Logo
१५ बैशाख २०८१, शनिबार
(March 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन दिनभित्र संशोधनको कुरा मिलाउन संयुक्त कार्यदल गठन

काठमाडौं, ४ चैत । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको विषयमा सहमति जुटाउन संयुक्त कार्यदल गठन गरेका छन् । तीन दिनभित्र संविधान संशोधन तथा निर्वाचनको विषयमा सहमतिको बुँदा तयार पार्नेगरी संयुक्त कार्यदल गठन भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले समस्या समाधानका लागि आधार तयार गर्न कार्यदल बनाएको हो। तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार र मोर्चाका तर्फबाट तीन–तीनजना सदस्य रहने गरी कार्यदल गठन गरिएको र कार्यदलले तीन दिनभित्र संशोधनसम्बन्धी सहमतिका बुँदाहरू तयार गर्ने बताए ।

‘बैठकमा सरकार र मोर्चाबाट तीन–तीनजना सम्मिलित हुने गरी कार्यदल गठन गरिएको छ,’ ठाकुरले भने, कार्यदलले तीन दिनभित्र संशोधनसम्बन्धी सहमतिका बुँदाहरु तयार गर्नेछ।’ कार्यदलका सदस्यहरूको टुंगो भने सरकार तथा मोर्चा दुवै पक्षले लगाएका छैनन् । अध्यक्ष ठाकुरले शुक्रबारदेखि नै कार्यदलको बैठक बसेर संविधान संशोधनमा कसरी सहमति जुटाउन सकिन्छ भनेर आधार खोज्ने र सहमतिका बुँदाहरू तय गर्ने बताए ।

आयोग गठन गरेर प्रदेश सीमांकन हेरफेरको विषयपछि टुंगो लगाउने वा सीमांकनको टुंगो लगाएर मात्र निर्वाचनमा जाने भन्ने विषयमा पनि कार्यदलले निष्कर्ष निकाल्ने ठाकुरको भनाइ छ। सरकारले आयोग गठन गरेर प्रदेश र संघको निर्वाचनअगाडि तर स्थानीय तहको निर्वाचनपछाडि सीमांकन संशोधनको विषय टुंगो लगाउने गरी मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै आएको छ। तर, मोर्चाले सीमांकन संशोधन निर्वाचनअगावै टुंगो लगाउनुपर्ने माग राख्दै आएको छ ।

यता, मोर्चाले स्थानीय तहको निर्वाचनभन्दा पहिला नै प्रदेश र संघको निर्वाचन गर्नुपर्ने नयाँ माग अघि सारेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Mar 17, 2017

प्रतिक्रिया दिनुहोस्