Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस केन्द्रित दललाई रिजाउन सरकार असफल !

काठमाडौं, २२ फागुन । सरकारसँग राखेका माग पुरा नहुने भएपछि मधेस केन्द्रित दल आफ्नै शुरमा लागेको छ । सरकारले संविधान संशोधन नगरीकन वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरेपछि रुष्ट मधेस केन्द्रित दल तराई/मधेसमा आन्दोलन चर्काउने तयारीमा जुटेका हुन ।

फागुनभर पर्खने र चैत पहिलो सातादेखि आन्दोलन चर्काउने रणनीति ती दलले बनाउँदै छन् । फागुन २६ सम्म मधेस केन्द्रित दलले भन्डाफोर अभियान गर्ने छन् । त्यसअघि मधेसी मोर्चाको बैठक बसेर थप कार्यक्रम बनाइने नेताहरूले बताएका छन् । स्रोतका अनुसार फागुन मसान्तसम्म पर्खने अर्थात् नरम कार्यक्रम गर्ने र त्यसपछि गर्मी चढेसंगसँगै आन्दोलन तताउने तयारी मोर्चाको छ ।

मोर्चाका केन्द्रीय नेता अहिले आआफ्नो जिल्ला पुगेका छन् । आन्दोलन तयारी गर्न उनीहरू जिल्ला पुगेका हुन्। मोर्चामा आबद्ध तमलोपा, सद्भावना र राष्ट्रिय समाजवादी पार्टीले राजधानी रहेका आआफ्ना पार्टीका कायकर्ता तथा नेतालाई जिल्ला जिल्ला जान निर्देशन दिइसकेका छन् । स्रोतका अनुसार संविधान संशोधन थाँती राखेर गरिने कुनै पनि चुनाव सफल हुन नदिने योजना मोर्चाको छ ।

संविधान संशोधन नभए मोर्चाले चुनावमा सहभागी नहुने चेतावनी दिँदै आएको छ । वैशाख ३१ गते हुने स्थानीय तह चुनाव बहिस्कार मात्र नगरी बिथोल्ने तयारी उनीहरूको छ । तराईरमधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले सरकारले बलजफ्ती चुनाव गराउन खोजे देशको अवस्था भयावह हुने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको कार्यक्रममा ठाकुरले सरकारले स्थानीय निर्वाचन मिति हतारमा घोषणा गरेर गम्भीर गल्ती गरेको बताए । एमालेले गलत समयमा मेची–महाकाली अभियान सञ्चालन गरेको भन्दै ठाकुरले त्यसले मधेसमा द्वन्द्व बढ्ने चेतावनी पनि दिए ।

यसैगरी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले चैतको पहिलो साताबाट मधेसमा सशक्त आन्दोलन तयारी भइरहेको बताए । आन्दोलनको रणनीति बनाउँदै गरेको मोर्चा सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता लिने सोचमा छैन । यसबारे मोर्चाको बैठकमा छलफल भए पनि तत्कालै समर्थन फिर्ता नलिने धारणा शीर्ष नेताले राखेका थिए ।

तमलोपा अध्यक्ष्य ठाकुरले मोर्चा तत्काल वर्तमान सरकार विस्थापन गर्ने तयारीमा नरहेको बताएका छन् । उनले भने, ‘हामी सरकारलाई रिप्लेस गर्ने सोचमा छैनौं, हाम्रो ध्यान माग पूरा होस् भन्ने नै हो ।’ सरकार भने मोर्चासँग निरन्तर वार्ता र संवाद जारी राख्ने पक्षमा छ । स्थानीय चुनाव मिति घोषणा गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चासँग पटक–पटक संवाद र छलफल गरेका छन् ।

प्रकाशित मिति: Mar 5, 2017

प्रतिक्रिया दिनुहोस्