Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कडा आयो मोर्चाको कुरो: ‘मर्छौ चुनाव हुन दिन्नौं’

काठमाडौं ,१९ फागुन । कडा आयो मधेसी मोर्चाको कुरो,मर्छौ चुनाव हुन दिन्नौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधान संसोधन विना चुनाव हुन नदिने बताएका छन् ।

उनले आफुहरुका माग पुरा नभएसम्म मुलुकमा निर्वाचन हुन नसक्ने पनि दावी गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष ठाकूरले मधेसी मोर्चाका नेता मर्न तयार हुने तर चुनाव गर्न नदिने बताएका हुन् । ‘हामी पटक पटक मधेसी नागरिकको एजेण्डाका लागि मरेका छौं’ उनले भने, ‘यसपटक पनि मर्न तयार छौं तर चुनाव हुन दिन्नौं । ’

मधेसको माग पुरा नभएसम्म निर्वाचन हुन सक्दैन, अध्यक्ष ठाकुरले भने – मधेसका माग पुरा नभएसम्म निर्वाचन हुन पनि दिन्नौं ।

अध्यक्ष ठाकुरले सरकार गठन हुँदा भएको तीन बुँदे सहमतिमा आँफुहरु प्रतिवद्ध रहेको सरकार त्यसबाट भाग्न खोजेको आरोप लगाए ।

मोर्चाका कुनैपनि दल चुनावमा भाग नलिने उनले दावी गरे । ठाकुरले संविधान संशोधन बिना चुनावमा कुन मुखले जाने भनी प्रश्न सोधे ।

‘प्रधानमन्त्री चुनावमा तपाईंहरुलाई तीन बुँदे सहमतिका आधारमा भोट हाले पनि हामी सत्ता पक्ष होइन, हामीलाई एउटा भिन्न पक्षको रुपमा बुझिदिनुभएन,’ ठाकुरले भने, ‘हामी अहिलेकै अवस्थामा चुनावमा जान सक्दै सक्दैनौं ।’

यसैबिच मधेसी मोर्चाले तत्काल केहीदिनको अल्टिमेटम दिएर सरकारसँग सम्बन्ध विच्छेद गर्ने तयारी गरिरहेको छ ।

आज र भोलि छलफल गरेर सरकारलाई १५ दिनको सीमा दिने र माग पुरा नभए सम्बन्ध विच्छेद गरेर आमहड्तालमा जाने मोर्चाको तयारी छ ।

मोर्चाका नेता केशब झाले मोर्चा सरकारसँग सम्बन्ध विच्छेद गर्ने निस्कर्षमा पुगेको र अल्टिमेटम सहित निर्णय आउने जानकारी दिए ।

प्रकाशित मिति: Mar 2, 2017

प्रतिक्रिया दिनुहोस्