चलाइन्थ्यो ।

उनकै शब्दमा ‘त्यो अवस्थामा जुत्ता पाएपछि खुसीले नउफ्रिने त कुरै भएन ।’ दोलालघाट देखेरै तीन छक परेका तामाङ त्यसपछि राजधानी छिरे । उनी कलाकार बन्न होइन, पैसा कमाउन काठमाडौं पसे । कहिले बदाम बेचे, कहिले इँटाभट्टामा लेबरी गरे । मौका परे फूल बेचे, भारी ओसारिदिए, बरफ बेचे । ‘जे जे आउँट पटापट हान्न थालियो हो’, उनले भने, ‘म त कमाउन आएको मान्छे, कमाउने काम पायो कि छोडिनँ ।’ आज मुलुकमा एक, दुई, तीन नम्बरमा गनिने कलाकारमा उनी पर्छन् । त्यो अवस्था र यो अवस्थाको तुलना गर्दा उनी आफैंलाई कस्तो लाग्छ होला ?

‘त्यस्तो त लाग्दै हो, न हाइट बढेको छ, न रंग फेरिएको’, उनले सादगी देखाए पनि यतिबेला उनको तानातानले उनी ‘डिमान्डेड’ कलाकारको हिट लिस्टमा छन् भन्ने प्रमाणित गर्छ । कबड्डी र कबड्डी कबड्डीपछि २०७३ मा मात्रै उनी अभिनीत ‘लालजोडी’, ‘पुरानो ढुंगा’, ‘छक्कापञ्जा’लगायत चलचित्र प्रदर्शनमा आए । त्यही वर्ष ‘ए मेरो हजुर’, ‘घामपानी’, ‘बमकाजी’, ‘मेरो पैसा ख्वै’, ‘दुई रुपैयाँ’ छायांकन भए । यतिबेला उनका केही चलचित्र प्रदर्शनमा छन् भने मिस्टर झोलेको सुटिङमा व्यस्त उनी दुई तीनवटा चलचित्रमा अभिनयका लागि सम्झौता गरेर हिँडेका छन् ।
सडकपेटीमा घुम्ती व्यापार गर्दागर्दै सडकनाटकबाट कलाकारितामा बामे सरेका उनी आज नेपाली कलाकारितालाई ‘जीवन्त अभियन’मा डोर्‍याइरहेका छन् । चलचित्र हेर्दा पनि नेपाली जनजीवन र ठेट बोलीलाई दुरुस्त पस्कन सक्ने उनको क्षमता नै दर्शकको रोजाइ बन्ने गरेको छ । यही अभिनेता तामाङको विशेषता पनि हो । देखेको भन्दा पनि लेखेको हुँदो रहेछ भन्नेमा विश्वास गर्ने अभिनेता तामाङ ‘अभिनय गर्नु भनेको स्वाङ पार्नु होइन’ भन्ने मान्यता राख्छन् । ‘अभिनय त कसैको जीवनको नजिक रहेर गर्नुपर्छ, म जुन समाजबाट आएँ, जुन परिवेशमा बाँचे, त्यही कुरा अभिनयमा उतारिदिन्छु’, उनले भने, ‘म ठूलो कलाकार त होइन प्राकृतिक कुरा नै रुचाइँदो रहेछ । सत्य नै पच्दो रहेछ ।’ उनी अभिनयमा पनि सत्य देखिन्छन्, नेचुरल लाग्छन् र दुरुस्त उभिन्छन्- त्यसैले उनी छोटो यात्रामा फराकिलो गरी रुचाइएका छन् ।

जनजिब्रोमा उनीद्वारा ल्याइएको ‘हैट’ शब्द पनि उनको होइन । उनले भने, ‘त्यो समाजको मौलिक शब्द हो, ममार्फत बोलिएको मात्रै हो, दर्शकले त्यही शब्द मेरैजस्तो गरी माया गरे खुसी लाग्छ ।’कलाकारले नै नेपाली कलाकारिता कता डोरिएको देख्छ होला ? अभिनेता बुद्धि तामाङ भने निकै सकारात्मक छन् । ‘यो क्षेत्र यस्तै बनाउँछु भनेर बन्दैन रहेछ, हिजो अकल्पनीय कुरा पर्दामा बिक्यो होला, कहिले भल्गारिटी बिक्यो कि, तर अहिले मान्छेले कलाकारितामा पनि आफ्नै जीवन, परिवेश र मौलिकता खोजिरहेको छ, भोलि केही अरू खोज्ला कि !’
उनका तमाम कथा छन्, ती कथा नेपाली टिपिकल गाउँमा टिपिकल गरिब युवा सबैले भोगेका जस्तै कथा हुन् भन्न उनी रुचाउँछन् ।

तर हिजोको बुद्धि र आजको हैटको तुलना गर्दा उनी भन्छन्, ‘त्यो अनुभव त गर्न सकिन्छ, शब्दमा भन्दा टार्नकै लागि खुसी लाग्छ भनिदिउँ ।’ चलचित्र छक्का पञ्जाको पर्दामा आफ्नै श्रीमती धेरैपछि देख्दा आङै सिरिङ हुने तामाङको वास्तविक जीवनमा आङ सिरिङ पार्ने मान्छे भने अहिलेसम्म छैन, भने, ‘अर्को वर्ष आँटौ कि भनेको छु, यसो भनेको पनि खै कति पो वर्ष भइसक्यो क्यार ।’

अभिनेता भए पनि उनले नेताका कुरामा पनि चाँसो दिने गरेका छन् । नेपालको प्रगति नहुनुमा नेतामा मानवीय प्रवृत्ति हावी हुनु उनले कमजोरी देखेका छन् । ‘हाम्रा नेताहरूले आफैं गर्न सक्ने काम पनि गर्दैनन्, अनि दोष भने यो शक्ति र ऊ शक्तिलाई दिएर पन्छिन खोज्छन्’, अभिनेता तामाङले भने, ‘व्यक्तिले त्यसो गर्दा ऊ पछाडि पर्छ, नेताले पनि त्यसो गरिदिँदा देशै पछाडि गुड्छ । हैट !’

प्रकाशित मिति: Apr 28, 2017

प्रतिक्रिया दिनुहोस्